अभिव्यक्ति शृङ्खला १७औँ संस्करणमा पूर्वगोर्खा सैनिक चिम्खोले काईला

SHARE:

केदार संकेत – बेलायत।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको ‘अभिव्यक्ति शृङ्खला’ को १७औँ संस्करण यस वर्ष पूर्वगोर्खा सैनिक तथा स्रष्टा डा. दूतबहादुर पुन (चिम्खोले काइँला) लाई केन्द्रमा राखेर सम्पन्न गरेको छ। शनिबार अल्डरसटस्थित सुसीमोटो हलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष टंक वनेमको अध्यक्षता तथा वरिष्ठ गीतकार एकेन्द्र गुरुङको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा चिम्खोले काइँलाले करिब एक घण्टासम्म आफ्ना विविध विधाका साहित्यिक सिर्जनाहरू प्रस्तुत गर्दै उपस्थित दर्शक–श्रोतालाई गहिरो भावानुभूतिमा डुबाएका थिए।

उनले ‘बुढो लाहुरे’, ‘युकेको जिन्दगी’, ‘थाहा छैन आफैँलाई केले खाने हो’, ‘राष्ट्रियताका लागि डम्फु बजाउने नेताहरू’, ‘मान्कान्त हाम्रो घर’, ‘चाखियो’ र ‘गोर्खेले सकेकै हो’ लगायतका आठवटा कवितामार्फत युद्ध साहित्य, गोर्खा सैनिकको जीवन, आप्रवासी नेपालीको संघर्ष, राष्ट्रिय चेतना, सामाजिक विसङ्गति तथा मानवीय संवेदनालाई सशक्त ढङ्गले अभिव्यक्त गरे। कविताका अतिरिक्त उनले तीनवटा गजल, तीनवटा मुक्तक, तिनवटा गीत र छवटा हाइकु समेत वाचन गरेका थिए भने उनका सिर्जनामा आधारित केही गीतका म्युजिक भिडियो प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक र विविधतापूर्ण बनाएको थियो।

कार्यक्रममा विभिन्न सामाजिक, सांस्कृतिक तथा साहित्यिक सङ्घ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतिष्ठानका पूर्वअध्यक्षहरू रक्ष राई, गणेश राई र दयाकृष्ण राईसहित कवि एवम् यात्रासंस्मरणकार केदार सङ्केत, कवि तथा पर्यावरण साहित्य अभियन्ता विजय हितान, कवि तथा आख्यानकार लीला सेलिङ, कवि अन्जु अन्जली, मुक्तककार गोमा गुरुङ, कवि देवेन्द्र खेरेस र गजलकार मिजास तेम्बे लगायत बेलायतमा क्रियाशील धेरै नेपाली स्रष्टाहरू कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि, समाजसेवी, राजनीतिककर्मी, पत्रकार लगायत धेरैको सहभिगी रहेको थियो।

पूर्व गोर्खा सैनिकसमेत रहेका चिम्खोले काइँलाका सिर्जनाहरूले सैनिक जीवनका अविस्मरणीय अनुभूति, युद्ध र कर्तव्यबीच बितेका कठिन क्षण, गोर्खा सैनिकहरूले दशकौँदेखि भोग्दै आएका विभेद र असमानताका पीडादायी अनुभव, बेलायतमा नयाँ जीवनको खोजीसँगै सामना गर्नुपरेका संघर्ष, नेपालको समकालीन सामाजिक–राजनीतिक यथार्थप्रतिको असन्तुष्टि तथा मानवीय प्रेम, सम्बन्ध र जीवनका रोमान्टिक संवेदनाहरूलाई अत्यन्तै प्रभावशाली ढङ्गले उजागर गरेका थिए। उनका रचनाहरूमा व्यक्तिगत अनुभूति मात्र सीमित नभई समग्र समाजको पीडा, आप्रवासी नेपालीहरूको जीवनसंघर्ष र न्याय तथा समानताको आकाङ्क्षा पनि सशक्त रूपमा अभिव्यक्त भएको पाइन्थ्यो। यही कारण उनका सिर्जनाले कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूलाई भावुक मात्र बनाएनन्, जीवन, समाज र समयका विविध आयामबारे गम्भीर रूपमा सोच्न, आत्ममन्थन गर्न तथा समसामयिक विषयहरूमाथि अर्थपूर्ण विमर्श गर्न समेत प्रेरित गरे।

कार्यक्रमको प्रारम्भमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका उपाध्यक्ष देवेन्द्र खेरेसले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यले समाजलाई जोड्ने, संस्कृतिको संरक्षण गर्ने तथा नयाँ पुस्तामा सिर्जनात्मक चेतना जगाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको निरन्तरताका लागि प्रतिष्ठानले यस्ता साहित्यिक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको उनले बताए। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अर्का उपाध्यक्ष मिजास तेम्बेले सहज, सजीव र आकर्षक शैलीमा गरेका थिए, जसले सम्पूर्ण कार्यक्रमलाई थप व्यवस्थित र रोचक बनाएको थियो। अन्त्यमा अध्यक्ष टंक वनेमले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रतिष्ठान निरन्तर सक्रिय रहेको उल्लेख गर्दै प्रवासमा रहेका नेपाली स्रष्टाहरूलाई सिर्जनात्मक अभिव्यक्तिका लागि मञ्च उपलब्ध गराउँदै आएको बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!