मिरपुर । पाकिस्तान प्रशासित कश्मीरको मिरपुरमा मंगलबार गएको भूकम्पमा ४ जनाको ज्यान गएको छ । अधिकारीका अनुसार ५० घाइते छन् । ५.८ म्याग्निच्युडको भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा मिरपुरको राजमार्गमा ठूला धाँजा परेको देखिन्छ भने कपितय भवनहरू ध्वस्त छन् ।
अधिकारीहरुले घटनाबारे पूर्ण विवरण आउन केही समय लाग्ने जनाएको बीबीसीले उल्लेख गरको छ । सन् २००५ मा उक्त क्षेत्रमा आएको शक्तिशाली भूकम्पका काराण हजारौं मानिसको ज्यान गएको थियो । पाकिस्तानका प्रमुख जलवायुविज्ञ मुहम्मद रियाजका अनुसार पृथ्वीको सतहबाट १० किलोमिटर तल भूकम्पको केन्द्रबिन्दु रहेको थियो । उनले भने, ‘यसले मिरपुरमा ठूलो क्षति पुगेको छ ।’ पाकिस्तानी सेनाले भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि ‘आवश्यक औषधिसहित हवाई फौज पुगिसकेको’ जनाएको छ ।
मंगलबारको भूकम्पका झड्का पाकिस्तान र भारतका राजधानी क्रमश: इस्लामाबाद तथा नयाँदिल्लीसम्म पनि महसुस गरिएको थियो ।





