‘जनजाति नेताहरु पद र स्वार्थमा डुबे’
संयोजक, तमु ल्होछार मूल आयोजक समिति–२०७५
देश–विदेशमा रहेका गुरुङ समुदाय साँस्कृतिक चाड तमु ल्होछारमा झुम्मिरहेका छन् । मितिको आधारमा हरेक वर्ष पुस १५ मा तमु ल्होछार मनाइन्छ । मुख्य दिन आउन बाँकी छँदै गुरुङसँग सम्बन्धित संघ–संस्थाले साँस्कृतिक, खेलकुदजस्ता कार्यक्रम गरिरहेका छन् । काठमाडौं उपत्यकामा बसोबास गर्ने तमुहरुलाई एक ठाउँमा पारेर टुँडिखेलमा १५ गते नै विशेष कार्यक्रम आयोजना गरिएको छ । जुन कार्यक्रमका लागि गठन गरिएको तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् तमु ल्होछार मूल आयोजक समिति–२०७५ ले तयारी लगभग पूरा भएको जनाएको छ । आयोजक समितिको संयोजकको भूमिका भने परिषद्का उपत्यका प्रमुख श्री गुरुङले सम्हालेका छन् । उनी गोर्खा सैनिकमा २२ वर्षको सेवा सकेर झन्डै १७ वर्षेको अवधि विभिन्न संस्थामा जोडिएर सामाजिक काम गरिरहेका छन् । आँधीखोला तमु समाजको अध्यक्ष, तमु प्ये ल्हु संघको कोषाध्यक्ष, रोटरी क्लब हिमालयन गोर्खाज्को उपाध्यक्षसमेत रहेका संयोजक श्री गुरुङसँग ल्होछार कार्यक्रम तयारीलगायत विषयमा गरिएको कुराकानी ।

यसपटक गुरुङ समुदायले ल्होछार कसरी मनाउँदैछन् ?
विभिन्न संघर्षबाट जे कुरा पाइएको थियो, ती सरकारले खोस्दा हामीलाई बढी आन्दोलित बनाएको छ । पहिचान पाउनुपर्ने बेलामा वर्षमा एक दिन पाउँदै आएको चाडपर्वको सार्वजनिक बिदा खोसिएर सरकारले आदिवासी जनजातिप्रति भेदभाव ग¥यो । जसको विरोधस्वरुप विभिन्न जातीय संगठनले आ–आफ्ना तरिकाले कार्यक्रमहरु गर्दैछन् । हामी गुरुङ समुदायले पनि पहिचान र अस्तित्वको सन्देश सरकारसमक्ष पु¥याउने गरी यस वर्षको तमु ल्होछार मनाउने तयारी छ ।
व्यवस्थापनको पाटोचाहिँ कसरी अघि बढिरहेको छ त ?
मंसिर १२ गते आर्थिक, झाँकी, प्रचारप्रसार, साँस्कृतिक, खेलकुद, स्वास्थ्यलगायत २२ वटा उपसमितिहरु बनाएर तयारी गरिरहेका छौं । शुक्रबार सबै उपसमितिको संयुक्त बैठक बसेको थियो, त्यसमा तयारीबारे उपसमिति संयोजक एवं प्रतिनिधिले रिर्पोटिङ गरे । बाँकी काम उहाँहरुले तीव्रताका साथ अगाडि बढाइरहनुभएको छ । बुधबार १० गतेसम्म पूर्ण तयारी हुनेछ । ११ गतेदेखि टुँडिखेलमा मञ्च बनाउनेलगायत काममा केन्द्रित हुन्छौं ।
झन्डै १० महिनादेखि यहाँहरुले बिदा कटौतीको विरोधमा आवाज उठाइ्रहनुभएको छ, जनजातिका अन्य मागहरुचाहिँ सकिएको हो ?
सार्वजनिक बिदा कटौतीले नजिकिँदै गरेको ल्होछारमा जुन रौनकता समुदायमा हुनुपर्ने थियो, त्यो नदेखिँदा यी मुद्दालाई प्राथमिकता साथ उठाएका हौं । सार्वजनिक बिदा हामीले पाइसकेको चिज हो । जे चिज पाइसकेको हुन्छ, त्यो टिकाउन सकिएन भने नयाँ चिज कसरी अगाडि बढाउन सकिन्छ र । पाएको सुविधालाई सस्टेन गर्नुपर्छ भनेर बिदा पुनस्र्थापनाको माग गरेका हौं । सरकारले विभेदपूर्ण तरिकाले सार्वजनिक बिदा कटौतीको निर्णय गरेपछि हामी आदिवासी जनजाति आक्रोशित छौं ।
आदिवासी जनजातिले वर्षौंदेखि उठाउँदै आएको पहिचानलगायत मुद्दा यथावत् नै छ । तमुवान, लिम्बुवान, मगरात, ताम्सालिङलगायत पहिचानसहितको प्रदेश नामकरण, हरेक प्रदेशको सरकारी कामकाजको भाषा त्यहाँ बहुल रुपमा बसोबास गर्ने जातिको मातृभाषा हुनुपर्ने मागहरु थन्क्याएका छैनौं । ती माग जारी नै राख्छौं । अहिले सबै अधिकार नपाए पनि ५/१० वर्षमा पाउँछौं भन्ने विश्वास हामीलाई छ ।
तत्कालिक रुपमा उठाइएको बिदा कटौतीको निर्णयबाट सरकार पछि हट्ने अवस्था देखिएको छैन, यहाँहरुको विरोधका कार्यक्रम कुन ढंगले अघि बढाउने सोच बनाउँदै हुनुहुन्छ ?
देशको शान्तिपूर्ण अवस्था किन खलबल्याउने, सबैले एउटै प्रिन्सिपल अपनाउनुपर्छ भन्ने छैन । चक्काजाम गर्ने, टायर बाल्ने पहिलेको प्रवृत्ति छ, त्यो भन्दा शान्तिपूर्ण तरिकाले जाऊँ भन्ने हाम्रो सोच रहेकोले सरकार अलि नझुकेको जस्तो देखिन्छ । ल्होछार कार्यक्रम सके पछि पनि सरकारले नटेरे सडक जाम, सडकमै लम्पसार परेर सुत्नुपर्नेलगायत कडा आन्दोलनमा जान बाध्य हुनेछौं ।
पहिचान, सांस्कृतिक पर्वहरुका सार्वजनिक बिदा माग गर्नेमा जातीय संघसंस्थाका अगुवाहरु मात्रै देखिए, आदिवासी जनजातिका नेताहरुले साथ नदिएका हुन् कि लिन नसक्नु भएको ?
यस अवस्थाले व्यक्तिगत हिसाबमा मलाई दुखित बनाएको छ । हामी सबै मिलेर, प्लेटफर्म बनाएर उहाँ (जनजाति नेता)हरुलाई माथि पु¥यायौं । उहाँहरुले तल हेर्न लाज मानेजस्तो, अप्ठेरो मानेजस्तो देख्दा दुःख लाग्छ । जति सहयोग उहाँहरुले दिन सक्नुहुन्थ्यो, दिनुभएको छैन । सम्बिन्धत ठाउँमा बोल्न सक्नुभएको छैन । आफ्नो निजी स्वार्थ, पदको लोभमा केन्द्रित भएको हामीलाई फिल भएको छ । प्रदेशसभा र केन्द्रीय सांसदहरुसँग पटक–पटक भेटघाट कार्यक्रम राखेर हामीले गुनासा सुनाएका छौं । कुरा सम्बन्धित ठाउँमा लगेका छौं भनेर उहाँहरुले आश्वासन दिनुहुन्छ । तर, रिजल्ट ओरियन्टेड भएको छैन, रिजल्ट देखिएको छैन । उहाँहरु जितेर एक वर्ष भइसक्यो, चार वर्षपछि फर्केर यहीं आउने हो नि ! हामी चेतावनीसाथ भन्छौं, ‘हामीले गर्दा त्यो ठाउँमा पुगेको हो, भोलि कसरी फर्केर आउँदारहेछन्, हेर्छौं ।’
आदिवासी जनजातिका विषयमा अडान राख्दैन । आफ्नै कुर्सीका लागि मात्रै अडान राख्छ भने हामी सबैले सोच्नुपर्ने अवस्था छ । जनजाति नेताहरु पद र व्यक्तिगत स्वार्थमा डुबेको विषय सामान्य नागरिकमा समेत चर्चाको विषय बनेको छ ।
ल्होछारको नाममा आफ्नो भेषभूषासहित वर्षमा एकचोटि टुँडिखेल वा अन्य सार्वजनिक ठाउँमा भेला हुनुको उपलब्धि के देख्नुहुन्छ तपाईं ?
गुरुङलगायत आदिवासी जनजातिको मेन्टालिटीमा चेन्ज ल्याउन अझै समय लाग्छ । वर्षौंदेखिको एकल जातीय शासनले मानसिक रुपमा जुन प्रभाव पारेको छ, खाली पछाडि उभिने, पछाडि लाइन लाग्ने । चोकमा कोणसभा भइराखेको छ भने त्यहाँ गुरुङ अथवा जनजातिको उपस्थिति न्यून देखिन्छ । तर, मादल बजाएर रमाइलो गरिरहेको छ भने जनजातिको उपस्थिति बाक्लो देखिन्छ । हाम्रोमा पहिल्यैदेखि संस्कार त्यही छ ।
तर, अहिलेको पुस्ताहरुमा शिक्षाको स्तर पनि बढेको छ । सोचाइ पनि फराकिलो भएको छ । हामी पनि निजामती कर्मचारी प्रशासन, राजनीतिक कार्यक्रमहरुमा सहभागी भएर केही कुरा सिक्नुपर्छ, बोल्नुपर्छ भन्ने चेतना बढ्नेक्रम छ । यसमा सुधार आउन अझै केही वर्ष लाग्छ ।
ल्होछारको रौनक ग्रामीण बस्तीमा पुगेन भन्ने मत पनि छ, विस्तार नभएकै हो ?
सामूहिक रुपमा मनाउनुअघि ल्होसार घरघरमा मनाइन्थ्यो । अहिले पनि संघसंस्थाले विभिन्न कार्यक्रम गरेर मनाइन्छ । वर्षमा एकदिन एकै ठाउँमा भेला भएर, एकै ठाउँमा पकाएर खाने स्योंकै (सहभोजन) एकै ठाउँमा गरौं भनेर १५ गतेको कार्यक्रम अगाडि बढाएका हौं । त्यसअघि संघ, संस्थाको भवन वा कहीं पिकनिक गएर मनाउँथ्यो । त्यो पुस १५ नै नभएर पुस ६ गतेदेखि नै कार्यक्रम गर्न सुरु गरेका छन् संघ संस्थाले । पुस १५ सकेपछि पनि माघे संक्रान्तिसम्म पनि मनाइरहेकै हुन्छन् । गाउँमा त घरघरमै मनाइन्छ । सहरी क्षेत्रमा एकीकृत र व्यवस्थित किसिमले ७७ वटै जिल्लाका गुरुङहरु काठमाडौंमा भेला हुने भएकोले र कतिपय जिल्लाका गुरुङ दाजुभाइ, दिदीबिहिनीलाई ल्होछारसम्बन्धी थाहा नहुने भएकोले टुँडिखेलमा राखिने कार्यक्रमले उहाँहरुलाई आफ्नो संस्कार, संस्कृति, बुझ्न र सिक्नलाई सघाउ पुगेको जस्तो लाग्छ ।
तपाईहरुको परम्परागत विधिअनुसार ल्होछारलाई ठ्याक्कै कसरी मनाइन्छ वा मनाउनुपर्छ ?
ल्होसार मुख्यगरी १४ गते साँझ खेगी (पुरोहित) हरु पच्यु, घ्याप्री, बोन्पो, लम जुन गाउँमा, जुन चलन हुन्छ उहाँहरुले राति १२ बजे ‘ल्हो’ फेरिनुभन्दा अगाडि पूजा सिद्ध्याएर गएको ल्होलाई ग्रहशान्ति गर्ने र आउने ल्होलाई शुभसाइतको लागि नयाँ पूजा थालनी गरेर परिवार र उपस्थित सबैलाई गुरुले मन्त्र जपेर पूजामा राखेको रिपा रिपा (घाँटीमा लगाउने धागो) लगाइदिएर नयाँ ल्होमा कसैको पनि घाउचोट नहोस्, दुःखबिमार नहोस्, ग्रहदशा नब्रिग्रियोस् भन्ने हिसाबले ग्रहशान्ति गर्ने गरिन्छ । भोलिपल्ट अर्थात् ल्होछारको मुख्य दिन पुस १५ गते सबै दाजुभाइ या दिदीबहिनी, गाउँ टोल मिली सँगै बसेर मिठोमिठो सँगै बाँडेर खाने चलन छ ।
तमु ल्होछार नेपालभर नै मनाइन्छ ?
पहिले–पहिले पूर्वका साथीहरु संस्कार, संस्कृतिमा पछि छन् भनिन्थ्यो तर अहिले उहाँहरु एग्रेसिभ तरिकाले लागिरहनुभएको छ । गएको १० /१५ वर्ष र अहिले पूर्वका ताप्लेजुङ, इलाम, झापालगायत जिल्लाका बस्ती र टोलटोलमा, सहरसहरमा ल्होसार कार्यक्रम सञ्चालन भइरहेका छन् ।
ल्होछार पहिले पश्चिमतिर केन्द्रित थियो भने अहिले पूर्वका गुरुङ दाजुभाइले यसप्रति एकदमै चासोका साथ सिकिराख्नुभएको छ । ल्होसार पश्चिमतिरको गाउँबाट आएको हो । सहरबाट गाउँ प्रवेश गरेको होइन । भनेपछि गाउँमा समस्या छैन । गाउँमा अहिले पनि पुरानै रीतिरिवाजअनुसार राति १२ बजेसम्म आगोकोे धुनी लाएर, आजापूजा सिद्धिएपछि पुरोहित गुरुहरुबाट आशीर्वाद लिएर भोलिपल्ट भोज खाने चलन यथावत् रहेको छ । र, सहरमा बसेकाहरुले एक ठाउँमा गराउँदा राम्रो हुन्छ भन्ने सोचले सामूहिक ल्होछार थालनी गरेको झन्डै २० वर्ष पुग्न लाग्यो । काठमाडौं उपत्यकाको टुँडिखेलमा मनाइने ल्होछारमा ७०/७५ वटा संघ संस्थाले भाग लिने गर्दछन् ।
ल्होछार एउटा नयाँ वर्षको सुरुआत हो । झन्डै महिनादिन जसो मनाउँदा यसले विकृत रुप लिँदैन ?
गाउँ र सहरको परिस्थिति केही फरक छ । १५ गते सबैले टोलटोलमा मनायो भने टुँडिखेल जाने मान्छे हुँदैनन् । त्यही हिसाबले पुस महिनाभित्रमा आफ्नो समाजको अनुकूल मिल्ने दिनमा शनिबार अथवा बालबच्चाहरुको छुट्टी हुने दिनमा मनाउने हो । तर, अहिले हाम्रो सार्वजनिक बिदा नै काटिदिएको छ । छुट्टिको दिन पारेर गत मंसिर २९ गते विद्यार्थीहरुले ‘स्योरा’ कार्यक्रम गरे । जसले ल्होछार आयो है भन्ने म्यासेज जान्छ भने शुक्रबार, शनिबार पनि दुई/तीनवटा संघसंस्थाले कार्यक्रम राखेका थिए । १५ पुस सकेर पनि २१, २८ मा पनि सामूहिक कार्यक्रम राखिएको छ ।
सहरमा बस्दा त्यही हिसाबले सबैको छुट्टीलगायत कुरा मध्यनजर राख्नुपर्ने भएकोले विकृति भन्दा पनि हाम्रो संस्कारलाई जगेर्ना गर्ने काम गर्छ ।
भनेपछि पुस महिनाभर मनाउन मिल्ने भयो ?
विधिवत्रुपमा आजापूजा १४ गते राति हुने भयो । त्यही राति नभए भोलिपल्ट पुरोहितसँग ‘रिपा’ लाएर आफ्नो सुरक्षा अपनाउने भयो । तर, भोज खानेक्रम चाहिँ महिनाभरीमा आफू अनुकूल मनाउने गरिन्छ, सहरी वातावरणमा । गाउँतरि त बिदा दिएको, नदिएको खासै फरक पर्दैन । किसानहरुलाई पुस १५ मा पनि गाईबस्तु हेर्ने रुटिन हुन्छ । तर, उनीहरुले १५ गते नै मनाउँछन् । विदेशतिर पनि त्यही हो । कसैले गत शनिबारदेखि मनाएका छन् भने कतिपयले १४, १५ गते शनिबार, आइतबार परेकोले आफ्नो बिदाको हिसाबले त्यही बेला मनाउने तयारी गरिरहेका छन् । कुनै बेला जनवरी ५, ६, ७, ८ सम्म पनि हुने गर्छ । हुनुपर्ने आजापूजा चाहिँ १४ गते राति नै हो ।
प्रवासमा रहेका तमु ल्होछार मनाउने समुदायलाई केही सुझाव छ ?
म पनि विदेशमा २२ वर्ष जागिर खाएर आएको मान्छे । त्यहाँ त्यतिबेला ल्होछार मनाउने चलन थिएन । पल्टने हिसाबले हिन्दू चाड र दुई सरकारबीच भएको सम्झौताको हिसाबले मनाउँथ्यौं । भर्ती हुनेबित्तिकै हिन्दु लेखाउनुपर्ने । हिन्दूकै चाडमा मात्र छुट्टी पाउने थियो । सन् २००० तिर कुनै–कुनै देशमा मनाइथ्यो भने त्यसपछि तीव्रताका साथ चाड मनाउने क्रम सुरु भयो । जुन एकदमै खुसीको कुरा हो । विदेशमा बसे पनि आफ्नो देशको संस्कार, संस्कृतिलाई भुलेको छैन । विदेशमा रहेका अहिलेका पुस्ताले त्यसो गरिएन भने उहाँहरुपछिको नयाँ जेनेरेसनले भुल्छन् । आफ्नो पहिचान गुमाउँछ । संस्कार, संस्कृति बिर्सन्छन् । केही मात्रामा भने पनि यसले टेवा पु¥याउँछ । विदेशमा मनाइने नेपाली संस्कार, संस्कृति र चाडपर्वले नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्ने भएकोले ल्होछारजस्ता चाडपर्व नछोड्नु होला, सबैले मनाइदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु ।






