समाजसेवी एवं अध्यक्ष किरात राई यायोक्खा युके
कल्पना राई किरात राई यायोक्खा युकेकी पहिलो महिला अध्यक्ष हुन् । लामो समयदेखि समाजसेवामा तल्लिन अध्यक्ष राईको सामु यायोक्खाका थुप्रै जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व थपिएको छ । उनको नेतृत्वमा यायोक्खामार्फत बेलायतभर बसोबास गरिरहेका राईहरूको तथ्यांक संकलन गर्ने, विश्वभरि छरिएर बसेका किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, किरात राई हाउस निर्माण सम्पन्न गर्नुपर्नेछ । अध्यक्ष राई अघिल्ला कार्यसमितिहरुले अघि सारेका योजना पूरा गर्नु र केही नयाँ कार्य गर्न सक्नेमा आफू विश्वस्त रहेको बताउँछिन् । अध्यक्षको जिम्मेवारीपछिको एजेन्डा र त्यसको कार्यान्वयनलगायत विषयमा अध्यक्ष कल्पना राईसँग एभरेस्ट टाइम्सका लागि जानु काम्बाङ्ग लिम्बूले गरेको संक्षिप्त कुराकानी ।

अचेल के गर्दै हुनुहुन्छ ?
अहिले थोरै बिजी छु । गत सेप्टेम्बर महिनामा सम्पन्न किरात राई यायोक्खा बेलायतको सातौं अधिवेशनबाट अध्यक्ष पदको जिम्मेवारी सम्हालेकी छु । उक्त जिम्मेवारी वहन गरिसकेपछि तत्कालीन कार्यक्रमहरुको लागि कमिटीहरुसँग छलफल र सांगठानिक सहकार्यहरूमा थोरै व्यस्त छु ।
बेलायतको व्यस्ततामा आफू र आफ्ना दिनचर्याहरूलाई कसरी मेन्टेन गर्दै हुनुहुन्छ ?
समयको सही उपयोग गर्न र आफूलाई परिस्थिति सांपेक्ष बनाउन अवश्य नै सजिलो हुँदैन । त्यसमा पनि बेलायतको व्यस्त दैनिकीमा आफू र आफ्ना दिनचर्याहरू मेन्टेन गर्न केही गाह्रो त अवस्य हुन्छ नै । तर, भनाइ छ नि, ‘जहाँ इच्छा त्यहाँ उपाय’ सायद त्यस्तै मेरो इच्छा र चाहनाहरु भएरै होला दैनिकीमा असाधारण परिस्थिति महसुस गरेकी छुइनँ ।
घर र समाज दुवैलाई मिलाएर अघि बढ्न गाह्रो हुने तपाईको भोगाई छैन ?
विशेष गरेर हाम्रो समाजमा घर र परिवारको दायित्व महिलाकै हो भन्ने बुझाई छ । जब एउटी महिलाले सामाजिक या व्यावसायिक जुनसुकै कार्यमा लाग्छ उसले दुवै भूमिकालाई सहज रुपमा स्वीकार्नु पर्छ यो हाम्रो वास्तविकता नै हो । यसरी घरपरिवार र समाजलाई एकसाथ सम्हाल्न गाहृो पक्कै हुन्छ तर सबैले गरेकै कार्यहरू भएकोले गाह्रो, सजिलो भन्ने कुरा व्यक्तिविशेषमा पनि फरक पर्छ । मेरो भोगाईमा भन्नु पर्दा अप्ठारो परिस्थितिहरूमा पनि सहज तरिकाले लिने गर्छु त्यसैले होला मलाई त्यति गाह्रो भएको छैन ।
तपाईं बेलायतमा स्थापित विभिन्न जातीय संघ संस्थाहरूमध्येको एक किरात राई यायोक्खाको पहिलो महिला अध्यक्ष हुन पाउँदा कस्तो महसुस हुन्छ ?
किरात राई यायोक्खाको पहिलो महिला अध्यक्ष हुन पाउँदा अवश्य नै केही गौरवको अनुभूति गरेकी छु । तर, यो खुसी सँगै किरात राई यायोक्खाको गरिमा र जिम्मेवारीप्रति पनि उत्तिकै संवेदनशील छु । र, अहिले सुरूआत मात्र भएकोले म र मेरो कार्यसमितिले अगाडि सारेको कार्ययोजनाहरु सफल हुनसके मात्रै म आपूmलाई पूर्णरुपमा खुसी भएको महसुस गर्नेछु ।
किरात राई यायोक्खालाई कसरी चिनाउनुहुन्छ ?
किरात राई यायोक्खा एउटा विशुद्ध सामाजिक संस्था हो । यस संस्थाको मुख्य लक्ष्य किरात, राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतिहरुको संवद्र्धन र संरक्षण गर्दै भावी पुस्ताहरुलाई हस्तान्तरण गर्नु हो ।
यसले अन्य जातीय संस्थाहरूसँग कस्तो सहकार्य गर्छ ?
सम्पूर्ण जातीय संघ संस्थाहरुसँग विभिन्न क्षेत्रमा आपसी सहयोग, सद्भाव र एकता कायम गर्दै जातीय पहिचान र अधिकारसहितको एक समृद्ध समावेसी समाज निर्माणको सहकार्य गर्ने गर्दछ ।
यो संस्थाको स्थापनाकाल र अहिलेमा के भिन्नता पाउनुहुन्छ ?
स्थापनाकालदेख अहिलेसम्मको पल सम्झँदा आकाश जमिनको फरक अनुभूति हु्न्छ । किनकि पहिला किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिमा कार्यरत हुँदा हामीसँग मिटिङ बस्ने ठाउँ थिएन । काठमान्डूको एउटा भाडाको कोठामा किरात राई यायोक्खा सीमित थियो । तर, अहिले स्वदेशदेखि विश्वका विभिन्न देशहरुमा किरात राई यायोक्खा स्थापित भएका छन् । आआफ्नै घरघडेरीदेखि करोडांैंको सम्पत्ति किरात राई यायोक्खाको स्वामित्वमा जोडिएको छ । हजारौं हजार राईहरु आफ्नो पहिचान र संस्कार संस्कृतिप्रति प्रतिबद्ध भएर लागीपरेका छन् । त्यसैले विगत हैन वर्तमान सम्झँदा आनन्द अनी खुसी लाग्छ ।
किरात राई यायोक्खाले उधौली, उभौली चाड मात्रै मनाउँछ किसामाजिक कार्य पनि गर्छ ?
किरात राई यायोक्खाको वार्षिक कार्यक्रममा पर्छ साकेला, उभौली, उधौली र यलम्बर डे । यसबाहेक विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।
तपाईले यो संस्थाको कुन कुन जिम्मेवारी संहाल्नुभयो ?
म नेपालको किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति हँुदै जिल्ला अनि केन्द्रीय सचिवमा कार्यरत रहँदा रहँदै यतातिर (बेलायत) आएकी हँु । बेलायतमा पनि प्रारम्भिक कार्यसमिति र केन्द्रीय सदस्य हुँदै यहाँसम्म (अध्यक्ष) आइपुगेकी छु । म उपाध्यक्ष हँुदा मेरै संयोजकत्वमा सन् २०१४ मा बेलायतमा १ सय ४७ रोपनी जग्गासमेत किन्न सफल भयौं । यसको लागि निवर्तमान अध्यक्ष पदमबहादुर राई (बीईएम)लगायत सम्पूर्ण कार्यसमितिका साथीहरू र सबै सहयोगी मन भएका राई दाजुभाइ, दिदीबहिनीहरुलाई समेत धन्यवाद दिन चाहन्छु ।
संस्थाको भावी योजनाहरू के के छन् त ?
किरात राई यायोक्खाको समसामयिक कार्ययोजनाबाहेक केही महत्वपूर्ण योजनाहरु मेरो एजेण्डामा राखेकी छु । र, यो कार्ययोजना वर्तमान परिप्रेक्ष्यमा ज्याँदै सान्दर्भिक पनि छ । जस्तै, बेलायतका सबै ठाउँहरूमा बसोबास गरिरहनुभएका सम्पूर्ण राईहरूको तथ्यांक संकलन गर्ने, विश्वभरि छरिएर बसेका किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र किरात राई यायोक्खा बेलायतकै प्रतिष्ठा बोकेको किरात राई हाउस निर्माण सम्पन्न (माङखिम प्रोजेक्ट कम्प्लिट) गर्ने ।
किरात राईहरूको भाषा, धर्म संस्कार फरक हुन्छ कि एकै ?
अझै किरात राईहरूको २८ भाषा छन् । ती सबै फरक फरक नै हुन्छन् । तर, संस्कारमा आआफ्नो क्षेत्रअनुसार केही फरक भए तापनि समग्रमा त्यत्ति फरक छैन । धेरैजसो मिल्दोजुल्दों नै हुन्छ ।
अब बेलायमा हुर्के बढेका युवावर्गलाई समेट्न के गर्नु पर्छ जस्तो लाग्छ ?
मेरो बुझाईमा बेलायतमा हुर्के बढेका हाम्रो युवा वर्गलाई समेट्न पारिवारिक शिक्षा भनांै प्यारेन्टल एजुकेसन दिनु अति आवश्यक छ, पश्चिमी संस्कारको असर नपरेको समाज कहीं छैन तसर्थ घरमा हाम्रा छोराछोरीहरुलाई हामी को हौ ? हाम्रो वास्तविक पहिचान, संस्कार र संस्कृति के हो र यसको संरक्षण किन आवश्यक छ भन्ने विषयलाई स्पष्ट पार्न सक्नु पर्छ । यसप्रतिको उत्तरदायित्वको बोध गराउन सर्बप्रथम अभिभावकहरुले र सम्भव भएसम्म जातीय संस्थाहरुले समेत केही भूमिका निर्वाह गर्नु पर्दछ ।
बेलायतमा बसोबास गर्ने राईहरूको जनसंख्या कति पुग्छ ?
बेलायतमा रहेका राईहरुको अनुमानित जनसंख्या १६ हजारदेखि १८ हजारसम्म छ । यसलाई निश्चित गर्न पहिलोपटक हाम्रो कार्यसमितिले बेलायतभरि बसेका राईहरुको तथ्यांक संकलनलाई प्राथमिकताका साथ कार्यान्वयन गराउनका लागीपरेका छौं ।
तपाईंलाई यो क्षेत्रमा लाग्न प्रेरणा को बाट मिल्यो ?
सायद म आफंैले यस क्षेत्रलाई रोजेँ । र, केही प्रेरणा अवश्य नै मेरी ममीबाट पनि पाएकी छु । किनकि ममी पार्टीको राजनीति गर्नुहुन्थ्यो । सामाजिक कामहरुमा पनि उत्तिकै लागीपर्नुहुन्थ्यो ।
क्षमतावान भएर पनि निस्क्रिय बस्ने बेलायतवासी दिदीबहिनीहरूलाई कस्तो सन्देश दिनु चाहनु हुन्छ ?
क्षमतावान भएर पनि निस्क्रिय बस्ने बेलायतवासी दिदीबहिनीहरूलाई आफ्नो सीप, खुबी, क्षमतालाई सदुपयोग गरौं, समाज परिर्वतन गराउन महिलाहरूकै मुख्य भूमिका रहने भएकोले समाजमात्र हैन देश नै परिवर्तन गराउन सकिन्छ भन्न चाहन्छु । सबैभन्दा पहिला हामीसँग आत्मविश्वास अनि सहास र धैर्यता चाहिन्छ ।
अन्त्यमा, केही भए छोटकरीमा राख्न सक्नु हुन्छ ?
सर्वप्रथम मेरो विचार राख्ने अवसर दिनुभएकोमा तपाईं र एभरेस्ट टाइम्सलाई धेरै धेरै धन्यवाद ! अनि यो पत्रिकाको सर्वाधिक सफलताको कामना गर्दै मेरो कार्यसमितिका सम्पूर्ण मेम्बरहरूलाई पनि यही पत्रिकामार्फत सम्झन चाहन्छु । तपाईंहरूको अमूल्य साथ र सहयोगको म कदर गर्नेछु ।






