काठमाडौं । हङकङमा महिनौदेखि जारी सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्मकै ठूलो र्याली निकालिएको छ । गत अगस्टबाट सुरु भएको आन्दोलनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदै कयौंको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।
६ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानवअधिकारवादी संस्थाहरु र लोकतन्त्र समर्थकहरुको मोर्चाले निकालेको र्यालीमा हजारौं सर्वसाधारण सहभागी भएको बीबीसीले जनाएको छ । र्यालीमा करिब दुई लाख सर्वसाधारण सहभागी भएको बताइएको छ ।
जुलुसमा सहभागीमध्ये ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरुको साथबाट एकथान पेस्तोलसमेत बरामद भएको बताइएको छ ।
विवादास्पद सुपुर्दुगी विधेयक ल्याउने सरकारको निर्णयको बिरोधमा सुरु भएको आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।
विरोध प्रदर्शन हुनुअघि सरकारी अधिकारीहरुले विज्ञप्ती जारी गरेर शान्त रहने आह्वान गरेका थिए । सरकारले विवादमा आएको सुपुर्दुगी सम्बन्धी विधेयक फिर्ता लिएपनि आन्दोलन भने टुंगिएको छैन ।
आन्दोलनकारीले आफूहरुका माग पूरा गर्न हङकङ सरकारलाई अन्तिम अवसर रहेको बताएका छन् । उनीहरुले आन्दोलनका क्रममा पक्राउ परेका नागरिकको बिनासर्त रिहा र स्वतन्त्र निर्वाचनको माग गरेका छन् ।
यसअघि भएका प्रदर्शनहरु हिंसात्मक भएको र सरकारी तथा सार्वजनिक सम्पतिमाथि तोडफोड भएको भन्दै कानुनको शासनको पालना गर्न प्रहरीले आन्दोलनकारीसँग आग्रह गरेको थियो ।






