
बग्दाद । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै मंगलबार बिहान तीन वटा रकेट प्रहार भएको छ । बग्दाद प्रहरीका अनुसार अमेरिकी दूतावासनजिकै तीन वटा कात्युशा रकेट प्रहार गरिएको हो ।
बीबीसी संवाददाता नफिसे कोन्वार्डका अनुसार अमेरिकी दूतावासनजिकै रकेट प्रहार भएपछि साइरन बजेको थियो । उनका अनुसार माइकिङ गर्दै सबैलाई सुरक्षित ठाउँमा सेल्टर लिन आग्रह गरिएको थियो ।
इराकी प्रहरीका अनुसार सरकारी भवन र कुटनीतिक नियोग रहेको ‘ग्रीन जोन’ मा जफरनियाँ जिल्लाबाट रकेट प्रहार गरिएको थियो । तीनवटामध्ये दुइटा रकेट अमेरिकी दूतावासनजिकै खसेको थियो। रकेट प्रहारबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।अमेरिकाले इरानले रकेट प्रहार गरेको आरोप लगाए पनि यसको आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन।
जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानी जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव सिर्जना भएको छ ।






