खिम घले
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमण सकेर फर्केका छन् । अघिल्लो आइतबार उनी फर्कनुअघि संयुक्त वक्तव्य निकालिएको थियो । त्यसमा परेका भाषा तथा एकरात दुई दिनको नेपाल बसाईमा उनले जे–जस्ता आत्मीय सम्मान नेपाल पक्षबाट पाए त्यति नै आत्मीय र आशा लाग्दा वचनहरु उनीबाट नेपालीले प्राप्त गरे । उनको भनाईले नेपालीमा केही आशा र अपेक्षाहरु दिएको छ ।
अर्थमन्त्री युवराज खतिवडाका अनुसार यस पटक चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा जेजति सम्झौताहरु भएका छन्, ती सबै अनुदानमा चीन सरकारले बनाइदिने कुराहरु हुन् । त्यसमा ऋण वा नेपाली पक्षको दायित्व छैन ।
यसमा विशेष गरेर केरुङदेखि काठमाडौंसम्मको रेलमार्गका लागि गरिने संभाव्यता अध्ययन रहेको छ । नेपालीहरुको रेल सपना हो । यस विषयमा नेपाली जनमत विभाजित पनि छ । कतिपय मानिसहरु यसलाई नेपालका लागि सेतो हात्तीको संज्ञा दिन्छन् । उनीहरु यलाई ऋणको पासो पनि भन्छन् । यसले नेपाललाई ऋणमा डुबाउने तर नेपालका लागि कुनै किसिमको फाइदा नदिने तर्क उनीहरुको रहँदै आएको छ । विशेष गरेर प्रतिपक्षी कांग्रेस र उसलाई समर्थन गर्ने बुद्धिजीवीहरुको तर्कमा यसले नेपाललाई ऋणको भासमा मात्र डुबाउने छ ।
तर, राष्ट्रपति सीको भ्रमणको क्रममा नेपाल र चीनबीच यसको बिस्तृत अध्ययन गर्ने (भाषामा संभाव्यता अध्ययन उल्लेख गरिएको) भनिएको छ । यो अध्ययनको खर्च पनि चीन सरकारले नै व्यहोर्नेछ । तर, यसको समयसीमा भने तोकिएको छैन । नेपाली अधिकारीहरुका अनुसार यसको कारण यसमा रहेको चुनौती हो । कति समय लाग्छ भन्ने कुरा यकिन गर्न सकिने अस्थामा छैन । त्यसैले यसको समयसीमा तोकिएको छैन । तर तत्काल सुरु गरिने उल्लेख छ ।
दोस्रोमा सुरुङ मार्गसहितको बाटोको सम्झौता भएको छ । केरुङबाट सामान ल्याउने रसुवा स्याफ्रुबेंसीदेखि काठमाडौंसम्मको बाटो राम्रो नुहँदा अहिले सास्ती खेप्नु परेको छ । त्यसैले यो बाटो बनाउनु अनिवार्य छ । अहिले नेपाल र चीनबीच सुरुङसहित यो बाटो फराकिलो बनाउने सम्झौता भएको छ । यसले नेपालीहरुमा आशा पलाएको छ । यसले गर्दा आयात र निर्यात दुवैको लागि सजिलो बनाउने छ ।
चिनियाँ पक्षले विगतदेखि नै नेपालसँगको सम्बन्धमा कनेक्टिभिटीलाई जोड दिंदै आएको छ । हुन पनि व्यापारमा जोड दिने चिनियाँ मोडलमा कनेक्टिभिटी प्राथमिकतामा पर्छ । यसले नै मानिसको आवातजावतदेखि सबै खाले आयात र निर्यातलाई सहज बनाउँछ । यही कारण राष्ट्रपति सीको भ्रमणमा पनि रेल र सडकले सबैभन्दा धेरै प्राथमिकता पायो ।
यसका अलावा पनि धेरै सम्भौता, सहमति र समझदारीहरु भए, ति नेपालका लागि निक्कै महत्वपूर्ण छन् । त्यसैको जगमा हामीले अघि बढ्न सकिने ठाउँहरु छन् । उपत्यकाको खानेपानी व्यवस्थापनका लागि दिइने एक अर्व रुपैयाँ, तीन वर्षमा दिन लागिएको ५६ अर्व रुपैयाँ अनुदानलगायतका कुरा नेपाली पक्षले अनुदानका रुपमा पाउने कुराहरु हुन् ।
यसका अलवा पनि राष्ट्रपति सीको भ्रमणले नेपाललाई धेरै विषयहरुमा आशा र भरोसा दिलाएको छ । जस्तै, उनको भ्रमणले नेपाल सरकार र सुरक्षा निकायहरुको दक्षतामा भरोसा गर्न सकिने अवस्था दिएको छ । खासमा संसारकै शक्तिशाली मध्येका एक राष्ट्रपति सीको भ्रमण यसअघि पटक पटक सर्नुमा नेपालको सुरक्षा अवस्था नेपाल सरकार र सुरक्षा निकायको आत्मविश्वासमा भएको कमी हो भन्ने बुझाई सर्वत्र थियो । यद्यपी त्यसमा कतिको सत्यता थियो भन्न सकिने अवस्था छैन । सीको भ्रमणको त्यो प्रचार र लगुताभासलाई अन्त्य गरेको छ । आत्मविश्वास बढाएको छ ।
त्यसैगरी नेपालको उत्तरी छिमेकबाट हुन सक्ने पर्यटनको बृद्धि अर्को पक्ष हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा मुक्तिनाथ गए र उनले त्यहाँ पुजाआज गरे । यसले भारतीय धार्मिक पर्यटकको संख्या ह्वात्तै बढायो । अझै भारतीयहरु नेपाल आउने पर्यटक मध्येसबैभन्दा उच्च छ । बिशेष गरेर मुक्तिनाथ आउनेहरुको संख्या बढेको छ ।
नेपाल सरकारले पर्यटनलाई नेपाली अर्थतन्त्रको मुख्य आधार मानेको छ । त्यसैले छिमेकी मुलुकहरुसँगको पर्यटनलाई पनि उच्च प्राथमिकतामा राखेको छ । तर, विश्वकै सबैभन्दा ठूलो पर्यटनको स्रोत मुलुक चीनबाट नेपालमा भने सोचे जस्तो ठूलो संख्यामा पर्यटकहरु आएका छैनन । यसपाली राष्ट्रपति सीको भ्रमण र उनले पर्यटनमा जोड दिएबाट के बुझ्न सकिन्छ भने उनी यस क्षेत्रमा सहयोग बढाउन चाहन्छन् ।
उनले आउनु अघिको आफ्नो लेखमा र नेपाल आएपछि आफ्नो सम्बोधनमा पनि नेपाल भ्रमण वर्ष २०२० को समर्थन गर्दै आफ्ना देशका नागरिकहरुलाई धेरै भन्दा धेरै नेपाल भ्रमणको लागि प्रोत्साहित गरिने उल्लेख गरेबाट यो स्पष्ट हुन्छ । भरखरै मात्र खुला हुँदै गएको चीन र चिनियाँ जनताको लागि सरकारी निर्देशन र अझ मुलुकको सबैभन्दा उच्च ओहोदाका व्यक्तिको भनाई आकाट्य छ । उनीहरु सरकार र सरकारी अधिकारीहरुको मार्गनिर्देशलाई मान्छन् । यस्तो अवस्थामा राष्ट्रपति सीको यो भनाईले धेरै चिनियाँहरुले नेपाल घुम्न लायक र भ्रमण गर्न लायक देशको रुपमा लिने संभावना छ । बर्षेनी करोडौंको संख्यामा घुम्न बाहिर निस्कने चिनियाँहरुको थोरै प्रतिशतले मात्र नेपाल छान्ने हो भने पनि नेपालका लागि यो अत्याधिक खुसीको कुरा हुनेछ र सीको भ्रमणले यो संभावनाको ढोका खोलेको छ ।
संभवत सी भ्रमण र भनाईको असर पनि हुन सक्छ । शनिबार मात्र चर्चित चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्षको सद्भावना दूत नियुक्त भएकी छन् । चीनमा मात्र होइन, हलिउडमा समेत प्रभाव जमाएकी करोड भन्दा धेरै चिनियाँहरुले बीइबोमा पछ्याएकी अभिनेत्रीको संलग्नताले चिनियाँ पर्यटकमा सकरात्मक असर पर्ने कुरामा दुई मत छैन । अझ उनले पोखरा गएर फेवातालमा डुंगा सयर गरेको र अल्ट्रलाइटमा आकास घुमेको उनका चिनियाँ फ्यानले देख्नेछन् त्यसले नेपाली पर्यटनको बजार बिस्तारमा भूमिका खेल्नेछ ।
त्यसैगरेर नेपालीहरुमा भूपरिवेष्टित भएकोमा लघुताभास थियो र छ । त्यसलाई पनि धेरै हदसम्म राष्ट्रपति सीले हटाएका छन् । खासमा भारतसँग मात्रको आवतजावत वा कनेक्टीभिटीमा भर पर्नुपर्दा बेला बेला आफू भूपरिवेष्टित भएको कुरामा नेपालीहरुलाई अति धेरै लघुताभासको अवस्था थियो । तर, राष्ट्रपति सीले यसअघि भएको पारवाहन सन्धीको कुरा उठाउँदै नेपाल भूपरिवेष्टित होइन, भू–लिंक देश हो भन्ने कुरामा जोड दिए । साथै हवाई मात्र होइन, नेपाललाई सामुन्द्री बाटो दिने प्रतिबद्धता जनाए । भारतले सामुन्द्रसम्मको बाटो नदिएको अवस्थामा चीनले त्यो दिन्छु भन्दै भूपरिवेष्टित होइन, भू–लिंक देश हो, यसको सार्थकताको लागि सहयोग गर्छु भन्नु नेपाल र नेपाली जनताको लागि ठूलो भरोसा हो ।
हामी नेपालीहरुमा तत्काल परिणाम खोज्ने बानी छ । त्यही बानीका कारण हामी दीर्घकालमा हुने फाइदालाई नजरअन्दाज गर्ने गर्छौं । तर, राष्ट्रपति सीको यो भनाई र प्रतिबद्धता तत्कालका लागि नेपालीको मनोवल बढाउन अति महत्वपूर्ण छन् भने दीर्घकालमा साँच्चि नै नेपाललाई बाहिरी विश्वसँग आफ्नै बन्दरगह मार्फत समुन्द्री सञ्जालको लागि सक्षम बनाउने छ ।
दक्षिण एसियाको एउटा सानो मुलुकको रुपमा नेपालले छिमेकी मुलुकहरु भारतबाट सधै हेपाईका अनुभूति र चीनको तर्फबाट सधै बेवास्तताको महसुस गर्दै आएको थियो । भारतसँगको मात्र निर्भरताले नेपाली र नेपाललाई बेला बेला आत्मग्लानी दिएको थियो भने चीनसँगको सम्बन्धमा रहेको चिसोपनका कारण वेवास्तता महसुस हुने गरेको थियो । तर अहिले राष्ट्रपति सीको भ्रमणले नेपाल र नेपालीमा एउटा गर्वको अनुभूति दिलाएको छ । एकतिर यसले भारतले बेलाबेला गर्ने हेपाह प्रबृत्तिमा सुधार हुने आशा पलाएको छ भने अर्कोतिर छिमेकमै रहेर पनि टाढाको जस्तो व्यवहार गर्ने चीनको व्यवहारमाा परवर्तनको अपेक्षा बढेको छ ।






