वैशाखी पूर्णिमाको रात एउटा वालकको जन्म

SHARE:

प्रस्तुति – चिम्खोले काईला – बेलायत (प्रकाशोन्मुख उपन्यासको एक अंश)

बैशाखको महिना, वसन्तको यौवन छिप्पिएर ग्रीष्मको पदचाप सुनिन थालेको समय। भगवान गौतम बुद्धको जन्म भएको दिन। आज पूर्णिमाको रात, आकाशमा चाँदीझैँ टल्किएको पूर्ण चन्द्रमा आफ्नो समस्त आभासहित मुस्कराइरहेको छ। जूनको उज्यालो यति प्रखर र कञ्चन छ कि, यदि कोही सुइरोमा धागो उन्दै छ र अचानक सियो भुईँमा खस्यो भने पनि त्यसलाई सहजै फेला पार्न सकिन्छ। प्रकृति नै दूधिलो प्रकाशमा नुहाएझैँ प्रतीत हुन्छ।

समयले मध्यरात छिचोलेर दुई बजिसकेको छ। म्याग्दीको उच्च भेगमा अवस्थित चिमखोला गाउँ अहिले बाह्य संसारबाट विमुख जस्तै देखिन्छ। साँझभरि ओखरा (रोधीं) मा जमेका तन्नेरी र तरुनीहरूका खित्का, दोहोरीका भाका र मादलको ताल अब शान्त भइसकेका छन्। सबै आ-आफ्नो थातथलोतिर लागिसकेकाले गाउँमा एउटा गहिरो र निस्तब्ध मौनता छाएको छ।

तर, यही सुनसान रातको सन्नाटालाई चिर्दै अचानक एउटा ध्वनि गुञ्जायमान हुन्छ। गाउँका जिम्माल बाजेको घरबाट एउटा अबोध बालकको ‘अङ्या-अङ्या’ गर्ने रोदन सुनिन्छ। त्यो क्रन्दनले रातको निस्तब्धतालाई मात्र भङ्ग गरेको छैन, बरु सुतिरहेको गाउँलाई एउटा नयाँ जीवनको स्पन्दनको आभास गराइरहेको छ।

बैशाखको मध्यरात, आकाशमा पूर्ण चन्द्रमा मुस्कुराइरहे पनि जिम्मालको घरभित्र भने एउटा छुट्टै छटपटी र सन्नाटा छाएको थियो। जिम्माल्नीका लागि यो प्रसव नितान्त अनपेक्षित थियो। रजस्वला रोकिएर ‘प्रकृतिको नियम सकियो’ भन्ने ठानेकी उनलाई यो तेह्रौँ गर्भले आश्चर्यमा पारेको छ। अघिल्ला १२ सन्तान जन्माइसकेकी उनले यसपालि सन्तानको आशै मारेकी थिइन्, तर नियतिले उनको कोखमा फेरि एकपटक जीवनको बीउ रोपिदियो।

रातको दुई बजेको छ। अगेनाको वरिपरि ओछ्यानमा २, ४, ६ देखि १२ वर्षसम्मका लालावालाहरू अघोर निद्रामा छन्। आफ्नी आमा कुन पीडासँग जुधिरहेकी छिन् र घरमा अर्को एउटा सदस्य थपिँदै छ भन्ने उनीहरूलाई पत्तोसम्म छैन।

त्यही मौनतालाई चिर्दै बालकको रुवावासी सुनेपछि छिमेकी तल्ल घरकी मुखेनी बज्यै हस्याङफस्याङ गर्दै जिम्मालको पिँढी उक्लिन्छिन्। भित्रको दृश्य भयावह र कारुणिक थियो। ओछ्यान रगतले लतपतिएको छ। भर्खरै जन्मिएको शिशु रगत र चिप्लो पानीमा लतपतिएर छटपटाइरहेको छ। जिम्माल्नी प्रसव पीडाले शिथिल भएर घोप्टो मुन्टो लगाउँदै जीवन र मरणको दोसाँधमा झैँ बसिरहेकी छिन्।

मुखेनीले हतार-हतार अगेनामा आगो सल्काइन्। सानो झुल्को उज्यालो भएपछि उनी ओछ्यानतिर अघि बढिन् र सोधिन्, “ए जिम्माल्नी, के भयो? छोरा कि छोरी?”

पीडाले थलिएकी जिम्माल्नीले मधुरो स्वरमा सुस्केरा हाल्दै जवाफ दिइन्, “खै बज्यै, मलाई त केही थाहा छैन…” बच्चाको गुप्ताङ्ग छामेको छैन। मुखेनी बज्यै हाँस्दै भन्छिन्।

“जे भए पनि के भो र? सात छोरा र पाँच छोरी त छँदै थिए, अब यो अर्को थपियो,” मुखेनीले सान्त्वना दिँदै हात बढाएर सिपालु ढङ्गले नाल काटिन्। रगतमा लतपतिएको शिशुलाई आमाको शरीरबाट अलग गराएर काखमा लिँदै उनले हर्ष र आश्चर्य मिश्रित स्वरमा भनिन्, “ए, छोरा जन्मिएछ!”

मुखेनी बज्यैका सिपालु हातहरूले रगत लतपतिएको बालकलाई सफा गरे र न्यानो कपडामा बेरेर सुत्केरी जिम्माल्नीको काखमा राखिदिए। “लौ, यसलाई दूध चुसाऊ, यसको प्राण धान्ने आधार नै यही हो,” मुखेनीले भनिन्। प्रसवको थकाइले लखतरान भएकी जिम्माल्नीले ममतामयी नजरले आफ्नो तेह्रौँ सन्तानलाई हेरिन् र काखमा टाँसिन्।

रात अझै बाँकी थियो, तर मुखेनीका हातहरू रोकिएनन्। उनले हतार-हतार अगेनामा आगो फुकिन् र सुत्केरीका लागि तातो ‘क्वाति’ र भात बसालिन्। उता ओछ्यानको रक्ताम्मे कपडाहरू र सुत्केरी हुँदाको फोहोरलाई उनले निकै आत्मीयताका साथ सफा गरिन्। जिम्माल्नी र मुखेनीको यो सम्बन्ध केवल छिमेकीको मात्र थिएन, यो त एउटा गहिरो विश्वास र मित्रताको प्रतीक थियो।

चिमखोला गाउँमा जिम्माल्नी र मुखेनीको जोडी ‘दुई शरीर एक प्राण’ जस्तै मानिन्थे। उनीहरू आफू मात्र होइन, गाउँका जुनसुकै महिलालाई व्यथा लाग्दा वा बालबालिका बिरामी पर्दा अहोरात्र खटिन्थे। गाउँका महिलाका दुःखमा ओत लाग्ने छहारी थिए उनीहरू।

यो त भयो घरभित्रको कुरा, गाउँको साझा चौतारीमा पनि उनीहरूको उत्तिकै मान छ । मुखिया, जिम्माल र चौतारेले गाउँको विकास, कुलो-पानी वा बाटोघाटो बनाउने निर्णय गर्दा यी दुई महिलाको सल्लाह बिना काम अघि बढ्दैन । समाजलाई जोड्ने कडीका रूपमा रहेका यी दुई नारी पात्रहरू चिमखोलाको गौरव र गाउँलेका लागि आड भरोसाका खम्बा हुन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!