काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।
अर्थमन्त्री वाग्लेको जवाफपछि उनीसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अर्यालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाएन । विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समयको उपयोग गरेन । कतिपय विपक्षीका सदस्य बैठकबाट बाहिरिएका थिए ।
सभामुख अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँ दिँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गरे ।
सभामुख अर्यालले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तत गर्दा बहुमतले संशोधनहरू अस्वीकृत भएको घोषणा गरे । उक्त नीति तथा कार्यक्रममाथि ३५ विपक्षी सांसदले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसैबीच राष्ट्रियसभाको बिहीबारको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने/नलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णययार्थ रूपमा प्रस्ताव प्रस्तुत गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मतदानमा भाग नलिने जनाएको थियो भने अन्य दलका सदस्यको ध्वनि मतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।






