‘नेतृत्व रातारात जन्मिँदैन, लामो संघर्षबाट जन्मिने हो’ प्रचलित यो भनाइसँग मेलखाने व्यक्तित्व हुन्, तमुधिं युकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ । १२ वर्षदेखि तमुधिंमा सक्रिय उनी यही नोभेम्बर १७ तारिखमा भएको अधिवेशनबाट सर्वसम्मत् अध्यक्षमा चयन भए । सन् २००६ मा बेलायत पसेदेखि नै तमुधिं युकेमा सक्रिय गुरुङको नेतृत्वमा दसौं कार्यसमिति छानिए पनि कार्यभार भने डिसेम्बरको अन्त्यमा तमु ल्होछारबाट सम्हाल्न पाउनेछन् । गुरुङ दुई वर्ष ह्याम्पसायर इकाईको अध्यक्ष, केन्द्रमा एक÷एक कार्यकाल महासचिव, सचिव र पछिल्लो दुई कार्यकाल उपाध्यक्ष बने । नन्दजंग सहारा युके, एनआरएन युके सिक्लेस पार्चे कम्युनिटी युकेलगायतमा पनि आबद्ध छन् ।
तमुधिंलाई आगामी २ वर्षमा अझ माथि उठाउने कास्की सिक्लेसका नवनिर्वाचित अध्यक्ष एवं पूर्वगोर्खा सैनिक गुरुङले प्रतिबद्धता जनाएका छन् । प्रस्तुत छ, तमुधिं युकेका अध्यक्ष नन्दजंग गुरुङसँग टीकाराम तामाङले लिएको अन्तर्वार्ता ।
लामो समयको मेहनत र परिश्रमपछि तमुधिं युकेको अध्यक्षमा निर्वाचित हुनुभयो, तपाईलाई कस्तो महसुस भइरहेको छ ?
गरिमामय संस्था तमुधिं युकेको नेतृत्व गर्ने अवसर पाएको छु, यो अवसर र चुनौती दुवै हुन् । हाम्रा जतिपनि अग्रजहरुले तमुधिंलाई यो स्थानसम्म ल्याइपुर्याउनु भएको छ, त्यसलाई म निरन्तरता दिने प्रयास गर्नेछु । थप्नुपर्ने ठाउँहरु छन् भने पनि सक्रियताका साथ गर्ने छु । अहिले सहमतिमा कार्यसमिति चयन भएको छ । यो उदाहरणको रुपमा सबै जनमानसमा पुगेको जस्तो मलाई लागिरहेको छ ।
यो संस्थामा सधैंजसो सहमति, सर्वसहमतिमा नेतृत्व चयन गर्दा सदस्यहरु मताधिकार र आफ्ना रोजाइको नेतृत्व छनोट गर्नबाट बञ्चित भएन र ?
तमुधिं एउटा सामाजिक संस्था हो । यो सबैको हातेमालोबाट चल्छ । त्यसैले नेतृत्वमा पनि सबैको सहमतिबाट एकजना व्यक्तित्वलाई अगाडि लानुपर्छ । हाम्रो संस्थाको सकारात्मक पक्ष भनेकै नेतृत्व र विभिन्न कार्यक्रम एकमतले पास गर्नु हो । यो ट्रेनमा हामी सधैं गइरहनुपर्छ ।
पुराना कार्यक्रमलाई निरन्तरता र नयाँका लागि प्रयास गर्ने भन्नुभएको छ, नयाँ योजना के छन् त ?
तमुधिं युकेले वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा गर्दै आएका कार्यक्रममै हामी व्यस्त छौं । यद्यपि कतिपय कुरा हामीले थप्नुपर्ने, सुधार गर्नुपर्ने होला । अग्रजहरुको सहमतिमा, उहाँहरुलाई सँगै लगेर राम्रो पक्ष थप्नुपर्ने छन् भने त्यसो गर्न तयार छु ।
बेलायतमा ४० देखि ५० हजार तमुहरु छन् । उहाँहरुको तमुधिंप्रतिको आस्था मर्न दिनुहुन्न, दिन्नौं । जिम्मेवारीको हिसाबले हामी कोही तल कोही माथि, आर्थिकस्तरमा पनि कोही गरिब, कोही धनी होलान् तर सबै तमु हौं । हामी सबै एकताबद्ध भएर तमुधिंलाई अगाडि लानुपर्छ भन्ने मेरो सोच छ । साथसाथै यो संस्थामा आएर म तमु हुँ भनेर गर्व गर्ने ठाउँ बनाऔं । सबै तमुलाई तमुधिंमा स्वागत गर्ने वातावरण बनाऔं भन्ने पनि ठूलो इच्छा हो । सबै तमुहरु तमुधिंमा समेटिऔं भन्ने मेरो आह्वान छ ।
नेतृत्वमा पुगेकाले पेलेरै अगाडि बढे, पूराना प्रतिबद्धता पूरा नगरेकोजस्ता आरोप लगाएर तमु समाज, तमु प्ये ल्हु संघ युकेजस्ता संस्था खुलेका छन् । ती संस्था र व्यक्तिहरुलाई कसरी संगठित गर्नुहुन्छ ?
मानिसहरु सबैका आआप्mनै मत, विचार हुन्छन् । मतमतान्तर परिवारमा त हुन्छ भने समाज, सामाजिक संस्थामा त्यसै पनि हुन्छ । तर, जे जति कुराहरु भए त्यसलाई हामीले पूर्वाग्रही बनेर, यस्तोउस्तो कुरा गर्नुभन्दा पनि कसरी सुधार्ने, कसरी समावेशी गरेर लाने भन्ने प्रयास हुन जरुरी छ । बितेको कुरा कोट्याएर इस्यु बनाउनतिर भन्दा पनि अगाडि के गरी बढ्ने भन्ने सोच्नु पर्दछ ।
तमुधिं विधान र विधिअनुसार चल्ने संस्था हो । फरक समूहमा रहेका साथीहरुलाई एकताबद्ध पार्ने कोसिस हुन्छ । त्यसका लागि एकतर्फी हुने होइन, सबै मिलेर गर्नुपर्छ । तमुहरुका हितका लागि टुटेर होइन, जुटेर जानुपर्छ भन्ने सबैलाई थाहा छ ।
व्यक्तिगत इगोको हिसाबले कुनै व्यक्तिले कुरा गर्छ भने त्यो लङलास्टिङ हुँदैन । जतिपनि संघसंस्थाहरु छन्, सबै ऐक्यबद्धता भएर जानुपर्छ ।
अग्रज ज्ञाम गुरुङको नेतृत्वको नवौं कार्यसमितिले गुरुङको आदिम थलो क्होंलासोथरको अध्ययन भ्रमण गर्यो, त्यो कामलाई कसरी पूर्णता दिनुहुन्छ ?
त्यो ऐतिहासिक काम सुरु गर्नुभएको छ ज्ञामजीले । यो कहाँसम्म पुग्नुपर्ने हो, संस्थाको हिसाबले कहाँसम्म पुर्याउनुपर्ने हो भन्नेमा हामीले गर्नुपर्ने कुराहरु गरिराखेका छौं, गरिसक्यौं पनि । यसलाई अर्को चरणमा कसरी लाने भन्ने विषय छलफलको गर्नुपर्ला । तमुधिंले तमुहरुको हितमा, तमुको हक र अधिकारको कुरामा कहाँ पुग्नुपर्ने भन्ने कुराहरुमा कार्यक्रम तर्जुमा, योजना बनाएर विश्वास दिलाउन चाहन्छु । म यस्तो, गर्छु, त्यस्तो गर्छु भन्ने प्रतिबद्धताचाहिँ अहिल्यै गर्दिनँ ।
नेतृत्वमा पुगेपछि यो, त्यो गर्छु भन्ने संकेत त दिनसक्नु हुन्छ नि ?
अध्यक्षको हैसियतले सबै कुरा कार्यसमिति, अग्रजहरुकसँग सल्लाह गरेर कार्यक्रम योजनाहरु ल्याउनुपर्दछ । त्यो कुराहरु म गर्दै जानेछु । मेरो दुई वर्षे कार्यकाल हो, हेर्दै जानुहोला, यो कार्यकालमा के के हुन्छन् ? काम गरिसकेपछि समीक्षा गरौंला र गर्नुहोला ।
तमुधिं युके सिस्टमली चल्न सकेन भन्ने गुनासा सुनिन्छ नि ?
संस्थाको नीति नियम, विधान छन् । हामी च्यारिटी अर्गनाइजेनको हिसाबले पनि चल्नु पर्छ । विधानले ती कुराहरु निर्देश गरेको छ ।
तमुधिं जस्तो गरिमामय संस्थाले नीति र नियम पालना गरेर हिँड्नु पर्छ । च्यारिटी संस्थाले त्यही खालको क्रियाकलाप देखाउनुपर्छ । तमुहरुको हितका लागि, जे गर्नुपर्ने छ, त्यसमा हामी कहिल्यै पछि हट्दैनौं । हाम्रो मुख्य उद्देश्य नै त्यही हो, तमुहरुको संस्कार, संस्कृति संरक्षण गर्ने, अन्तर्राष्ट्रियस्तरमा तमुहरुका लागि कसरी काम गर्ने, नेपाली मेला, गोर्खा कप, ल्होछारजस्ता कार्यक्रमलाई निरन्तरता दिने, अझै व्यवस्थित गरेर लाने । विगतमा अञ्जानमा गल्ती गरेका छन् भने सुधार्दै लाने । अझ सिस्टम बनाएर उत्कृष्ट बनाउने मेरो इच्छा हो ।
समग्रमा नेपालीहरुको जनजीवन बेलायतमा असाध्यै चुनौतीको हिसाबले चलिरहेको छ । हामी जहाँ गए पनि नेपाली हौं, जहाँ गए पनि तमु हौं, गर्व गर्छौं । तर यसलाई अहिलेका नानीहरुसँग परामर्श गरेर कसरी संरक्षण गर्न सकिन्छ भनेर हामीले छलफल नगरेका होइनौं । यद्यपि युवाहरुको सहभागिता न्यून छन् । यसलाई मैले एकदमै विचार गर्नुपर्ने अवस्था छ । युकेको व्यस्तता, युवाहरुको करिअर बनाउने, पढ्ने बेला भएकोले २५÷२६ वर्षको उमेर भएपछि आउनेछन् । ३०÷४० वर्षका युवाहरुचाहिँ विस्तारै–विस्तारै संलग्न भइराखेका छन् । मेरो नेतृत्वको कार्यसमितिले युवा समिति गठन गर्नुपर्छ भनेर छलफल सुरु भइसकेको छ । युवाहरुलाई सबै ठाउँमा बृहत् रुपमा सहभागिता गराउने प्रयास रहिरहनेछ ।
तमुधिं युकेले धादिङको खादिङमा विद्यालय बनाइदियो, अरु त्यस्तै योजना छन् कि ?
धादिङको विद्यालय उद्घाटन यही नोभेम्बर २८ तारिख बुधबार हुँदैछ । यो योजना आठौं कार्यसमितिबाटै सुरु भएको हो । नवौं कार्यसमितिले सम्पन्न गर्यो । दसौं कार्यसमितिबाट पनि स्कुल बनाउनेलगायत च्यारिटी गर्नुपर्ने हुन्छ होला, त्यो भविष्यले बताउने कुरा हो । तर, अहिलेसम्म योजना बनिसकेको छैन । समयले निम्त्याउने कुरा हो । नेपालमा २०७२ सालमा भूकम्पले विद्यालय क्षतिग्रस्त भएर बालबालिका पढ्ने अवस्था नभएको सुनेपछि हामी खादिङमा विद्यालय भवन बनाउन सहमत भएका हौं । अबको दिनमा गर्ने कार्यक्रम सबै कार्यसमिति बसेर टुंगो लगाउने कुरा हो ।
तमु संस्कार, संस्कृति, भाषाको संरक्षण, विकास गर्नु त छँदैछ । तमुहरुको हितका लागि नेपाल र बेलायत सरकारसँग संस्थागत पहल कसरी गर्नुहुन्छ ?
हामीले अहिलेसम्म जति पनि कोसिस गर्यौं, यो आफ्नो ठाउँमा राम्रो छ । गरिरहेका छौं पनि । जातीय संस्था भए पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा कामहरु भइराखेका छन् । तमुधिं च्यारिटी संस्थाको हिसाबले चिनिइरहेको छ कि छैन भनेर नेपाल सरकार र बेलायत सरकारबाट पनि मनिटर होस् । रिकग्नेसन होस् भनेर बेलायतमा काउन्सिलर, मेयरहरुसँग, नेपाल सरकारको प्रतिनिधित्व गर्ने दूतावाससँग धेरै नजिक छौं । नेपाली मेला दूतावाससँग सहकार्य गरेर चलाइराखेका छौं । अरु ठूल्ठूला कार्यक्रमहरु पनि गर्दै आएका छौं । यी कार्यक्रमहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा रिकग्नेसन होस् भन्ने हिसाबले अझै सुधार, व्यवस्थित गर्ने मेरो इच्छा हो । हामी सक्रियता र तदारुकताका साथ अगाडि बढ्छौं ।
गैरआवासीय नेपालीको नागरिकता, सम्पत्ति र भूपूगोर्खा असमान पेन्सनको विषयमा तमुधिंको स्पष्ट भनाइ के छ ?
जातीय संस्था भएकोले गैरआवासीय नेपालीको हकअधिकारका विषयमा यस्तो हो भन्न अलि ठीक नहोला । गोर्खालाई हिजोको दिनदेखि नै भेदभाव भएको छ । पाउनुपर्ने सुविधा र बेलायत सरकारले दिनुपर्ने कुरा सजिलो गरी पाउन सकेको छैन भन्ने सबैलाई थाहा छ ।
हाम्रा साथीहरु पनि विभिन्न संघसंस्थासँग आबद्ध पनि हुनुहुन्छ । गोर्खाले पाउनुपर्ने सुविधा पाउनुपर्छ, हुनुपर्ने कुरा हुनुपर्छ भन्नेमा हाम्रो समर्थन रहन्छ ।
एनआरएनले दोहोरो नागरिकताको कुरा गरिराखेको छ । एनआरएनए युकेका पदाधिकारी र अन्य साथीहरु नेपाल सरकारसँग डेलिगेसन जानुभएको छ । गैरआवासीय नेपालीले पाउनुपर्ने, हाम्रा वर्ग र संस्थाले पाउनु पर्ने विषयमा छुट्नु हुँदैन भन्नेमा हाम्रो समर्थन त्यसै पनि छँदैछ ।
तमुहरुको सामाजिक संस्था भएकोले तमुधिं त्यस्ता विषयमा प्रत्यक्ष संलग्न हुने ठाउँ नहोला । अप्रत्यक्ष रुपमा हाम्रो सधैं समर्थन रहन्छ । समर्थन गर्नै नमिल्ने ठाउँमा गर्दैनौं । त्यसमा शंकै छैन ।






