विक्रम भट्टराई – नेपाल।
लामो समय विदेशी भूमिमा बसेका हामीमध्ये सायद धेरैले आफ्नो जीवनमा यो वाक्य एकपटक पनि भनेका हुँदैनौँ। सानो छँदा आमाले हाम्रा हरेक साना–तिना कुराको ख्याल राख्नुहुन्थ्यो—हामीलाई के मन पर्छ, के मन पर्दैन, कति नुन खाने, कुन तरकारीको गुदी मन पर्ने र कुनको बोक्रा फाल्ने, कुन सन्तानले कति खाए अघाउँछ र कसले कति वटा रोटी खान्छ। हामीले केवल खाने काम गर्थ्यौँ, आमाले हाम्रो संसार सजाउने काम गर्नुभयो।
तर, हामीले कहिल्यै सोच्यौँ त? एक दिन तिनै आमा वृद्ध हुनुहुनेछ, हातखुट्टाले पहिले जस्तो साथ दिने छैनन्, स्मरणशक्ति कमजोर बन्दै जानेछ; तर माया भने उही, अझ बढी प्रगाढ रहिरहनेछ। म आफूलाई भाग्यमानी ठान्छु। लगभग २५ वर्ष परदेशमा बिताएपछि यसपालि केही महिना आमासँगै बस्ने अवसर मिल्यो। विगतमा नेपाल आउँदा दुई–तीन हप्ताको छोटो बसाइ हुन्थ्यो। भेटघाट, कामकाज र हतारमै समय बित्थ्यो। आमासँग निस्फिक्री बसेर कुरा गर्ने, उहाँका साना–ठूला चाहना बुझ्ने र मनका कुरा सुन्ने अवसर नै मिल्दैनथ्यो। कतिपय अवस्थामा त ‘आमाका पनि केही व्यक्तिगत आवश्यकता हुन्छन् र?’ जस्तो सोचसमेत आउँथ्यो।
यसपालि भने मैले आमालाई केही दिन आफ्नै हातले खाना पकाएर खुवाउने प्रयास गरेँ। त्यो क्षणको आनन्द शब्दमा बयान गर्न गाह्रो छ। जीवनमा धेरै उपलब्धि हासिल गरियो होला, धेरै देश घुमियो होला, अनेकौँ सुखका पलहरू बिताइयो होला र धेरै सम्मान पनि पाइयो होला; तर आफ्नी आमालाई आफ्नै हातले खाना पकाएर खुवाउँदा प्राप्त हुने आत्मिक सन्तुष्टिको तुलना सायद अरू कुनै कुरासँग हुन सक्दैन।
तर, यस क्रममा एउटा गहिरो पीडा पनि महसुस भयो। मैले घर छोड्दा आमा तन्नेरी हुनुहुन्थ्यो। फर्केर हेर्दा समयले उहाँलाई धेरै परिवर्तन गरिसकेको रहेछ। अचम्म लाग्ने र मैले अझै पचाउन नसकेको कुरा त—पहिले “तँ” भनेर अधिकारका साथ बोलाउने आमा अहिले मलाई “तिमी” भन्नुहुन्छ। त्यो शब्दमा सम्मान त छ, तर पहिलेको त्यो मातृ-अधिकार कतै हराएजस्तो लाग्छ। हामीले पहिले “यो खान्छु, त्यो खान्न” भनेर ढिपी कस्दा पनि खुसी हुँदै बनाएर दिने आमा अहिले “तिमीले जे पकाउँछौ, त्यही खान्छु नि” भन्नुहुन्छ। खाना नमिठो भए पनि “नमिठो भएछ” भन्नुहुन्न।
किन होला? म सोच्दै छु—उहाँ आफैँ बदलिनुभएको हो कि परिस्थितिले उहाँलाई बदल्न बाध्य पारेको हो? हिजोआज कतिपय बेला आमा बोल्नुअघि तौलेर बोलेको जस्तो लाग्छ। घरमा कुनै सामान कहाँ राख्ने भन्ने कुरा पनि निकै सोचेर मात्र भन्नुहुन्छ। कतै छोराबुहारीलाई नराम्रो लाग्ला कि, कतै केही प्रतिक्रिया आउला कि भन्ने संकोच उहाँमा देखिन्छ। “मेरा कारणले नातिनीहरूलाई अप्ठ्यारो पो हुन्छ कि” भन्ने सोचेर कता कता आफ्नै घरमा पनि उहाँ पाहुना जस्तै व्यवहार गर्न खोज्नुहुन्छ। उहाँका हरेक गतिविधिमा छोराबुहारी वा नातिनातिनाको स्वीकृति खोजेजस्तो वा “मैले ठीकै गरेँ नि…?” भन्ने भाव व्यक्त हुन्छ।
यो कुनै एउटा घरको मात्र कथा होइन, आजका हजारौँ नेपाली परिवारको तीतो यथार्थ हो। हाम्रा आमाबुबा आफ्नो समयका राजा–रानी जस्तै थिए। घर उहाँहरूको थियो, निर्णय उहाँहरूको हुन्थ्यो र संसार उहाँहरूकै वरिपरि घुम्थ्यो। तर उमेर बढ्दै जाँदा र सन्तानहरूको छुट्टाछुट्टै परिवार बन्दै जाँदा, उहाँहरू आफ्नै घरभित्र पनि कतै सीमित हुँदै जानुहुँदो रहेछ। अधिकारभन्दा बढी अनुमति खोज्न थाल्नुहुँदो रहेछ।
अझ आमा र बुहारीबीचको सम्बन्ध नेपाली समाजको अत्यन्त संवेदनशील विषय हो। धेरै घरमा यो सम्बन्ध उत्कृष्ट हुन्छ भने कतिपय घरमा सामान्य उतारचढाव पनि हुन्छन्। यही कारणले कतिपय आमाहरू आफ्नै छोरीलाई सहजै भन्न सक्ने कुरा बुहारीको उपस्थितिमा भन्न हिच्किचाउनुहुन्छ। कतिपय कुराहरू छोरासँग खुलेर गुनासो गर्न सक्नुहुन्न। बुहारीहरूको वर्चस्वका अगाडि आफ्ना कुराहरू मौन राख्नुपर्छ जस्तो भाव कतिपय आमाबुबामा पर्ने रहेछ। त्यसैले मनमा भएका धेरै कुरा मनमै राख्नुहुन्छ। तर एउटा कुरा भने शाश्वत सत्य हो—आमाको मन कहिल्यै विभाजित हुँदैन।
हामी तीन भाइ र तीन दिदीबहिनी आ–आफ्नो घरजम गरेर बसेका छौँ। सबैको आफ्नो परिवार, आफ्नो जिम्मेवारी र आफ्नै जीवन छ—यो समयको यथार्थ हो। तर हाम्री आमाको आत्माले भने अझै पनि सबै सन्तानलाई एउटै आँगनमा, एउटै भान्सामा र एउटै छानामुनि देख्न चाहन्छ। टेबलमा बसेर खाना खान लाग्दा जो-जो त्यहाँ उपस्थित छैनन्, उहाँहरूलाई फोन वा भिडियो कल गर्न सुरु गरिहाल्नुहुन्छ। यदि एउटा सन्तानले संसारकै सबै सुख दिए पनि अर्को सन्तान दुःखी छ भने आमाबुबा पूर्ण रूपमा खुसी हुन सक्नुहुन्न। उहाँहरूको खुसी व्यक्तिगत होइन, सामूहिक हुन्छ। उहाँहरूको संसार सम्पूर्ण सन्तानहरू मिलेर बनेको हुन्छ।
त्यसैले आज एउटा अनुरोध गरौँ है: यदि तपाईंका आमाबुबा हुनुहुन्छ भने कहिलेकाहीँ उहाँहरूका लागि आफ्नै हातले खाना पकाइदिनुहोस्। उहाँहरूलाई सोध्नुहोस्—“आमा, आज के खाने मन छ?”, “बुबा, तपाईंलाई के मन पर्छ?” सायद उहाँहरूले सङ्कोच मान्दै “जे भए पनि हुन्छ” भन्नुहोला। तर विश्वास गर्नुहोस्, त्यो एउटा प्रश्नले मात्र पनि उहाँहरूको मनमा अपार खुसी भरिदिन्छ।
समयसँगै आमाबुबाको आवश्यकता कम हुँदैन, केवल उहाँहरूका मागहरू साना हुँदै जान्छन्। र दुर्भाग्यवश, हामीले यो कुरा बुझ्दासम्म धेरै ढिलो भइसकेको हुन्छ। आमा अझै उही हुनुहुन्छ—उस्तै माया, उस्तै चिन्ता र उस्तै आशीर्वाद लिएर। बदलिएका त सायद हामी हौँ, र हामीबीच बढेको दूरी हो। सबैको जय होस्।






