विक्रम भट्टराई
तपाईंले पहिले धेरै पटक देखेको, भेटेको वा कुराकानी गरेको मान्छेलाई अचानक देख्ने बित्तिकै उसको नाम तुरुन्तै सम्झन सक्नुहुन्छ त? यो समस्या जीवनको कुन उमेरदेखि बढी भएको जस्तो लाग्छ?
वास्तवमा, मान्छेको उमेर अनुसार मानसिक स्वास्थ्यका साथै शारीरिक क्षमतामा पनि नजानिँदो हिसाबले परिवर्तन आउने गर्छ। हामी सानो छँदा आमाले भुटेर दिनुभएको मकैका गेडाहरू आकाशतिर फालेर ठ्याक्कै मुखमा पार्थ्यौं र खान्थ्यौं। के अहिले हामी सजिलै त्यसै गर्न सक्छौं? मनमा त्यस्तो लाग्दैन, तर व्यावहारिक रूपमा धेरै फरक आइसकेको हुन्छ। चिया बनाउँदा कपहरूमा बराबर नपर्नु, पहिले सहजै अड्याएर राख्न सक्ने सामानहरू अहिले नअडिनु, जति सतर्क हुँदा पनि चिजहरू पोखिनु, पहिले सहजै फड्को मारेका सिँढीहरूमा ठोक्किनु, र पिसाब गर्दा नियन्त्रण कमजोर हुनु (पिसाब ननिख्रनु वा भित्ताको सहारा लिनु) जस्ता समस्या देखिन थाल्छन्।
त्यस्तै, दन्तमञ्जन वा सेभिङ क्रिमको बिर्को लगाएर पुन: लगाउन बिर्सनु, दाह्री काट्दा कतै कतै छोडिनु, मोजाको सुल्टो-उल्टो मेसो नपाउनु जस्ता कुरा सामान्य लागे पनि यिनले हाम्रो जीवनको एउटा नयाँ मोडको सङ्केत गर्छन्।
मानसिक क्षमतामा आउने परिवर्तन
शारीरिक मात्र होइन, मानसिक क्षमतामा पनि उस्तै परिवर्तन देखिन्छ। चिनिरहेकै मान्छेको नाम ठ्याक्कै याद नआउनु, विनाकारण झिँझो लाग्नु, एउटै कुरा पटक-पटक दोहोर्याउनु, झनक्क रिसाउनु वा सानातिना कुरामा अनावश्यक चिन्ता लिनु यसका लक्षण हुन्। कतिपय अवस्थामा कुराकानी गर्दा पहिलो र दोस्रो वाक्यको प्रसङ्ग नमिल्नु, तर्कहरू असान्दर्भिक हुनु, आफूलाई राम्रो लागेको कुरा अरूलाई उपयुक्त नलाग्न सक्छ भन्ने मेसो नपाउनु, एकान्त मन पराउनु र अरूप्रति असन्तुष्टि भाव राख्नु जस्ता स्वभावहरूले जरो गाड्दै जान्छन्।
तर, यी सबै कुरा आफैंमा ‘डिमेन्सिया’ (बिर्सने रोग) हुन् भन्ने हुँदैन। धेरैजसो अवस्थामा यो उमेरसँग सम्बन्धित सामान्य स्मृति परिवर्तन मात्र हो। अनुहार चिन्नु तर नाम बिर्सनु उमेरजन्य स्वभाव हो, गम्भीर रोग होइन। मांसपेशीहरूको नियन्त्रण घट्नु र हात-आँखा बीचको समन्वय (Hand-eye coordination) कमजोर हुनु प्राकृतिक बुढ्यौलीको भाग हो। यसलाई नियमित व्यायाम, अभ्यास र ध्यानले धेरै हदसम्म सुधार गर्न सकिन्छ।
सुधारका उपायहरू
१. मस्तिष्कको अभ्यास: मस्तिष्कलाई सक्रिय राख्न दैनिक ‘क्रसवर्ड’, शब्द खेलहरू खेल्ने, नयाँ भाषा वा संगीत सिक्ने, पुस्तक पढ्ने र विभिन्न विषयमा छलफल गर्ने बानी बसाल्नुपर्छ। सामाजिक सम्पर्कमा रहिरहने, एक्लै बस्ने बानी घटाउने र परिवारसँग कुराकानी गर्नाले मानसिक स्वास्थ्य राम्रो हुन्छ। यसको अचुक उपाय भनेको दैनिक १०-१५ मिनेट श्वासप्रश्वासमा ध्यान (Meditation) केन्द्रित गर्नु हो। साथै, कम्तीमा ७ घण्टाको गहिरो निद्रा र सुत्नुअघि मोबाइल नचलाउने बानीले मानसिक क्षमता बढाउँछ।
२. शारीरिक व्यायाम: दिनमा कम्तीमा ३० मिनेट हिँड्ने र हल्का स्ट्रेचिङ गर्ने गर्नुपर्छ। हात र आँखाको समन्वयका लागि बल फाल्ने र समात्ने खेलहरू उपयोगी हुन्छन्। पिसाब चुहिने समस्याका लागि ‘किगेल एक्सरसाइज’ (Kegel Exercise) र सन्तुलनका लागि एक खुट्टामा उभिने अभ्यास गर्न सकिन्छ।
३. दैनिक जीवनको व्यवस्थापन: वस्तुहरू (चाबी, चश्मा, फोन) सधैं एउटै निश्चित ठाउँमा राख्ने, एकपटकमा एउटा मात्र काम गर्ने र आवश्यक कुराहरू नोटबुकमा लेख्ने बानी बसाल्नुपर्छ। औषधि खाने समय वा अन्य महत्त्वपूर्ण कामका लागि मोबाइलमा अलार्म लगाउनु पनि लाभदायक हुन्छ।
प्रविधिको सदुपयोग र जीवन विज्ञान
आजको युगमा इच्छाशक्ति भएमा भर्चुअल माध्यम (ह्वाट्सएप, जुम) बाटै शारीरिक व्यायाम र योग सिक्न सकिन्छ। उदाहरणका लागि, मध्य बेलायतमा ६ वर्षअघि सुरु गरिएको ‘जीवन विज्ञान युके’ ले हरेक बिहान ५:३० देखि ७:०० बजेसम्म निःशुल्क योग र ध्यान साधना गराउँदै आएको छ। आफ्नै घरको बैठक कोठाबाट प्रत्यक्ष सहभागी भई आफ्नो शरीर र मस्तिष्कलाई तन्दुरुस्त राख्न सकिन्छ।
समयको बहावसँगै आउने यी परिवर्तनहरूलाई बुझेर सही जीवनशैली अपनाएमा हामी बुढ्यौलीलाई पनि सहज र सुखमय बनाउन सक्छौं।


