मनकी रानी रजनी

SHARE:

चिम्खोले काइँला
बेलुकीको भात खाएर बिस्तारामा पुगेपछि हामी कुरा गर्न थाल्यौं । गफ गर्दागर्र्दै टुकीसमेत ननिभाइ निदाएछु । व्युँझँदा रजनीले मलाई अँगालो मारेकी थिइन् । उनको लुँगी माथि सरेकोले नदेख्नुपर्ने सबै कुरा देखिरहेको थिएँ ।

सायद रजनीले देखाएकै पनि हुन सक्छ । मेरो युवा मन नजुर्मुराएको होइन । एक मनमा उनलाई चुम्न, उनको शरीरमा स्पर्श गर्न र माया साटासाट गर्न मन नलागेको पनि होइन । तर, किन हो कुन्नि मैले आँट गर्नै सकिन । सायद मैले धेरै माया गर्ने भएर पो हो कि ?

म लाहुरे परिवारको सदस्य । बाबा लाहुरे, दाइ पनि लाहुरे, अब घरका मान्छे र इष्टमित्रले पनि गाउँको स्कुलको मास्टरी छाडेर लाहुर जान सल्लाह दिन थालेका छन् । मलाई पनि दांैतरी लाहुर गएको देख्दा मन लहसिन्छ । कहिलेकाहीं त घरपरिवारबाट लाहुरे हुन दबाबै पनि आउँथ्यो । म रजनीलाई सुनाउँथे– उनलाई नरमाइलो लागेको अनुहारले प्रस्टै दर्शाउँथ्यो ।

रजनीले भन्थिन्, ‘तिमी लाहुर जानुभन्दा हामीजस्ताहरूले देशमै संघर्ष गरेर केही गर्नु राम्रो ।’ उनले मुखै फोरेर ‘म तिमीलाई माया गर्छु, सँगै बस्न चाहन्छु, सँगै मर्न चाहन्छु’ कहिल्यै भनेनन्, तैपनि म उनले भन्न खोजेको कुरा बुझ्थें । मलाई पनि रजनीलाई एक्लै छाडेर जाने मन थिएन । यसैले म लाहुर जाने कुरामा लामो समयदेखि अलमलमै थिएँ ।

एक दिन म शिक्षकहरूको तलब लिन बेनीबजार झरेको थिएँ । त्यही रात रजनीलाई बिहेको प्रस्ताव लिएर एकजना हङकङ लाहुरे गाउँ आइपुगेछन् । उनीसँग श्रीमतीलाई हङकङ लैजाने अनुमतिसमेत रहेछ । उनी जतिसक्दो चाँडो रजनीलाई बिहे गरेर हङकङ फर्कन चाहन्छन् । रजनीका बाबुआमा, दाइ, इष्टमित्र सबै यो बिहेका लागि सहमत भइसकेका छन् । तर, रजनीले बिहेको प्रस्ताव अस्वीकार गरेकी छन् । आफ्ना माइतीतिरका र लाहुरेको घरतिरका सबैले यति राम्रो अवसर नआउने भन्दै रजनीलाई सम्झाउँछन् । दबाब थेग्नै नसक्ने भएपछि रजनीले मसँगको प्रेम खुलासा गरिछन् । बिहे गर्नैपरे मसँग गर्ने उनले कुरो राखिन् । तर, उनका घरपरिवारले गाउँमा साधारण मास्टरी गर्ने केटासँग भन्दा लाहुरेसँग बिहे गर्दा भविष्य उज्ज्वल हुने भन्दै फकाउन थाले ।

रजनीले आफ्नो प्रेमी पनि पछि लाहुरे हुन सक्ने भन्दै उनैसँग बिहे गर्ने अड्डी लिइन् । तर, एक्ली रजनीको केही जोड चलेन । सबैको करकापले उनले बिहे स्वीकारिन् । म बेनीबाट गाउँ फर्कंदा रजनी बिहे गरेर गइसकेकी रहिछन् ।

जब मैले यी सबै कुरा थाहा पाएँ, मैले टेकेको भुइँ भासिएजस्तो लाग्यो । मलाई एक्लोपनले सताउन थाल्यो । सधैं रुनमात्र मन लाग्थ्यो । स्कुलमा पढाउने रहर मरेर गयो । मलाई आफ्नोवरिपरि सधंै आँध्यारोमात्र नजर आउँथ्यो । म मानसिक रूपले दुर्बल बनिसकेको थिएँ । मेरो यो हालत देखेपछि मेरा बाबाआमा र स्कुलका शिक्षकशिक्षिका साथीहरूले लाहुरे भएर हङकङमै रजनीलाई भेट्न सल्लाह दिए । मेरो मनस्थिति अझै ठीक ठाउँमा थिएन । तैपनि घरबाट लाहुरे हुन दबाब बढ्न थालेपछि मैले पनि लाहुरे भएपछि रजनीसँग बिहे गर्न नपाए पनि हङकङमा भेट्न पाइने आसमा लाहुेर हुने अठोट गरें ।

गल्लावालसँग छाती नाप्न हिँडें । गल्लावाल, एआरओ हुँदै पोखरामा पनि प्रतिस्पर्धाबाट छानिएपछि लाहुरे भएर हङकङ आएँ । मलाई लागेको थियो, हङकङ आएपछि रजनीलाई भेट्नेछु । तर, अवस्था सोचेजस्तो सजिलो रहेन । सैनिक तालिममा व्यस्त हुन पुगें । सैनिक अभ्यासक्रममा गुरुजीको रामधुलाइ खाइयो । गुरुजीको रामधुलाइले रजनीको सम्झना विपनामा हराउन थाल्यो, सपनामा सीमित हुन पुग्यो ।

नौ महिनाको सैनिक तालिम सकिएपछि पल्टन गएर रजनीलाई भेट्ने आशा अझै मरिसकेको थिएन । तर, मेरो दुर्भाग्य नै भन्नुपर्ला, सैनिक तालिम सकिएपछि सिक्स गोर्खा राइफल्समा ब्रुनाई जानुपर्ने भयो । रजनीलाई भेट्ने मेरो आशा सिसाजस्तै चकनाचुर भयो । रजनीलाई सम्झिरहें । उनको सम्झनामा कविता लेखिरहें । गीत कोरिरहें । तर, भेट जुरेन । घरमा छुट्टी आएँ । बिहे गरें । छोराछोरी भए । म आफ्नै संसारमा रमाउन थालें । रजनीलाई बिर्सिसकेको थिएँ ।

आज एक्कासि उनलाई देखेपछि पुरानो सम्झना ताजा भए । एक जमानाकी ‘मेरी मनकी रानी रजनी’ र अहिलेकी राजनीको रूपरंगमा आकाश पाताल फरक भए पनि उसलाई देखेपछि कताकता मलाई आफ्नैजस्तो लाग्यो । म पसलबाट फर्कंदै छु । फिल्मको रिल घुमेजस्तै पुराना यादहरू मानसपलटमा घुमिरहेको छ मौकामा चौका हान्न नसकेकोमा, म एक्लै मुसुमुसु हाँसिरहेछु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!