जयराम तामाङ
धादिङ, हाल स्वीन्डन यूके
सिस्नुले पोल्ने भन्नेबित्तिकै बालापनको सम्झनाले आङै सिरिङ्ग हुन्छ । गाउँघरमा हुँदा म र मेरो माइला दाइले गरेको विभिन्न बदमासी कामहरुको सम्झना ताजा भएर आउने गर्दछ । हाम्रो बारीको ठूल्ठूला पाटाहरुमा मकैका धान चमरा निस्कने बेलाको समय थियो र साँधमा अर्को पाटामा पनि छिमेकीको मकैको बोटहरु हाम्रोमा भन्दा झन् धेरै राम्रो अनि लहलह हरियो भएर धान चमरा निस्कने अवस्थामा थियो ।
म र माइला दाइको मथिङ्गलमा सैतानले बास गरेछ क्यारे हामी दुबै जना रिसले रन्थनिन थाल्यौं र पछि घरमा गएर भएको ठूलो हँसिया छानेर एक एक वटा लिएर छिमेकीको मकै बारीमा छि¥यौं । हाम्रो मकैको बोटहरुचाँहि नसप्रेका, सानो, पहेँलो थियो भने छिमेकीको चाँहि धेरै सप्रेको । त्यसैले सराप्दै दुवैले बिहानभरि जोत्दा पनि नसकिने पाटको मकै वल्लोछेउदेखि पल्लोछेउ गर्दै एवंरीतले आधा पाटा मकै फाँडेर सखाप नै पारिदियौं । त्यत्ति बेलासम्म कसैले पनि देखेको थिएन । म कति वर्षको थिएँ भन्ने खासै हेक्का छैन तर अन्दाजी हामी सात÷आठ वर्षको हुनु पर्छ । मलाई त्यसो गर्नुहुन्न भन्ने कुरा थाह नभए पनि दाइलाई त थाह हुनुपर्ने थियो ।
केही समयको अन्तरालमा हाम्रा छिमेकी अर्थात् बारीको साँधको मालिक हाम्रो घरमा आएर रुन, कराउन थाल्यो । लौन मेरो वर्षभरि खाने मकैको सर्बनास नै बनाएछ । कसले के को रिसले यस्तो ग¥यो होला भनेर छिमेकी खरेल बाजे रुन, कराउन छोडेन । त्यतिञ्जेलसम्म हाम्रो घरको सबै जना परिवारका सदस्यहरु जम्मा भइसकेका थिए । हामी दुईजना पनि रमिता हेरेर बसिरहेका थियौं । हामी तीन जना दाजुभाइहरुमध्ये ठूलो दाइले म र माइला दाइमाथि शंका गरेर हामी दुबै जनालाई समात्नु भयो । एक जनालाई समातेपछि अर्कोचाहिँ भाग्नु पर्ने थियो तर नभागी बसेपछि ठूल्दाइलाई झन् समाउन सजिलो भयो ।
माइला दाइ र मलाई तिमीहरुले काटेको हो कि होइन भनि सोधेको प्रश्नमा हामी अनुत्तरदायी भएपछि हामी दुईमाथि कारबाही सुरु भयो । हामी दुईलाई लुगा फुकालेर बाँधी राखी बारीमा भएको झरिलो अनि छिपेको ठूलो एकमुठा सिस्नु ल्याएर झ्याप कि झ्याप पालैपालो हान्न थाल्नुभयो । हामी जति चिच्याईचिच्याई रोए पनि दयामाया कसैको जागेन । हाम्रो शरीरभरि पूरा डाबरहरुले भरिएको थियो । कति पोलेको थियो अहिले सम्झिँदा पनि डर लागेर आउँछ । सिस्नु एक किसिमले हेर्दा मानिसहरुको लागि खराबजस्तो देखिए पनि ठीक तरिकाले प्रयोग गर्न जान्यो भने स्वास्थ्यको लागि धेरै नै फाइदाहरु छन् । निन्द्रा नलाग्नेहरुको लागि सिस्नूको पातको चिया बनाएर पिउँदा धेरै फाइदा भएको धेरै मानिसहरुको अनुभव पत्रपत्रिकाहरुमा पढ्न पाइन्छ । त्यस्तै अरु थुप्रै रोगहरुको लागि सिस्नुको क्याप्सुलहरु औषधि पसलहरुमा पनि पाइन्छन् । तर नेपालीहरुले तरकारीको रुपमा दाल बनाएर ढिँडोसँग खाने गर्दछन् । मैले पनि गाउँघरमा हुँदा धेरैपल्ट खाएको थिए ।
आजभोलि नेपालमा सिस्नुलाई सुकाएर धूलो, पिठोजस्तो बनाएर पाकेट अथवा सिसाको भाँडोहरुमा बेच्ने चलन पनि भइसकेको छ । सिस्नूलाई आफ्नो स्वादअनुसार जसरी पकाएर खाए पनि सिस्नुका थुप्रै फाइदा ईन्टरनेटमार्फत हेर्नसक्नु हुन्छ ।
मेरी आमाले बनाउनुभएको तरिका एकदम सजिलो अनि स्वादिलो कहिल्यै पनि बिर्सन सकिन्न । सिस्नुको कलिलो मून्टालाई चिम्टाले टिप्ने अनि चिसोपानीमा नुन हालेर त्यही चिम्टाले समातेर पानीमा राम्ररी पखाल्ने । पानीमा नून हालेर पखाल्दा सिस्नूमा भएका सबै किराहरु झर्दछ र सिस्नु सफा पनि हुन्छ । एउटा गहिरो भाँडोमा नुन हालेर पानी उमाल्ने अनि पानी उम्लीसकेपछि सिस्नुलाई पानीमा हालेर सात÷आठ मिनेट अथवा सिस्नु नरम भइसकेपछि ताजा लसुन अनि हरियो खुर्सानी सिलौटामा मजाले पिसेर हाल्ने अनि अलिकता मकैको पिठो र घ्यू हालेर काठको फिर्कीले राम्रोसँग फिटेपछि लतक्क परेको सिस्नुको दाल र मकैको ढिँडो खाएको याद अझै ताजा छ । त्यसैले हामी नेपाली यदाकदा विदेशतिर पनि सिस्नू खाएको अनि सिस्नू टिप्न जाँदा गोराहरुले सिकायत गरेको जस्ता खबर नसुकेको पनि होइन ।
तर, हालसालै मेरो काम गर्ने ठाउँमा जया गुरुङ बहिनी, पूर्ण गुरुङ दिदी, उडीमाया अनि लक्ष्मी थापा बहिनीहरुले सानो स्वरमा नेपालीहरुले सिस्नु खाएर ठूलो बेइज्जती गरेछ भनेर गोराहरुले सुन्छ भनेर कानमा साउती मार्दै कुरा गर्नु भएको मैले सुने । कहाँ कहिले भनि सोध्दा नेपाली स्वीन्डनको भाइबर ग्रुपमा फोटोसहित आएको छ भन्नु भएपछि मैले पनि हेर्न भ्याएँ । जहाँ साँच्चिकै रवि लामिछानेले लेखेको भनेर एउटा अपूष्ट चार जना मानिसको फोटो राखेर नूनेटन न्यूज भन्ने पत्रिकामा नक्कली समाचार बनाएर सामाजिक सञ्जालमा हाल्न भ्याएछन् । जहाँ अठ्ठाईस अप्रिल चारजना नेपालीहरुलाई जंगलमा सिस्नू टिप्दै गर्दा पक्राउ भन्ने शीर्षक राखेर अंग्रेजीमा लेखेको थियो । जुन गलत समाचारमा चारजना नेपालीहरुले जंगलमा सिस्नु टिपेर दुई वर्षदेखि बेज्दै आएको छ भन्ने स्थानीय मानिसहरुको सिकायत आएपछि जनही पाँच हजार पाउन्डको दरले जरिवानाको साथमा कारबाही अगाडि बढेको छ भन्ने भ्रामक समाचारले साँच्चिकै आज प्रत्येक नेपालीहरुलाई नछोएको सिस्नूले पोलेर घाउ बनाइदिएको छ । अलिकता सचेत त गराउला तर तथ्यहीन समाचारलाई खासै त्यत्ति चासोको रुपमा मानिसहरुले लिने पनि गर्दैनन् ।
स्थानीय नागरिकहरुले हरियाली बचाउ भन्ने नाराका साथ विभिन्न ठाउँहरुमा वृक्षरोपन अभियानहरु चलाएको पनि देख्न सकिन्छ तर नेपालीहरुले अलि अलि सिस्नुको मुन्टा खायो भन्दैमा हरियो नास हुन्छ भन्ने मलाई लाग्दैन । तैपनि हामी नेपालीहरुप्रति स्थानीय नागरिकको हेर्ने दृष्टिकोणमा नराम्रो नहोस् भन्ने ख्याल राखी अलि सजग हुनुचाहिँ अतिमहत्वपूर्ण कुरा हो जस्तो लागेको छ ।






