सजनी नौबागे
हामी एउटा कार्यशालामा थियौँ । ‘कथालय इङ्क’ले आयोजना गरेको ‘बालकथा लेखन’ कार्यशाला चलिरहेको थियो । कार्यशालामा धेरै मानिसहरु सहभागी थिए । त्यत्ति धेरै मानिसहरुमा मैले चिनेका एक जना पनि थिएनन् । सबै नयाँ अनुहार अनि मेरा लागि नौलो अनुभव पनि ।
मैले आफ्नै मनको सन्तुष्टिका लागि केही लेख र कथाहरु लेखेकी थिएँ । तिनै कथाहरुमध्ये एकादुई बालकथा कथालय इङ्कमा पठाएकी थिएँ । यसै कथाको माध्यमबाट मैले यस कार्यशालामा सहभागी हुने मौका पाएँ । अपरिचित अनुहारमाझ परिचित हुने र केही सिक्ने लालसाले म उत्सुक थिएँ । कार्यशालाको बीचतिर, छरितो जिउडाल भएको, अग्लो, अनौपचारिक पोसाकमा एक युवा आउनुभयो । उहाँले आफूले चिनेजानेका मानिसहरुसँग कुरा गर्नुभयो । मैले सोचेँ, उहाँ कोही चिनेजानेकोको मान्छेद्वारा बोलाइएर कार्यशालामा सहभागी हुन आउनु भएको होला । हामी जस्तै बालकथा लेखन बारेमा सिक्न आउनु भएको होला । तर, एकैछिनमा म अचम्मित भएँ । मेरो यो भ्रम टुट्यो । ‘उहाँ यशु श्रेष्ठ, बालसाहित्यका धेरै पुस्तक लेख्नु भएको छ । लामो समयदेखि बालसाहित्यमा समर्पित हुनुहुन्छ । उहाँले तपाईहरुलाई बालसाहित्य लेखन र निरन्तरताका लागि केही टिप्सहरु दिनुहुने छ ।’ कार्यशाला संचालकले माइक उहाँको हातमा थमाइदिनुभयो । ‘कलिलै देखिने उमेर, कुनै औपचारिक हाउभाउ वा पोसाक, त्यस्तो केही छैन । साहित्यकार जस्तो त देखिँदै देखिँदैन । यस्तो मान्छेले हामीलाई के टिप्स देला !’ मेरो मनमा साँच्चै यही कुरा खेल्यो, ‘कतै समय त बर्बाद हुँदै छैन ?’
सुरूमा नै उहाँले आफूसँग धेरै समय नभएको भन्दै माफी माग्नुभयो, ‘म धेरैबेर यहाँहरुमाझ हुँदिनँ । केही कुरा मात्र आदानप्रदान गरौँ भनेर आएँ । पछिल्लो पछिल्लो भेटहरुमा धेरै कुराहरु गरौँला । आजलाई केही कुराहरु भन्छु भन्दै उहाँले हातको पन्जा देखाउनु भयो । बालसाहित्य सर्जक हुनका लागि यी पाँच कुराचाहिँ पक्कै हुनु जरुरी छ भन्दै सुनाउनुभयो । उहाँले भन्नुभएको पाँच कुराहरु अहिले पनि मलाई याद छ र अचम्मसँग मनमा बसेको छ । ‘१. उत्कट इच्छा हुनुपर्यो । २. मनसाय बोकेर समाज र पुस्तक दुवैको अध्ययन गर्नुपर्यो । ३. देखेको, भोगेको, सुनेको र कल्पना गरेको चिज लेख्नुपर्यो । ४. लेखेको चिज अरूलाई सुनाउनु/देखाउनु पर्यो र परिमार्जन गर्न धक वा अल्छी मान्नु भएन । ५. विभिन्न छलफल र वर्कसपहरुमा सहभागी हुनुपर्यो ।’ उहाँको यी कुराहरुले मेरो मन बुझ्यो । समय खेरै गएको महसुस भएन । यसमा मलाई अरू कुरा पनि सोध्न मन भयो तर मैले सोधेका कुराहरुलाई सकारात्मक नलिने हो कि जस्तो लाग्यो । हेर्दै घमण्डी जस्तो हुनुहुन्छ । मै हुँ भन्ने खालको पो हो कि भन्ने लाग्यो र केही पनि सोधिनँ ।
त्यसको केही समयपछि मैले उहाँलाई काठमाडौँको माइतीघरमा देखेँ । पहिला टाढैबाट देखेको हुँ । चिनेको मान्छे जस्तो लागेर नजिक गएँ । नियालेर हेरेँ । उहाँ उही यशु श्रेष्ठ हुनुहुँदोरहेछ । उहाँ कसैसँग फोनमा कुरा गरिरहनुभएको थियो । मलाई उहाँसँग बोलौँ कि नबोलौँ भयो । ‘मैले बोलाउँदा बोल्नुभएन भने ! उहाँ त ठूलो मान्छे, हामीलाई वास्ता गर्नु भएन भने ! चिन्नुभएन भने !’ यस्ता कुरा मनमा आए, ‘मैले पो उहाँलाई चिनेँ । त्यत्रो मान्छेको भीडमा उहाँले मलाई कसरी चिन्नु र ! फेरि हेर्दा पनि अलि घमण्डीघमण्डी जस्तो देखिनुहुन्छ ।’ म नबोली आफ्नो बाटो लागेँ । अब मेरो दिमागमा ‘यशु श्रेष्ठ’ भन्ने सर्जक घमण्डी खालको छ भन्ने छाप बस्यो ।
समयले फेरि मलाई उहाँसँग दुई/तीनवटा कार्यशालामा भेट गरायो । त्यतिखेर पनि हामी बीच धेरै भलाकुसारी भएन । उहाँलाई देख्नेबित्तिकै ‘घमण्डी नै होला !’ जस्तो लाग्ने । ‘के बोलिरहनु, आ होस् !’ जस्तो लाग्ने । त्यसैले उहाँसँग कुराकानी नै नहुने ।
विस्तारै म बालसाहित्यमा अलि धेरै कलम चलाउन थालेँ । केही बालपत्रिकामा मेरो कथाहरु छापिन थाले । । केही अग्रजहरुले मलाई नेपाल बालसाहित्य समाज, काठमाडौँको सदस्य बन्ने सल्लाह दिनुभयो । एकदिन म नेपाल बालसाहित्य समाजको कार्यालयमा गएँ । त्यहाँ पुग्दा रिसेप्सनमा बस्ने बहिनीलाई देखें । यताउता हेरेँ । कोही पनि थिएनन् । मैले बहिनीलाई ‘म सदस्य बन्न आएको’ भनेँ । उनले ‘भित्र सर हुनुहुन्छ । भित्रै जानु न ।’ भनिन् । यसो भित्र गएको त यशु सर पो हुनुहुँदोरहेछ । उहाँसँग बोलौँ कि नबोलौं पो भयो । ‘म सदस्य बन्न आएको हुँ । सदस्य बन्छु अनि जान्छु ।’ यस्तो सोचेँ अनि उहाँलाई नमस्कार गर्दै भित्रै गएँ । उहाँले हाँसेर नमस्कार फर्काउनु भयो । कुर्सी देखाउँदै बस्न भन्नुभयो । मैले आपूm आउनुको कारण बताएँ । ‘आफ्नो काम सकाउँछु र हिँड्छु ।’ सोचेकी थिएँ तर उहाँसँगका सार्थक कुरामा एक घण्टा बितेको पत्तै पाइनँ । उहाँले मलाई बालसाहित्यका बारेमा धेरै कुराहरु भन्नुभयो, धेरै कुरा सिकाउनु भयो । एउटा सिकारु मनिसका लागि यो भन्दा ठूलो कुरा के होला र ? जति म उहाँसँग कुरा गर्दै गएँ । मेरो दिमागबाट उहाँ माथिको घमण्डी विशेषण मेटिदै गयो । बिनाबोलचाल र संगत, बाहिरी आवरणलाई हेरेर मैले उहाँको बारेमा जे धारणा बनाएकी थिएँ, सोच्दै हाँसो उठ्यो । अहिले पनि मलाई यो कुरा सम्झँदा हाँसो उठ्छ ।
त्यसपछि यशु सरकै पहलमा एउटा अर्को कार्यशालामा जाने मौका मिल्यो । परिचय प्रकाशनले ‘जैविक विविधता’ सम्बन्धमा बर्दिया जिल्लामा कार्यशाला आयोजना गर्न लागेको रहेछ । कार्यशालामा जाने सहभागीहरुमध्ये उहाँलाई बाहेक कसैलाई पनि चिनेकी थिइनँ । मन दोधारमा थियो तर उहाँको हौसलाले गर्दा आँट आयो । मैले कार्यशालामा जाने नै निर्णय गरें । त्यहाँ पुगेपछि अरुसँग पनि बिस्तारै घुलमिल भएँ । यशु सरले मलाई एउटा अभिभावले भैmँ ख्याल राख्नुभयो । मलाई मात्र होइन, सहभागी सबैलाई एउटा अभिभावकले झैँ ख्याल राखेको देखेर म छक्क परेँ । लेख्ने कुराहरुमा पनि छलफल गरेर सुझाव दिनु हुन्थ्यो । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर सुधारिने बाटो दिनुहुन्थ्यो । उहाँसँगको संगतले बालसाहित्यमा अझैँ तिखारिने मौका पाएँ ।
बर्दियाबाट फर्कँदै गर्दा बाँके जिल्लाको कोहलपुरमा हुने एउटा कार्यक्रममा जानु पर्ने भयो । बालसाहित्य सर्जक प्रमोद प्रधान, अनन्तप्रसाद वाग्ले, यशु सरसँगै म पनि कोहलपुरतिर लागेँ । कोहलपुर पुग्दा रातको आठ बजिसकेको थियो । पूर्णिमा साहित्य परिवारले हामीलाई स्वागत गर्यो । खाना खाएर होटलमा पुग्दा लगभग नौ नै बजिसकेको थियो । सबैजना सुत्नको लागि आआफ्ना कोठातर्फ लाग्यौँ । म पनि मेरा लागि छुट्याइएको कोठामा जान लागेँ । म कोठामा पस्नु भन्दा पहिला यशु सर पस्नु भयो । कोठाको सबैतिर हेर्नुभयो । झ्यालढोकाको चुकुल राम्रोसँग लाग्छ कि लाग्दैन ? कोठाको चारैतिर के कस्तो छ ? भनेर हेरिदिनुभयो । कोठाको झ्यालसँगै अगाडि कौसी पनि थियो । त्यहाँ गएर पनि उहाँले चारैतिर हेर्नुभयो । म उहाँको यो क्रियाकलाप एउटा सानी बालिकाझैं हेरिरहेकी थिएँ । ‘ढुक्कसँग सुत्नुस् है’ भनेर उहाँ जानुभयो ।
बर्दिया गएपछि उहाँलाई मैले अझै राम्रोसँग चिन्ने मौका पाएँ । बालबालिकाको लागि जति राम्राराम्रा कथाहरु लेख्नुहुन्छ, जति राम्रो र आकर्षक ढङ्गले कथावाचन गर्नु हुन्छ । जसरी बालबालिकाहरुसँग घुलमिल हुनुहुन्छ । त्यस्तै उहाँको मन रहेछ भन्ने कुरा थाहा पाएँ । सानै उमेरमा उहाँका सयभन्दा बढी पुस्तकहरु छापिइसकेका छन् । बालसाहित्यमा धेरै प्रयोगहरु गरिसक्नु भएको छ तर मैले यति गरिसकेँ, म यस्तो मान्छे हुँ भनेर घमण्डीपना देखाएको अहिले आभास पाउँदिनँ । सबैसँग सरल भावले घुलमिल भएको देख्दा लाग्छ, सुरुमा देख्दा मात्र उहाँ अलि घमण्डी जस्तो लाग्दोरहेछ, उहाँ त बालसाहित्यजस्तै सरल पो हुनुहुँदोरहेछ । सरल भएर नै सरल किसिमले बालसाहित्य रचना गर्नुहुँदो रहेछ र यसले बालबालिकाको प्रेम पाउँदोरहेछ । उहाँसँगको संगतले मैले लेख्ने बालकथाहरु पनि माझिन पाए । कथालय प्रकाशनदेखि परिचय प्रकाशन होस् वा खोजी प्रकाशन, यी प्रकाशन गृहहरुबाट पुस्तकहरु प्रकाशन गर्नमा प्रेरणा पाएँ । लेखहरु लेख्नका लागि प्रेरणा पाएँ । एक सर्जकसँगको संगतले, एक असल मानिससँगको संगतले कसरी अगाडि बढाउन, असल बनाउन सहयोग गर्दोरहेछ भनेर पनि बुझेँ । मैले पनि आउँदो पिढीलाई यसरी नै सहयोग गर्न पाए ! भन्ने मनमा आइरहन्छ । उमेर वा औपचारिकता वा बाहिरी आवरणले मात्र मानिसलाई आँकलन गर्न नहुनेरहेछ भन्ने पनि चाल पाएँ ।
उहाँ अझै पनि उत्तिकै सक्रियताका साथ बालसाहित्यमा लागिरहनु भएको छ । बालसाहित्यमा योगदान दिइरहनुभएको छ । बालसाहित्यमा उहाँको सक्रियता लोभलाग्दो छ । बालसाहित्यमा अझै उहाँले योगदान दिन सक्नुहोस् । यो सरलपना सधैँ रहिरहोस् । सफलता मिल्दै जाओस्, मनदेखि नै उहाँलाई शुभकामना दिन चाहन्छु






