अन्तत: लत्रिए सिन्डिकेट पक्षधर, यातायात मन्त्रालय र व्यवसायीबीच पाँचबुँदे सहमति

SHARE:

काठमाडौँ । सिन्डिकेट कायम राख्नु पर्ने भन्दै आन्दोलन गर्दै आएको यातायात व्यवसायीहरु अन्तत: गलेका छन् । सरकारको कठोर कदमका बीच सिन्डिकेट हटाउन बाध्य भएका यातायात व्यवसायी महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच यातायात एकाधिकार अन्त्य गर्ने विषयमा सोमबार पाँचबुँदे सहमति भएको छ ।

मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रका जुनसुकै प्रकारको एकाधिकार (सिन्डिकेट) को स्वरुप खारेजी गर्ने सहमति भएको जानकारी गराइयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको उपस्थितिमा आइतबार बेलुकी मन्त्रालयमा भएको वार्ताले सहमति जुटाएको हो । प्रचलित कानूनअनुसार एउटा मात्र सार्वजनिक सवारी भएका धनीले पनि यातायात सञ्चालन गर्न पाउने र सर्वोच्च अदालतले परमादेश जारी गरेअनुसार यातायात क्षेत्रलाई व्यवस्थित बनाउन जाँचबुझ आयोग गठनको प्रक्रिया छिटो अघि बढाउने सहमति भएको छ ।

यातायात व्यवसायीको संयुक्त आन्दोलन मूल समितिले घोषणा गरेका सम्पूर्ण कार्यक्रम फिर्ता लिन दुवै पक्ष सहमत भएका छन् । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन ३० दिनभित्र प्रतिवेदन दिने गरी कार्यदल गठन गर्ने सहमतिसमेत भएको छ । कार्यक्रममा मन्त्री महासेठले लामो समयदेखिको यातायात एकाधिकार अन्त्य गर्न यातायात व्यवसायीले नै सहयोग गरेको बताए । महासंघका बहुसंख्यक सदस्य नै एकाधिकारका विरुद्धमा लागेको उनको भनाइ थियो ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले व्यवसायीले एकाधिकार नभई आलोपालो प्रणालीका आधारमा यातायात सञ्चालन गरेको दाबी गरे । महासंघ र यातायातका कुनै पनि संस्था खारेज नभएको उनको दाबी थियो ।

महासंघ र यातायात संस्थाका खाता बन्द गरिएकाले सोमबारदेखि भएका दुर्घटनाका घाइतेको उपचार व्यवसायीले नगराउने महासंघले जनाएको छ । हाल दुई लाख सार्वजनिक यातायात सडकमा गुड्छन् । नयाँ र पुरानो बसपार्क व्यवस्थित नभए सडकबाटै सवारी चलाउने अध्यक्ष कर्माचार्यले बताए । सहमति भनिए पनि पत्रकार सम्मेलनमा वितरित पाँच बुँदा सम्झौतापत्रमा मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माको मात्र हस्ताक्षर छ । शर्माले पाँच बुँदा पढेर सुनाउनेबित्तिकै मन्त्रालयको हलमा अत्यधिक संख्यामा उपस्थित यातायात व्यवसायीले सहमतिका सबै बुँदा सार्वजनिक नगरिएको भन्दै विरोध जनाए । व्यवसायीलाई अध्यक्ष कर्माचार्य र महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले शान्त गराए ।

कार्यक्रममा मन्त्री आउन केही ढिला हुँदा यातायात व्यवसायी सबै क्षेत्रको एकाधिकार अन्त्य हुनुपर्ने भन्दै चर्को स्वरमा कराएका थिए । निर्धारित समयभन्दा अघि नै पुगेका यातायात व्यवसायीले हल खचाखच भरिएपछि पत्रकार उभिएर सुन्न बाध्य भए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!