लन्डन । एनआरएनए यूकेका निवर्तमान उपाध्यक्ष शेरबहादुर सुनारले सल्लाहकार पद अस्वीकार गरेका छन् ।

सुनारले विज्ञप्ति जारी गर्दै संस्थालाई करोडौं भ्रष्टाचार भएको आरोप लागेकाले छानबिन गरी सत्यतथ्य बाहिर नल्याएसम्म जिम्मेवारीमा नबस्ने जानकारी गराएका हुन् । ‘कुनै पनि संगठनमा आर्थिक पारदर्शीतामा प्रश्न उठ्छ भने त्यहाँ छानबिन हुन जरुरी छ । तसर्थ, यथाशक्य छिटोभन्दा छिटो छानबिनका लागि एक स्वतन्त्र र उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर नल्याएसम्म मैले एनआरएनए यूकेको सल्लाहकारको जिम्मेवारीमा बस्न नसक्ने कुरा यसै विज्ञप्तिमार्फत एनआरएनए यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङ लगायत एनआरएनए युकेका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरुमा हार्दिक अनुरोध गर्न चाहन्छु’ उनले विज्ञप्तिमा लेखेका छन् ।
केही दिनअघि एनआरएनए यूकेले निवर्तमान उपाध्यक्ष सुनारसहित विभिन्न संघसंस्थामा आबद्ध १६५ जनालाई सल्लाहकारमा मनोनयन गरेको थियो ।
निवर्तमान अध्यक्ष योगकुमार फगामी, पुनम गुरुङ र आफू उपाध्यक्ष रहेको सन् २०१७–२०१९ को कार्यससमितिमाथि ४ करोड हिनामिना भएको आरोप लागेकाले सो समयको हिसाबकिताबको खोजबिन गर्नु र सत्यतथ्य बाहिर ल्याउनु आफ्नो पनि कर्तव्य भएको उल्लेख गर्दै सुनारले सर्वसाधारण नेपालीहरुबाट जम्मा पारिएको करौडौं रुपैयाँमाथि भएको भ्रष्टाचारको जबसम्म पूर्ण रुपमा छानबिन गरिँदैन तबसम्म सल्लाहकार पदमा बस्न नसक्ने प्रस्ट्याएका छन् ।
साथै, नवनियुक्त सबै सल्लाहकारहरुले पनि जिम्मेवारी सम्हाल्नुअघि भ्रष्टाचारको निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आवश्यक भएकोतर्फ ध्यान दिने अपेक्षा उनको छ ।
तत्कालीन उपाध्यक्ष सुनारले तत्कालीन नेतृत्व फगामीले आपूmखुसी संस्थाको खर्च गरेको अहिलेको समस्या निम्तिएको बताएका छन् । ‘म कार्यसमितिको उपाध्यक्ष भए तापनि तत्कालीन अध्यक्ष फगामीज्यूले कार्यसमितिको बैठकबाट निर्णय गरी आवश्यक ठाउँमा मात्र नियमानुसार खर्च गर्नुपर्नेमा त्यसो नगरी, आफ्नो इच्छानुसार खर्च गर्नुले पनि आर्थिक पारदर्शितामाथि शंका उब्जिएको हो’, उनको विज्ञप्तिमा लेखिएको छ, ‘१४ हजारभन्दा बढी पञ्जिकृत सदस्य भएको एनआरएनए यूकेमा यस्ता आर्थिक अनियमितताको विषय बाहिर आउनु र त्यस्तो भ्रष्टाचारको छानबिन नगरी ढाकछोप गर्न खोज्नुले सिंगो बेलायतवासी नेपालीहरुको सम्मानमा चोट पुगेको छ ।’






