चिम्खोले काईला – बेलायत
माघे सकरातीको रमझमले चिमखोला गाउँ निकै लोभलाग्दो देखिएको छ। रातो माटो र सेतो कमेरोले लिपिएका घरहरू घाममा टल्किएका छन्। चिमखोला गाउँमा माघे सकराती मान्न आउने लाहुरेहरूको चहलपहल छ, तर गोरे (जो गाउँकै एक शिक्षक हो) र दिलमतीको बीचमा भने एउटा छुट्टै र गहिरो मानसिक द्वन्द्व चलिरहेको छ।
चिमखोलाको एकान्त भञ्ज्याङ, साँझको बेला
(गोरेले भोलि नै गाउँ छोडेर लाहुर (परदेश) जाने तयारी गरेको छ। दिलमती निकै विक्षिप्त अवस्थामा छिन्।)
गोरे: “दिलमती, हेर त गाउँ कस्तो उज्यालो देखिएको छ। चिम्खोलेहरुले घर-आँगन कस्तो चिटिक्क पारेर सिँधारेका छन्। यो माघे सकराती तिम्रो लागि पनि खुसी लिएर आओस्।”
दिलमती: (आँखाभरि आँसु पार्दै) “उज्यालो त घरको भित्तामा मात्र छ गोरे सर, मेरो जिन्दगी त अँध्यारो खाडलमा जाकिँदै छ। जुन हातले रातो माटो र कमेरोले घर रङ्ग्याउनुपर्ने थियो, तिनै हात अहिले आफ्नै भाग्य पुछ्न व्यस्त छन्।”
गोरे: “तिमी किन यति धेरै पिर गर्छौ? मैले त तिमीलाई माया गरेको हो त…”
दिलमती: (कुरा काट्दै) “माया? कि छल? तपाईं यो गाउँको आदरणीय शिक्षक, जसलाई सबैले विश्वास गर्थे। माघे सकरातीको सांस्कृतिक कार्यक्रम अभ्यास गराउने बहानामा तपाईंले मेरो विश्वासको कत्लेआम गर्नुभयो। मेरो यो बैसालु शरीर, जसलाई तपाईंले ‘कामुक’ भन्दै प्रशंसाका शब्दहरूले घेर्नुभयो, आज त्यही शरीर मलाई आफ्नै लास जस्तै भारी भइरहेको छ।”
गोरे: “दिलमती, म अलि भावुक भएँ होला, तर तिमी कति सुन्दरी थियौ… तिम्रो त्यो पुष्ट शरीर र यो यौवनले मलाई मन्त्रमुग्ध बनायो। म आफूलाई रोक्नै सकिनँ।”
दिलमती: “तपाईंको त्यो ‘रोक्न नसक्ने’ आवेगले मेरो कुमारीत्व लुटियो, गोरे! तपाईं त अब लाहुर जानुहुन्छ, नयाँ दुनियाँमा रमाउनुहोला। तर मैले यो चिमखोलाको समाजमा कसरी मुख देखाउने? मेरो पवित्रता, जुन मैले आजसम्म जोगाएकी थिएँ, त्यो तपाईंले एउटा अभ्यासको निहुँमा लिनुभयो। अहिले मेरो आत्मा छट्पटाइरहेको छ।”
गोरे: “म लाहुरबाट फर्केर आएपछि सबै कुरा मिलाउँला नि…”
दिलमती: “के मिलाउनुहुन्छ? उडेको इज्जत र लुटिएको कुमारीत्व फेरि फर्कन्छ? तपाईं त लाहुरे बनेर सानले हिँड्नुहोला, तर म? म त यहाँ पल-पल मर्नेछु। यो रातो माटोले लिपिएको घरभित्र मेरो सुस्केरा कसले सुन्छ? तपाईंको लागि यो एउटा रातको खेल थियो, मेरो लागि यो जीवनभरको पीडा हो।”
गोरे: (निहुरिएर) “मलाई माफ गर दिलमती, म बाध्य छु जानलाई।”
दिलमती: “माफीले मेरो घाउ भरिँदैन। तपाईं जाँदै हुनुहुन्छ, तर मेरो हाँसो र मेरो भविष्य पनि साथै लिएर जाँदै हुनुहुन्छ। यो माघे सकरातीको टीका मेरो निधारमा होइन, मेरो भाग्यमा लागेको दाग जस्तै हुनेछ।”
नोट: यो मेरो प्रकाशोन्मुख उपन्यासको सानो अंश हो प्रतीक्षा साँच्दै गर्नु होला।






