अत्यन्त मिहिनेती, सरल र सहयोगी स्वभावका जुमकाजी गुरुङको बेलायतका नेपाली समुदायमा छुट्टै पहिचान छ । सन् २००७ देखि सामाजिक संस्थामा जोडिएका गुरुङ गत नोभेम्बर १७ मा भएको तमुधिं युकेको अधिवेशनबाट १० औं कार्यसमितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित भए । तमुधिंको हेम्प्सायर सर्रे इकाई सदस्य, उपाध्यक्ष, अध्यक्ष र सन् २०१५–२०१६ को आठौं कार्यसमितिमा कोषाध्यक्षको भूमिका निभाएका थिए । उनी कोषाध्यक्ष छँदा भूकम्पपीडित सहयोगार्थ १ करोड बढी सहयोग रकम संकलन गर्न सफल भए । उनकै सक्रियतामा उठाइएको ५० लाख रुपैयाँको लागतमा तमुधिं युकेले धादिङको रुबिभ्याली गाउँपालिका ३ को खादिङस्थित हिमालय सरस्वती आधारभूत विद्यालय भवन निर्माण गरेको छ ।

विभिन्न सामाजिक कार्यमा सक्रिय गुरुङ बुबा स्व.सुनार गुरुङ र आमा मनसुवा गुरुङको कोखबाट पर्वतको ताङ्लेमा जन्मिएका हुन् । २०३६ सालमा ब्रिटिस आर्मीमा भर्ती भएका उनले १८ वर्षे सेवापश्चात् अवकाश पाए । अहिले परिवारसहित बेलायत बस्छन् जुमकाजी । जुमकाजी तमुधिं युकेका अलावा रामबजार सोसाईटी युकेका अध्यक्ष, तमु संसार त्रैमासिक पत्रिकाका सल्लाहकार, लोकबहादुर स्मृति प्रतिष्ठानको संरक्षक र तमु कल्चरल फोरमका कोषाध्यक्षसमेत हुन् । खादिङमा निर्माण गरिएको पाँचकोठे भवन उद्घाटनको मेसो पारेर नेपाल आएका समाजसेवी जुमकाजी गुरुङसँग एभरेष्ट टाइम्सका लागि टीकाराम तामाङले गरेको कुराकानी :
यो पटक नेपाल आउनुको मुख्य उद्देश्य के थियो ?
दुई कारणले यो चोटी नेपाल आएँ । पहिलो, द क्वीन्स गोर्खा इन्जिनियरको ७० औं वार्षिकोत्सव मनाउन । जुन हामीले गत मंसिर ८ गते शसनिबार पोखरामा भव्य र सभ्य रुपमा मनायौं ।
अर्को कारण, तमुधिं युकेले धादिङको दुर्गम क्षेत्र रुबिभ्याली गाउँपालिका ६ खादिङमा बनाएको हिमालय सरस्वती आधारभूत विद्यालय भवन समुद्घाटनका लागि नेपाल आएको हुँ । सो कार्यक्रम मंसिर २८ गते नै सम्पन्न गरेका थियौं । कार्यक्रमका लागि तमुधिं युकेका वर्तमान अध्यक्ष ज्ञामबहादुर गुरुङ, नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, उपाध्यक्ष हरि गुरुङ, कोषाध्यक्ष दीपक गुरुङ, निवर्तमान अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, कार्यसमिति सदस्य श्रीप्रसाद गुरुङ, भीम गुरुङलगायत अग्रज र सहकर्मीहरु पनि आउनुभएको थियो ।
खादिङमा विद्यालय निर्माण योजनाबारे भनिदिनोस् न ?
२०७२ वैशाख १२ मा नेपालमा गएको महाभूकम्पबाट भएको क्षति र नेपालीलाई परेको पीडामा केही गरौं भनेर तमुधिं युकेले सहयोग रकम उठाएको थियो । त्यतिबेला हामी एक करोड ५० लाख उठाउन सफल भएका थियौं । त्यसमध्ये एक करोड ११ हजार १ सय ११ शेष घले अध्यक्ष हुँदा एनआरएनए आईसीसीमार्फत हस्तान्तरण गरेका थियौं । बाँकी पैसा के गर्ने भन्ने सल्लाह हुँदा पाहार ट्रस्ट नेपालसँग मिलेर खादिङमा एउटा विद्यालय भवन बनाउने निर्णय गरेका थियौं । पाहार ट्रस्टको प्राविधिक सहयोग, स्थानीयको जनश्रमदानमा ५ कोठे भवन बनायौं । सो भवन बनाउन ६० लाख ३५ हजार ५११ रुपैयाँ लाग्यो । भवनका लागि तमुधिंले च्यारिटीमार्फत ५० लाख उठाएको थियो ।
विद्यालय भवन बनाउने काम कति समय लाग्यो ?
तमुधिं युकेको आठौं कार्यसमितिमा म कोषाध्यक्ष थिएँ । र, नवौं कार्यसमितिमा आफ्नै व्यस्तताले कुनै कार्यकारी पद लिइनँ, सल्लाहकारको रुपमा मात्रै थिएँ । अहिले १० औं कार्यसमितिमा भने उपाध्यक्षमा निर्वाचित भएको छु । ६ महिनाभित्र विद्यालय भवन बनाइसक्ने लक्ष्य थियो । तर, वर्षाको समय र ढुवानीको समस्याका कारण ८ महिनामा निर्माण सकायौं । भवन भूकम्प आएकै दिन पारेर गत २०७५, वैशाख १२ गते तमुधिंका अध्यक्ष ज्ञामबहादुर गुरुङलगायतले शिलान्यास गरेका थिए । मंसिर २८ गते भवन उद्घाटन गर्यौं ।
तपाईं तमुधिं युकेको उपाध्यक्ष, रामबजार सोसाइटी युकेको अध्यक्ष जस्ता महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ, सामाजिक कार्य गर्नचाहिँ कसरी प्रेरित हुनुभयो ?
सामाजिक कार्य गर्नुपर्छ भन्ने ठूलो श्रेय एकेन्द्र गुरुङ सरलाई दिन चाहन्छु । म सन् १९८० सालमा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएर गोर्खा इन्जिनियरमा थिएँ । सन् १९९६ मा अवकाश पाएँ । कारणवश म युकेमै रहेँ । बालबच्चा ससाना हुँदा सामाजिक सेवाका काम गर्ने कुरा भएन । जब २००७ मा हेमसायर इकाई स्थापना भएपछि, म उपाध्यक्ष, अध्यक्ष हुँदै तमुधिं युकेको आठौं महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भएको थिएँ । अहिले तमुधिंको दसौं कार्यसमितिमा फेरि उपाध्यक्षको जिम्मेवारी पाएको छु । हाम्रो नयाँकार्यसमितिले यही पुस १५ गतेको तमु ल्होछारबाट जिम्मेवारी सम्हाल्न पाउनेछ ।
सेवा गर्नलाई आर्थिक अवस्था पनि मजबुत हुनुपर्छ होला नि ?
युके जस्तो ठाउँमा बसेको छु । आर्थिक भन्ने कुरा गाह्रो छ । त्यहीं कमायो, त्यहीं रमायो भनेजस्तै हो । बेलायतमा हरेक महिना तलब आउँछ, त्यो त्यहीं सीमित हुन्छ । श्रीमान्, श्रीमती नै कमाउने भए पनि खर्च धान्न गाह्रै पर्छ । तर पनि भाग्यको कुरो, म अवकाश प्राप्त गोर्खा आर्मी भएकोले पेन्सनका कारण मद्दत पुर्याउँछ । सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन, मन र धन चाहिने रहेछ । कुनै व्यक्तिलाई उद्धार गर्न पाउँदा मेरो मन साह्रै हर्षित हुन्छ ।
झन्डै एक दशकदेखि सामाजिक संघसंस्थामा रहेर काम गर्दै आउनुभएको छ, ती संस्थाहरुले स्थापनाकालमा लिएका उद्देश्य पूरा भएको महसुस गर्नुहुन्छ ?
अवश्य, हामीले गरेका कामहरु प्रायः सफल भएजस्तो लाग्छ । हामीले तमुधिं युकेमार्पmत गोर्खा कप चलाउँछौं, नेपाली मेला, लाइफ मेम्बर डिनर नाइट, ल्होछारजस्ता कार्यक्रम वर्षेनी सञ्चालन गर्छौं । त्यस्तै, मातृभूमि नेपालमा कुनै किसिमका प्राकृतिक विपत्ति वा संकटकालीन अवस्था आयो भने हामीले आर्थिक संकलन गरेर पठाइरहेका हुन्छौं । विदेशमा रहेर पनि नेपाल र नेपालीलाई सहयोग गर्न अझै तत्पर छौं ।
सामाजिक संस्थाबाहेक जुमकाजी गुरुङको छुट्टै पहिचान हुने काम गर्नुभएको छ ?
ताङ्लीकोट समाज भन्छ, जुन संस्था मेरो बाबाले नै सुरु गर्नुभएको हो । उहाँकै पाइला पछ्याउँदैछु । त्यसलगायत गाउँमा मैले धेरै खालका योगदान दिँदै आएको छु । विद्यालय भवन बनाउने, ताङ्लीकोट समाजकै भवन बनाउनेजस्ता धेरै योजना, आयोजनामा सहयोग दिएको छु ।
म रामबजार सोसाइटी युकेको अध्यक्ष पनि हुँ । जुन संस्थामार्फत धेरै काम गर्ने मौका पाएँ । अक्षय कोष निर्माण, जेष्ठ नागरिकका लागि योगदान दिएका छौं । यिनै कामहरुका कारण मातृभूमि नेपाल र आफ्नो गाउँ समाजमा धेरै योगदान दिएको छु जस्तो लाग्छ ।
तपाईहरुको पुस्ता देशको सेवामा समर्पित हुनुपर्छ भनेर लाग्ने तर प्रवासमा रहेका नयाँपुस्ता सहयोग गर्न तयार नभइरहेको अवस्थामा उनीहरुलाई आकर्षित गर्न के गर्नु पर्ला ?
समाजसेवा गर्ने एउटा उमेर हुँदोरहेछ । जब म ३० वर्षको थिएँ, त्यो बेला आफ्नै संसार थियो । ३५ मा म रिटायर्ड आर्मी भएँ । त्यसपछि मेरा केटाकेटी हुर्किँदै आए । जब मेरो उमेर ४० सुरु भयो । ४० वर्षको उमेरदेखि समाज सेवा गर्नुपर्छ भन्ने लाग्न थाल्यो । नयाँ पुस्ता पनि ४० वर्ष पुगेपछि समाजसेवामा अवश्य आउँछन् भन्ने मलाई लागेको छ ।
नेपालमा प्रवासी संस्था, संगठन र दातृनिकायले समेत सहयोग गर्दा भेगीय हिसाबले एकैतिर मात्र केन्द्रित भयो भन्ने गुनासो सुनिन्छ । तमुधिं युकेले दूरदराजमा सहयोग पुर्याउने विषय सोच्ला ?
तमुधिं युके एउटा जातीय संस्था भएर पनि हामीले गुरुङलाई मात्रै मद्दत दिनुपर्छ, पश्चिमतिरमात्रै मद्दत दिनुपर्छ भनेर कहिल्यै पनि सोचेका छैनौं । तमुधिं युकेको उपाध्यक्ष र रामबजार सोसाइटीको अध्यक्षको नाताले नेपालमा संकट आइपरेको बेलामा के गुरुङ, के गैरगुरुङ छुट्याएका छैनौं । हामीले सबैलाई मद्दत पुर्याउँदै आइरहेका छौं ।
इराकमा मारिएका १२ नेपालीको शव नेपाल ल्याउन पनि १२ लाख सहयोग गरेका थियौं । महाभूकम्प आउँदा प्रधानमन्त्री कोषमा १० लाख रुपैयाँ सहयोग गरेका थियौं । त्यस्तै, रोल्पामा बाढीपहिरो आउँदा ३ लाख ५० हजार दियौं । भनेपछि तमुधिं युके एउटा जातीय संस्था भएर पनि गैरजातिलाई हेर्नु हुँदैन भन्ने भावना कहिल्यै पनि जागेन । सदा हामी नेपाली, नेपाली नै भएर बाँचिरह्यौं । सधैं नेपालीलाई मद्दत गर्नेछौं ।







