मदन पुरस्कार विजयी राधा पौडेलको ‘अ पवित्र रगत’ सार्वजनिक

SHARE:

सुधा गुरुङ
मदन पुरस्कार विजयी राधा पौडेलको चौथों कृति ‘अ पवित्र रगत’को हालै काठमाडांैमा विमोचन सम्पन्न भएको छ । पेसाले नर्स राधाले आफ्नो कामको सिलसिलामा नेपालका विभिन्न गाउँठाउँमा देखेका, भोगेका अनुभवहरुलाई आफ्नो नयाँकृति ‘अ पवित्र रगत’ मा समेटेकी छन् ।

एक्सन वर्क्स नेपाल र राधा पौडेल फाउन्डेशनको संस्थापक राधाले आफ्नो गृहनगरी चितवनमा मितेरी जैविक सेनिटरी प्याड फ्याक्ट्री पनि हालै सञ्चालनमा ल्याएर उत्पादन सुरु गरी नेपालको पहिलो प्याड वुमनसमेत बनेकी छन् । हाल परीक्षणमा रहेकोले बजारमा उपलब्ध भइसकेको छैन । सो जैविक सेनिटरी प्याड फ्याक्ट्रीमा ७/८ जना महिलाले रोजगारी पनि पाएका छन् । राधा फाउन्डेशनको अनुसन्धानअनुसार महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याड कुहिन एक सयदेखि एक हजार वर्षसम्म लाग्न सक्छ भने सल्लाको बोक्राको कागजबाट बनाइएको जैविक सेनिटरी प्याड सजिलै कुहिनाले वातावरणमैत्री हुने उनको दाबी छ । साथै बजारमा उपलब्ध सेनिटरी प्याड महँगो हुनाले सबैले अफोर्ड गर्न नसक्ने तर जैविक सेनिटरी प्याड सुलभ मूल्यमा बजारमा उपलब्ध गराइने पनि उनी बताउँछिन् ।

राधाले आफ्नो अनुसन्धानका क्रममा भेटिएका महिनावारीका कथाहरु आफ्नो पुस्तकमा समेटेकी छन् । नेपालमा महिनावारीलाई पापको संज्ञा दिँदै सो बेलामा महिलाहरु अपवित्र हुने हुनाले कुनै पनि शुभकार्यमा सम्मिलित हुन नपाउने र यदि भइहाले अनर्थ हुने अन्धविश्वास परापूर्वकालदेखि नै चल्दै आएको छ ।

त्यसैले महिनावारीको रगतलाई अपवित्र मान्दै महिलाहरुमाथि विभेद हुने गर्दछ । पिछडिएको गाउँघरमा अझै पनि महिनावारी भएका बेला गोठमा वा सोही प्रयोजनका लागि बनाइएको खोरमा बस्नुपर्ने बाध्यता कायमै छ । जसलाई छाउपडी प्रथा भनिन्छ । हुन त, नेपाल सरकारले २००५ मा छाउपडी प्रथालाई अवैध घोषणा गरी यदि सो प्रचलनलाई निरन्तरता दिएको थाहा लागेमा विशेष कानुनी सजायको व्यवस्था पनि गरेको छ । तैपनि विशेषगरी सुदूरपश्चिमका गाउँहरुमा यो प्रथा कायमै छ । जसको फलस्वरुप महिनावारी हुँदा यसरी घर बाहिर गोठमा बस्नुपर्ने बाध्यताले सर्पले टोकेर, जाडोमा आगो बालेर सुत्दा धुवाँले निस्सासिएर, कहिले हिंस्रक पशुको आक्रमण र कहिलेकाहीँ त दानवरुपी मानवको बलात्कारको सिकार भई कैयौ महिला र कलिला छोरीचेलीले अनाहकमा ज्यान गुमाउनुपरेको वा दुर्घटनाको सिकार हुनु परेको समाचार यदाकदा आइनै रहेका हुन्छन् । हालैको जाडोमा पनि छाउ बार्दा गोठमा आगो बालेर आमासँगै सुतेका नाबालक २ छोराछोरी र डोटीमा १९ वर्षीया एक युवतीले ज्यान गुमाउनुपरेको घटना आलै छ । झ्याल नभएको छाउगोठमा धुवाँले निस्सासिएर सुतेकौ अवस्थामा उनीहरुको ज्यान गएको थियो ।

यी त भए नेपालका दूरदराजका अशिक्षित ग्रामीण भेगमा ब्याप्त रुढीवादी संस्कार र कुरीतिहरु । तर बिडम्बना, युरोप र अमेरिकामा बसोबास गर्ने शिक्षित र सभ्य भनिने नेपाली समाजमा पनि महिनावारी बार्ने चलन कायमै रहेको सत्य–तथ्य विदेश भ्रमणका बेला राधा स्वयंले देखेको, भोगेको बताउँछिन् । महिनावारी हुनु कुनै अपवित्रता वा पापको प्रतिफल होइन, यो त महिलाहरुको नियमित शारीरिक प्रकृया र सृष्टीको सार हो भन्ने तथ्य बुझाउँदै गाउँगाउँ डुल्छिन् राधा । विशेष सुदूरपश्चिम कर्णालीका दुर्गम गाउँहरुमा उनले महिनावारी, महिला हक, हित र अधिकारका बारेमा जनचेतना जगाउँदै हिँड्छन् । सोही बारेमा उनको सुरक्षित महिनावारी सबैको जिम्मेवारी नामक हाते पुस्तक पनि प्रकाशित भइसकेको छ भने शान्तिका पाइलाहरु नामक कवितासंग्रह पनि प्रकाशित भइसकेको छ ।

जुम्लासँग उनको भावनात्मक सम्बन्ध रहेको र त्यसैको फलस्वरुप हुँदाखाँदाको नर्सको सरकारी जागिर छोडेर सुरक्षित मातृत्व कार्यक्रमका लागि माओवादी द्वन्द्व चरम सिमामा पुगेको बेलामै उनले जुम्लालाई नै आफ्नो कर्मभूमि रोजेको कारण उनको पुस्तक ‘खलंगामा हमला’ पढेका सबैलाई विदितै छ, जुन पुस्तकले २०७० को मदन पुरस्कार जित्न सफल भएको थियो ।

माओवादी द्वन्द्वकालमा भएका विभत्स हमलाहरुमध्ये खलंगाको हमला पनि प्रमुख हो । सोही हमलाको भुक्तभोगी र सर्भाइभल राधाले आफ्ना अनुभव, कर्णालीवासीको पीडा र मनोदशा सो पुस्तकमा बडो सरल अनि मार्मिक भाषामा यसरी उद्धृत गरेकी छन् कि पढ्दा पाठकलाई स्वयं आफू नै खलंगाको हमलाको साक्षी भएको अनि कर्णालीवासीको पीडा आफैंले भोगेको अनुभूति हुन्छ । सरकारी जागिर छोडेर बिकासे काम सुरु गरे छि गरिबी, सामाजिक विभेद र द्वन्द्वले आक्रान्त कर्णालीवासीसँग आफ्नो झन् नजिकबाट साक्षात्कार भएको कुरा उनी बताउँछिन् । उनी कर्णालीका सामाजिक र स्वास्थ्यगत समस्या केलाउँदै थिइन, माओवादीको सदरमुकाम खलंगा आक्रमणको रात आफैं सशस्त्र द्वन्द्वको भुक्तमान भइन् ।
कार्यक्रम सकियो, उनको जुम्ला बसाई सकिएन । अविवाहित राधाले जुम्ली जनताको उत्थानमा आफूलाई समर्पित गरेकी छन् । जुम्लामा उनको फाउन्डेशनले मितेरी रिसाईकल सप पनि खोलेको छ । जहाँ सेकेन्ड ह्यान्ड कपडा लत्ताहरु रु. २०/३० देखि ४/५०० सम्मको मूल्यमा बेचिन्छ । च्यारिटी स्वरुप गाउँघरमा सित्तैमा बाँड्दा सेकेन्ड ह्यान्ड कपडाहरु कसैले लगाउन नखोज्ने हुनाले राधाले यस्ता रिसाईकल सपहरु खोल्ने आईडिया निकालेकी हुन् । सो को प्रेरणा उनलाई विदेश घुम्नेक्रममा विभिन्न च्यारिटी शपहरुजस्तै ओक्स फाम, ब्रिटिस हार्ट फाउन्डेशन आदिबाट मिलेको कुरा उनी बताउँछिन् ।

काठमाडौं, ललितपुरलगायत देशका अन्य केही जिल्लाहरुमा गरी कुल ९ वटा मितेरी रिसाईकल सप खोलिसकिएको छ । जसलाई नेपालभरी फैलाउने उनको मनसाय छ । आफूलाई नचाहिने लत्ताकपडा दाताहरुले सो रिसाईकल सेन्टरमा दान दिने गर्दछन् ।

यसरी निरन्तर सामाजिक सक्रियता जनाएबापत उनलाई नेपाल सरकारले “यूवा प्रतिभा पुरस्कार २०७०” बाट सम्मानित गरेको छ । उनलाई संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ स्यानडियागोले “वूमन पिस मेकर–२०१२’’ र राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले “एन–पिस अवार्ड २०१२” बाट सम्मानित गरेको छ भने उनको पहिलो कृति खलंगामा हमलाले २०७० को मदन पुरस्कार प्राप्त गरेको थियो । खलंगामा हमलाको अंग्रेजी संस्करण “JUMLA- A Nurses Diary” प्रकाशित भइसकेको छ भने जर्मन भाषामा पनि उनको सो पुस्तक अनुवाद भइसकेको छ ।

राधालाई देश विदेशका विभिन्न यूनिभर्सिटीहरुमा प्राध्यापनका लागि निम्त्याइने गरिन्छ । गत वर्षको समरमा यूरोपका विभिन्न यूनिभर्सिटीहरुमा र हालै अमेरिकाका यूनिभर्सिटीहरुमा ६/६ हप्ता प्राध्यापन गरेर स्वदेश फर्किएकी राधा अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आगामी मार्च महिनामा बेलायत आउँदैछिन् । ब्रिटिस एकेडेमी र लिभरपुल जोन्मूर यूनिभर्सिटीको संयुक्त निमन्त्रणामा उनी बेलायत आउन लागेकी हुन् ।

उनको यात्राको सम्पूर्ण व्यवस्था लिभरपूल जोनमूर यूनिभर्सिटीकी प्रोफेसर डा.सारा पार्करले मिलाएकी छन् । डा. पार्करको सिकलेस र ताङतिङ गाउँसँंग विशेष मोह रहेको साथै उनी निरन्तर नेपाल गइरहने, नेपालको लागि केही न केही गरिरहन मन पराउने एक शुभचिन्तक रहिछन् । नेपालमा करिब २५ वर्ष काम गरिसकेकी डा. पार्करले सिकलेसमा रहेर विद्यावारिधी गरेकी छन् । उनलाई कास्कीको सिकलेस र ताङतिङका स्थानीय बासिन्दाहरुले नजिकबाटै चिन्छिन् ।


मार्च ३ मा बेलायत आइपुग्ने राधाको बृटिस एकेडेमीमा मार्च ४ र ५ र लिभरपूल यूनिभर्सिटीमा ६ र ७ तारिखमा कार्यक्रम रहेको छ । लिभरपूलको कार्यक्रम समापनपश्चात् मार्च १० मा बेजिङ्गस्टोक नेप्लीज कम्युनिटीमा, १३ मार्चमा पोर्ट्समाउथ युनिभर्सिटीमा, १६ मार्चको बिहान तमुधिंमा उनको कार्यक्रम राखिएको छ भने १७ मार्चमा एनआरएनएको नारी दिवसमा पनि उनलाई अतिथि स्पीकरको रुपमा निम्त्याइएको छ ।

कृपया समय मिलाएर आफ्नो उपस्थिति जनाई मदन पुरस्कार विजयी सामाजिक अभियन्ता राधा पौडेललाई भेट्ने र उनको अनुभव सुन्ने मौकाको फाइदा उठाउन हुन विनम्र अनुरोध छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!