नउघ्रेको जून समीक्षा

SHARE:

सेमन्त राई
मार्च १६, २०१९ मा कथाकार जानु काम्बाङ्ग लिम्बूको “नउघ्रेको जून” कृपाका साथ हुलाकमार्फत प्राप्त भयो । मलाई विमोचन भएपश्चात् नै पढ्ने ठूलो धोको भए पनि विभिन्न कारण बस हात लागेर पनि निकै समय जुटाउनु पर्‍यो पढ्ने समय अनुकूल मिलाउन । अन्ततोगत्वा ५ अप्रिलमा पढिसकें । कथा पढ्दा आफूलाई कुनै ज्ञाताको रुपबाट भन्दा पनि सिकारु एक पाठकको रुपमा सम्झँदैं कथाबाट आफूले पनि सिक्ने मौका पाएको महसुस गरेको छु । यसलाई समीक्षा गर्ने दुस्साहस गर्नुभन्दा पनि आफूले सिकेको कुरालाई टिपोट गरेको भन्न रुचाउँछु ।

नउघ्रेको जून कथासंग्रहमा स्वदेशको बेरोजगारीको पीडाले सताएर रोजगारीको खोजीमा परदेश जानु पर्ने बाध्यता र त्यसको चोट, गोर्खालीको लामो इतिहासका कथाहरु, गाउँघरका दैनिक जनजीवनको सशक्त चित्रण पाइन्छ । पढ्दा कथा साह्रै मन छुने समाजमा भएका कहानी, हाम्रै वरिपरि पाइने चरित्रहरुको नाम, गाउँ, सहर, वनपाखा, खोलानाला, बेंसी, देश, परदेश सबै चीरपरिचित परिवेशका पुराना तथा आधुनिक जीवन भोगाईका कथाहरुलाई टपक्कै टिपेर पाठकसामु प्रस्तुत गरेको पाइन्छ । २० वटा कथा रहेको यस कथासंग्रहमा विशुद्ध गाउँले वातावरण र पूर्वीय गाउँले भाका, बोली, संस्कारको बाहुल्यता रहनु कथाकार आफैं पूर्वीय समाजको एक पात्र हुनुले हो भन्नमा अत्युक्ति नहोला । हरेक कथाहरुमा नारी पीडाको क्रन्दन पाइन्छ जुन कि त समाज वा परिस्थितिले सिर्जना गरेको हुन्छ । चरित्रहरु पनि प्रायः आफ्नै स्थानीय समाजकै सुहाउँदिलो तर आफ्नै परिवारकै एक सदस्य जस्तै लाग्छन् ।

कथा
संग्रहको शीर्षकथा “नउघ्रेको जून”मा टुसाएको एक अघोषित एकोहोरो प्रेम पूर्णता प्राप्त नगरी नै मुख्य पात्रको दुःखपूर्ण अन्त हुनुमा अलिकति कथाकारले उक्त पात्रप्रति सहानुभूति जगाउन त्यसो गरिएको कि जस्तो भान हुन्छ । मन पराएको मान्छे ईच्छा (फुच्चु)लाई अनेक मौका पाउँदा पनि उसलाई नजिकबाट चिन्न नसक्नु जीवनको कमजोरी हो । इच्छा नानाको होटेलमा बसेर काम गर्दै स्कुल जाने, नानाको दाहिने हात भएर काम गर्ने र जीवनले सोही होटेलमा खाना खानेजस्ता क्रियाकलापको बाबजुद पनि एक्कासी उनलाई नदेख्दा मात्र उनको बारेमा सोध्नु जीवनको कमजोरी देखिन्छ । कथाकारले एक अबोध बालिकाको बलात्कारपछि मृत्युको बाटो नरोजाएर त्यसको विरुद्धमा लडेर आफ्नो अधिकार खोज्न लगाउनुमा नारी जागरणको शिक्षा हुन सक्थ्यो कि ? माओवादीको प्रभावले पर्न गएको पारिवारिक असरले गर्दा धेरैको जनजीवन तहसनहस भएको कुरा कथामा प्रस्ट अनुभूत गर्न सकिन्छ जसको सिकार इच्छा र उसको परिवारले पनि हुनु परेको छ । त्यसैगरी गरिबीको विकल्प परदेश हानिनु पर्ने हर्केको नियति र त्यसको परिणाम उसको मृत्यु परदेशमा नै हुँदा मुन्दुलीजस्ता अनेकौं नारीहरुको जीवनको आशाको दीप झ्याप्पै निभेको यथार्थता कथामा पाइन्छ यस कथामा । कतिपय विशुद्ध गाउँले रुढीवादी विश्वासहरुको झल्को कथामा जीवित छ जस्तै चराले ज्यानमा छेर्ने, कुकुर अनौठो गरी भुक्ने ।

कथाकार आफैं एक आमा भएको नाताले होला रत्नपार्क जस्तो राजधानीको गल्लीहरुमा अनगिन्ती बेवारिसे नानीहरुको दशालाई चिन्तनमनन गरी ती नारीहरु जो पुरुषहरुबाट शोषित भएको क्रोध कथाको माध्यमबाट व्यक्त गर्नु भएको छ । समयको गतिसँगै मान्छेको सोच परिवर्तन हुन्छ अनि जिन्दगीले नसोचेको मोड लिन्छ । एक विवाहित नारीसँग आफ्नो पिताको सम्बन्ध रहेको र त्यसरी एक सुन्दर परिवार लथालिङ्ग हुँदा आफ्ना छोराछोरी र पत्नीलाई कति असह्य हुन्छ भन्ने कुराको सन्देश बोकेको कथा हो, “ऊ मेरो बाबा होइन ।” विकसित देश हङकङका नेपालीहरुमा स्वतन्त्र जीवनयापन र व्यस्तताले आफ्नै परिवारसँगको सम्बन्ध खस्केको समेत पत्तो नहुने, परस्त्री र पर पुरुषसँगको सम्बन्धले कतिका घर परिवारमा पारेको असरलाई उजागर गर्न सफल छ “नर्मा” । कथाकारले आधुनिक जमानामा प्रविधिको सहयोगले भ्रुण हत्या प्रशस्त हुने गरेको तर यसको विरुद्धमा एक आमाको रुपमा जागरणपूर्ण सन्देश दिन सफल हुनु भएको छ ।

कथाकारले आफैं जहाँ जहाँ पुगेर जीवनको अनुभूति गर्नु भएको छ त्यहीं त्यहींका यथार्थ जीवन कहानीहरुको प्रस्तुति गर्न पछि पर्नु भएको छैन । यसरी नै बेलायतको सामाजिक वातावरण, यहाँको समाज र नेपाली मानसिकताको झल्को “मालतीको आत्मा हत्या” कथाबाट ओकल्नु हुन्छ । स्वार्थको लागि एक नेपालीले अर्को नेपाली माथि गरिने तुच्छ व्यवहारको वास्तविक चित्रण सन्ध्या र मालतीको माध्यमबाट गर्नु भएको छ । एक नारीले अर्को नारीको पीडा र वेदनालाई बुझ्न नसक्नु नेपालीहरु बीचको विकृतिको रुपमा झाङ्गिएको कुरा फ्याक्ट्रीमा भएको घटनाले प्रस्ट पारेको छ ।

नेपाली समाजको पुरानो पुस्ताले पालेको अन्तर्जातीय विवाह र प्रेम विवाहविरोधी सोच अनि त्यसको पीडामा आफ्नो जीवन आहुती दिन बाध्य भएका प्रेम जोडीहरुको कथा “हाङ्मा” मा छ । एक सहनशील नारीले सबै कुरा त्यागेर सच्चा प्रेमको लागि आफूलाई बलिदान दिए पनि अन्तमा आफ्नै प्रेमी (श्लोक)जो परिवारको भविष्य निर्माणका लागि फ्रान्स गएर सम्पत्ति कमाउने विश्वास दिलाउने व्यक्तिबाट नै दिइएको अकल्पनीय वेदना बोकेको कथा हो यो । एक लिम्बूकी छोरी अधिकारी पण्डितको घरमा अति सहनशील भएर आफ्नो बुहारीको स्थानमा रहँदा पनि अपहेलित हुनु तर यसका लागि आवाज नउठाउनुले हाङ्मा सबैबाट हेलित हुनु परेको थियो । आफ्नो अधिकारको खोजी गरी आफूमाथि गरिएको व्यवहारको प्रतिकार गराउन सके अझ कथाले सार्थकता पाउने थियो कि ? युरोपको नियम कानुनअनुरुप बिनाप्रमाण आफ्नो श्रीमान्को समेत अधिकार नहुँदा उनको जीवनका सबै उपायहरु बन्द भए पछि विकल्पविहीन भई भोग्नु परेको गहिरो पीडाको कथा हो यो । तर स्थानीय नेपाली समाज र नेपाली दूतावासको सहयोग निकै महत्वपूर्ण हुनाले बाँकी जीवन कर्म घरबाट टाढा युरोपमा आउन पाउनाले अलिकति राहत मिलेको कुरा कथामा देखाइएको यो कथा कारुणिक र सन्देशमूलक छ । आमा बाबाको आज्ञाकारी छोरी पात्रहरुमध्ये उषा पनि एक हुन्, “नियतिको लिला”मा जो किरणको सामु आफ्नो कोपिला लाग्दै गरेको पिरतीको फूलको बोटमा तुषारापात लागेर छताछुल्ल भयो । समाजको अगाडि उनीहरुको सच्चा माया प्रितीले झांगिएर फुल्न फल्न पाएन । त्यसैले आफ्नो टुसाएको मायालाई फुलाउने फलाउने सपनालाई सदैका लागि मार्नु परेको थियो ।

अर्को असफल प्रेमकहानी र असफल जिन्दगी बोकेकी एक नारी चरित्रको कथा “बेहुली सपना” । लाहुरेसँग विवाह हुन नपाएको नुमाको अपुरो कुण्ठित मनभित्रको काल्पनिक यथार्थ कथा । कथाकारले गाउँ घरमा घटेका वास्तविक कहानीलाई “यसरी अस्तायो एउटा तारा”मा सफल रुपमा प्रस्तुत गर्नु भएको छ काकीको छोटो जीवनकथा । मान्छेको जीवनमा सुनौलो घरपरिवार बिगार्न दैवले कस्तो कस्तो पीडा लिएर आउँछ । कुनै अशुभ खबरको लक्षणस्वरूप चराले शरीरमा हगी दिनुजस्ता कुराहरुमा रहेको विश्वासलाई यस कथामा कथाकारले जस्ताको तस्तै प्रस्तुत गर्नु भएको छ । यस कथामा पनि एक नारीले अमूल्य जीवन अकालमा नै गुमाएर भाग्यले दिएको छोटो जिन्दगी मात्र बिताएको दुःखपूर्ण व्यथा प्रस्तुत गरिएको छ । “हरियो कुर्ता” छोटो तर अलि फरक किसिमको विषयवस्तु भए पनि कथाको अन्त एक नारीको दुःखमा नै भएको छ । एउटा शिक्षकको छापले विद्यार्थीको जीवनमा कति ठूलो भूमिका खेलेको हुन्छ भन्ने कुराको पुष्टि यस कथाले गरेको छ । तारा मिसले मन्त्रीसँग विवाह गर्नुको औचित्य प्रस्ट नभएको जस्तो लागेको छ तर उनको जीवनले यो कथा पनि सुखान्त प्राप्त गर्न भने सकेको छैन ।

“ममताविहीन” मान्छे धनको पछाडि लागेर आफ्नो परिवार र सन्तानको समेत बेवास्ता गरी आआफ्नै रमाइलो जीवनको पछि लागेको एक सुन्दर परिवारले अन्तमा तितरबितर भएर विपरीत दिशातर्फ लाग्नु परेको कहालीलाग्दो कहानी छ यस कथामा । एक निर्दोष बच्चा मालाले बाबा आमाको यस्तो निर्णयबाट भोग्नु परेको दुर्दशा हङगकङको जीवन स्वतन्त्रताको परिणाम भएको देखाइएको छ । आफ्ना छोराछोरीलाई नेपालमा छोडेर हङकङ बसेपछि सन्तानलाई नै बिर्सेर आफ्नो मनोमानी जीवन बिताउन सक्ने आमा बाबाको निर्दयी व्यवहारले बनाएको हृदयविदारक विछोडको पीडा बोकेको एक अन्योल युवा मनको दर्दलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ ।

एउटा खाली मन लिएर अनिश्चित जीवनको यात्रा गर्न विवश मालालाई थाहा छैन त्यो यात्रा कहाँसम्मको हो भनेर, फेरि अर्को नारीको पराजय । कथाकार सैनिक जीवनसँग निक्कै परिचित भएको कुरा उहाँको लेखाईबाट प्रस्ट हुन्छ । त्यसैले पनि “सैनिक जीवन” कथाको जन्म भएको हुन सक्छ, जहाँ नियमित रुटिन, एक ठाउँदेखि अर्को ठाउँ सर्दाको पीडा, शान्ति सेनाको कुरा र सैनिक छाउनिका जीवनयापनका कुराहरु यसमा दुरुस्तै छन् । सैनिक परिवारले भोग्नुपर्ने अनेकौं किसिमका पीडासँगै यो कथा पनि वियोगान्त रुपमा नै अन्त हुन्छ । आफ्नो बाबाको भरमा टिकेको कल्पनाको सुन्दर भविष्य उनको पिताको मृत्युसँगै दुःखपूर्ण रुपमा अन्त हुन्छ । “पश्चातापले जलेको मन” पनि एक युवा प्रेमजोडी भावना र ईश्वरले पुरानो पुस्ताको अगाडि गर्नु परेको मायाको आहुती दिएर जीवनभर छट्पटी बोकेको दुई मनको वियोगान्त कथा हो यो ।

“मङ्सिरे” माओवादी द्वन्द्वकालमा पीडित समाजको एक प्रतिनिधि पात्र जो अनाहकमा आफ्नो परिवार बालबच्चा सबै गुमाएर मानसिक र शारीरिक पीडासँग बाँच्न विवश एक निरीह व्यक्ति । युना र हंशुको प्रेम कहानीमा पनि आर्थिक विपन्नताका कारण आफनो सुन्दर परिवार बिग्रेको र परदेशको बसाईमा देखिएको विकृतिले गर्दा हंशुले आफ्नो औकात बिर्सेको कुरा कथामा प्रस्तुत छ । “ढलेको घर जलेको सपना”मा आफ्नो मनोबल दरिलो बनाएर युनाले हरेक पीडालाई भुल्न खोज्दै आफ्ना नानीहरुसँग छुट्टै बस्ने निर्णय गर्नुमा उनको एक नारी बोद्रोहको सकारात्मक पक्ष मान्न सकिन्छ जुन प्रायः अन्य कथाहरुमा पाउन सकिँदैन । आफ्नो सन्तान गुमाउँदाको मर्म एक आमालाई मात्र थाहा हुन्छ जसले अनेकौं पिडा भोगेर बच्चालाई जन्म दिने गर्दछन् । थोरै मनोविज्ञान मिसिएको कथा “जब मेटिन्छ छोरीको नाम” मा हुन सक्ने दुर्दशाको संकेत सपनाले दिने विश्वास नेपाली परम्परामा रहेको कुराको झल्को पाइन्छ कथाको सुरुआतमा । साथै एक नारीले पुनः आमा बन्न नसक्ने हुनु र छोरी गुमाउनु जस्तो पीडादायक समाचारले अतृप्त मातृत्व कुण्ठाको प्रभावबाट जुनी भर पीडित हुने कथाको आशय रहेको छ ।

एक संवेदनशील तथा बेलायतमा रहेका गोर्खालीहरुको समग्रकहानी बोकेको कथा भन्न रुचाउँछु, “भाडाको समाधिमा क्याप्टेन साल्लु” लाई । आफ्नो जिन्दगीको अन्तिम घडीसम्म आफ्ना छोराछोरीका लागी चिन्तित क्याप्टेन अन्तमा मरेर जाँदा आफ्नै चिहानसमेत भाडामा लिएर अन्तिम दाहसंस्कार गर्नु परेको मार्मिककथा हो यो । एक विश्व प्रशिद्ध योद्वाको दयनीय कहानीलाई हेरेर गरेका उपलब्धिको कुनै महत्व नरहेको केवल फुलका गुच्छाहरुको सहानुभूतिबाहेक आफ्नो अन्तिम समाधिमा केही नपाएको अति संवेदनशील कथाको प्रस्तुति यहाँ पाउन सकिन्छ । “हजुरबा र युद्ध कथा” अति नै मार्मिक लाहुरेको दुःख दर्द बोकेको यथार्थ कथा, एक आर्मीको समर्पण, परिवारसमेत त्यागेर युद्धमा गएको युद्ध साहित्य । बाजेले आफ्नो बढिसकेको छोरालाई युद्धमा नचाहेर पनि होम्नु परेको दर्दनाक कथा, जहान छोरीहरु हिँडेर घर फर्कंदा बाटैमा भोक, तिर्खाले सताएको र विषालु फलफूल खाने क्रममा घरसम्म पुग्न नसकी बिचैमा ज्यान गुमाएको कथा कति हृदयविदारक छ । युद्धबाट फर्केपछि घरमा कोही नहुँदाको विरक्तिएको जिन्दगीका ती कथाहरु सुनाउने कोही नहुँदा यसरी आफ्ना नातानातिनाहरुलाई सुनाएर मनको सन्तोष पूरा गर्ने ती बाजेहरुको पीडालाई यस कथामा अनुभूत गर्न पाइन्छ । साथै हराउन लागेको बाजेको युद्ध कथालाई यसरी जोगाएर राख्नु कथाकारको एक सफलता पनि मान्न सकिन्छ । “खोलाले छोरो फिर्ता दिएन” अन्तिम कथामा दुर्गम क्षेत्रमा यातायातको असुविधा र बर्खाको याममा खोला तर्ने पक्की पुल वा साँघु नभएर खोला वारिपारि गर्न फड्के साँघुको भर पर्नु पर्ने हुन्छ । जसको फलस्वरुप गाउँका धेरै हाप्पुरे, मन्जिल, मनाङ्ग र मक्करेहरु खोलामा परेर मर्ने गरेको कथा र काम गरेर बाबुआमा पाल्ने बेलाका लाठे छोराहरु गुमाउँदा भोग्नु परेको सयौं हाप्पुरेकी आमाको बिलौनाहरु तमोर खोलाको बहिरो कानमा परेको दुःखपूर्ण कथा हो यो ।
भाषा
कथाकारको भाषा एकदम सरल तथा ठेट गाउँले शब्दहरुको प्रयोगले भरिएको पाइन्छ । यतिमात्र नभएर कथाकारमा एक पूर्वीय लिम्बू समाजको प्रभाव परेको हुनाले कतिपय पात्रहरुको नाम, गाउँ ठाउँको नाम पनि स्थानीय जनजिब्रोमा बोलिने किसिमको शैली थपक्कै कथामा टिपेर राख्नु उहाँको आफ्नै विशेषता हो । कथाकार आफैं एक सैनिक परिवारमा हुर्केकोले थोरबहुत् सैनिक परिवार वा सैनिक जीवनको छाप कथामा भेटिन्छ । गाउँ घरमा बोलिने भाषालाई टपक्कै टिपेर पाठकसामु प्रस्तुत गर्नु कथाकारको खुबी हो । जसले गर्दा हराउँदै गएको स्थानीय बोलीचाली र भाषाको संरक्षण पनि भएको अनुभूत गराउनु कथाकारको बलियो पक्ष हो । परिस्थितिअनुरुप कुनै कुनै ठाउँमा नेपान्ग्रेजी भाषाको पनि प्रयोग गरेको भेटिन्छ जस्तै क्याण्टीन (चमेना गृह), इन्स्योरेन्स (बीमा) । हुन त, कतिपय अंग्रेजी शब्दहरु नेपाली भाषामा आगन्तुक शब्दको रुपमा पनि प्रयोग हुन थालिसकेको हुनाले यस्ता शब्दहरुको प्रयोग स्वाभाविक नै मानिन्छ ।
चरित्र
कथामा पात्रहरु प्रायः सबै राम्रो बानी भएका, कुनै विद्रोह नगर्ने किसिमको भेटिन्छ । पात्रहरुको दुर्दशा कुनै खलनायकले सिर्जना गरेको हुँदैन । सबै प्राकृतिक र भाग्यले दिएको कर्ममा नै चरित्रहरु कथामा हिँडाइएको हुन्छ । प्रायः कथाका चरित्रहरु आफ्नै मिहिनेतमा विश्वास राख्ने अरुको चियो चर्चोभन्दा आफ्नै कर्ममा लाग्नु पर्ने देखाइएको छ । प्रेम कहानी असफल हुनुका विभिन्न कारणहरु भए पनि कसैलाई यसको विरोधमा उभ्याइँदैन । आफ्नो अधिकार खोज्नसमेत उनीहरु अगाडि सर्दैनन् सायद कथाकारको यो आफ्नै विशेषता हुन सक्छ तर उनीहरुलाई आफ्नो जीवनको स्वतन्त्रतामा लड्न पनि लगाउनु पर्थ्यो कि ? कथामा पात्रहरु नराम्रा, बदमास, गुण्डागर्दी गर्नेलाई प्रश्रय दिएको कतै देखिँदैन तर प्रायः सबै पात्रहरुको अन्त वियोगान्त हुन्छ । कथा धेरै प्रथम पुरुषमा “म” भएर लेखिएको हुन्छ सायद कथाकार आफैं कथामा डुबेर लेख्न सजिलो हुने भएर हो कि, त्यसैले पाठकलाई कथा पढ्दा कथाकारको आफ्नै अनुभब हो कि जस्तो लाग्छ । सायद कथामा नियात्रा लेखनको अलि प्रभाव परेको हो कि ? कथाको मुख्य पात्र कि दुःख पाएको हुन्छ कि त मृत्यु हुन्छ त्यसैले नै वियोगान्त कथाकार पो हुन् कि झैं भान हुन्छ ।
शिक्षा
उहाँका कथाहरुमा मायाप्रितीमा विद्रोह नगरी भाग्यमा जे हुन्छ सहर्ष स्वीकार्नु पर्छ भन्ने कुराको प्रवाह कथाको मध्यमबाट गरिएको हुन्छ । आफ्नो मौलिक संस्कृति, चालचलन, भाषाको जगेर्ना गर्नुपर्छ भन्ने कुराको आभाष कथाहरुमा पाउन सकिन्छ । आफ्नो पितापुर्खा, घर घरानाको इज्जतको लागि माया पिरतीसमेत आहुती दिन पछि पर्नुहुन्न भन्ने सन्देश उहाँका कथाहरुमा पाइन्छ । त्यसैले पनि कथाहरुमा नकारात्मक चरित्रको सिर्जना गरिएको छैन । सहनशीला स्वभावका पात्रहरुले अरुलाई नबिझाउने तर आफू मरेर भए पनि अरुलाई बाँच्न दिने एक कारुणिक तथा संवेदनशील स्वभाव भएमा अरुको विवादको पात्र हुन नपर्ने कुरा कथामा पाउन सकिन्छ सायद यो कथाकारको आफ्नै स्वभाव झल्किएको हो कि झैं लाग्छ ।
कमजोरी
उहाँका कथाहरुमा प्रायः नारी पीडालाई प्रश्रय दिएको पाउन सकिन्छ । एक नारीलाई दमन गरेर लेखिएको पुरुषप्रधान कथासंग्रहझैं लाग्छ कता कता । कारण कथाका प्रमुख चरित्रहरु माया प्रेमका वरिपरी घुम्दै एक दुखद् घटनापश्चात् कि त प्रमुख नारी पात्रको निधन हुन्छ कि उनको हरेक जीवन उजाडिएको हुन्छ । उक्त चरित्रले कतै पनि आफ्नो प्रेमी, बाबाआमा वा समाजसँग प्रतिवाद गरेको भेटिँदैन । यसरी सधैं आफूले हार्नु वा पात्रलाई हराउनु, आफ्नो हक अधिकार, व्यक्तिगत स्वतन्त्रताको खोजी नगर्नु कतै कथाकारको कमजोरी हो कि ? कथामा प्रायः दुःखी र विपन्नवर्गको मात्र हाबी हुन्छ जसले गर्दा समाजको सबै बर्गका मानिसलाई नसमेटिएको पो हो कि जस्तो लाग्छ ।
उपसंहार
समग्रमा कथाको विषयवस्तुहरु ज्यादै सामाजिक र यथार्थपरक छन् साथै कथा पढ्दा जुन परिवेशमा लेखिएको छ कथाकारले पाठकलाई त्यतै पुर्‍याउन सकेको महसुस हुन्छ । आफूलाई नै कथाको प्रमुख पात्र भएको भान गराउन सक्नु कथाकारको विशेषता हो । पढेर मजा लिन सकिन्छ, विशेषगरी गाउँघरको परिवेशमा हुर्केका पाठकहरुलाई आफ्नै गाउँ पुगेको भान हुन्छ भने अरुका लागि गाउँघरको सामाजिक मानमर्यादालाई नजिकबाट जान्ने र सिक्ने मौका मिल्नेछ । यसरी पाठकको मन जित्न सक्नु नै एक सफल कथाकारको सफलता हो । उहाँको कथा लेखनमा अझ तीव्रता बढ्दै जावोस् र अझ धेरै पाठकहरुको मन जित्ने मीठामीठा कथाहरु जन्मिदै जाउन् !
संखुवासभा, हालः मेड्स्टोन, यूके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!