
लन्डन । पत्रकार नवीन पोखरेल ‘वेस्ट मिडिया पर्सनालिटी अवार्ड’ बाट सम्मानीत भएका छन् ।
मिडिया प्रोडक्सन हाउस ‘ह्याब अ मोमेन्ट’ बेलायत ले शनिबार साँझ एक कार्यक्रम गरी पत्रकार पोखरेललाई सो अवार्डबाट सम्मान गरेको हो । पोखरेल नेपालको लोकप्रिय कान्तिपुर राष्ट्रिय दैनिक र टेलिभिजनका लागि यूके संवाददाता हुन् ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार रहेका पोखरेल बेलायतबाट सञ्चालित वीनेपाली अनलाइनका प्रमुख सम्पादक समेत छन् । गैरआवासीय नेपाली संघ यूकेका सल्लाहकार रहिसकेका पोखरेलले बेलायतवासी नेपाली तथा नेपाली संघसंस्थाको आवाजलाई पत्रकारिताको माध्यमबाट प्रस्फुटन गर्दै आएका छन् ।
लमजुङ सुन्दर बजार निवासी पोखरेल सन् २००६ देखि बेलायतमा छन् । सरल अनि नम्र स्वभाव तर कडा परिश्रम रुचाउने पोखरेल आफ्नो पेसा र कर्तव्यप्रति कटिबद्ध छन् ।
उनले प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गरिसकेका छन् । उनको कार्यकुशलको मूल्यांकन गर्दै सन् २०१७ मा एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै नेपाली दूतावास लन्डन, नेपाली साहित्य विकास परिषद् यूके, एनआरएनए यूके, तमु समाज यूके, मिस नेपाल यूके टिम लगायतबाट सम्मानीत भइसकेका छन् ।







