ढाका । बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी नगरमा १९ वर्षीया नुसरत जहान रफीको जलाएर हत्या गरिएको थियो ।
नुसरतले एक शिक्षकले आफूलाई यौन दुरव्यवहार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दा फिर्ता लिन अस्विकार गरेपछि उनको जलाएर हत्या गरिएको बताइएको छ ।
सो हत्यामा प्रधानाध्यापक बाहेक उनका दुई सहपाठी छात्राको पनि संलग्नता भएको अदालतले ठहर गरेको छ । नुसरत मृत्युको घटनाले बङ्लादेशलाई स्तब्ध बनाएको थियो । त्यसपछि उनको न्यायको माग गर्दै शृखला वद्धरुपमा प्रदर्शन भइरहेका थिए । यस्ता खालका मुद्दाको टुङ्गो लाग्न वर्षौँ लाग्ने गरेको बङ्लादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समयभित्रै फैसला गरेको समाचारमा जनाइएको छ ।
न्यायाधीस अहमदले समाचारदातासँग अदालतको यो फैसलापछि बङ्गलादेशमा हत्या गरी सहजै उम्किन नसक्ने तथ्यलाई प्रमाणित गरिदिएको बताएका छन् ।






