काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएएन) बेलायतका अध्यक्ष पुनम गुरुङको यसपटकको नेपाल भ्रमण व्यस्तताका बीच बित्यो । सफल पोखरा म्याराथनमा सहभागी हुन आएका उनी राजनीतिक शिष्टाचार भेटघाटदेखि समुदायगत संस्थाहरुको स्वागत सम्मानमा पनि व्यस्त रहे ।

एकपटकको नेपाली सधैको नेपाली अभियानलाई सार्थक पार्न उनको राजनीतिक भेटवार्ता व्यापक थियो । उनले उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड लगायतका उच्च राजनीतिक व्यक्तित्वहरुसित समेत भेट गरी एनआरएनए अभियानबारे ध्यानाकर्षण गराउने काम गरे ।
लामो समयको अन्तरालमा आफ्नो थन्मथलो पुगेकी पुनम भावुकसमेत भइन् । उनले खेलेको भूमिमा टेक्दा, आफू हुर्केको घरको दुरावस्था देख्दा उनको आँखा रसाए । काठमाडौं र पोखराका विभिन्न तमू संघसंस्थाको स्वागत सम्मानमा उनले नेपाल भ्रमणको दुई साता बिताइन् । ‘नेपाल भ्रमण उपलव्धीमुलक बन्यो’ बेलायत फर्कनुअघि एभरेष्ट टाइम्ससँग कुराकानी गर्दै उनले भनिन्, ‘सफल पोखरा म्याराथनदेखि उच्च व्यक्तित्वहरुसँगको भेट र साथले हामी खुशी भएका छौं ।’

सुध्रेको नेपाल
करिब एक वर्षपछि नेपाल भ्रमणमा आएका अध्यक्ष गुरुङले नेपाल धेरै सुध्रेको अनुभव गरे । काठमाडौं एयरपोर्ट प्रवेशसँगै उनले त्यस्तो अनुभूति गरेका हुन् । विभिन्न स्थानमा बनेको बाटो होस, रेष्टरेन्ट र होटलहरुले दिने आतिथ्यताबारे पनि उनले विगतमा भन्दा फरक अनुभूति गरिन् ।

‘काठमाडौं एयरपोर्ट सफा सुग्घर धेरै राम्रो भएको छ’ उनले नेपालमा सुधार देखिएको अनुभव यसरी सुनाए, ‘गरे हुने रहेछ भन्ने उदाहरण बनेको अनुभव भयो । काठमाडौं एयरपोर्टदेखि नै सकारात्मक भावनाको विकास हुने रहेछ । धेरै राम्रो देखियो । काठमाडौंमा धुँवा धुलो पनि कम भएको जस्तो लाग्यो । सडक पनि सफा छ । विभिन्न व्यक्ति र संस्थाहरुमा पनि परिवर्तनको अनुभूति भयो मलाई । पाहुनाको स्वागत सम्मान गर्ने नेपाली संस्कार झन सुध्रिएको जस्तो । नेपाल आउँ आउँ लाग्ने पो भएछ ।’ नेपालको राजनीतिक स्थायित्वको कारण पनि यो परिवर्तन भएको उनको ठम्याइ छ ।
राजनीतिक रुपमा देखिएको अस्थिरतालाई चिर्दै नेकपाको नेतृत्वमा स्थायी सरकार भएपछि काम प्रभावकारी बढेको अनुभूति उनले गरेका छन् । यसले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने अपेक्षा उनको छ ।
नेताहरुसँगको भेटवार्ता
अध्यक्ष गुरुङले एनआरएनए युकेले उठाउँदै आएको विभिन्न सवालहरुबारे जानकारी दिँदै गम्भीर रुपमा उठाउनुपर्ने विषयवस्तुहरुलाई नेताहरुको ध्यानाकर्षण गराएका छन् । भेटका अवसरमा उनले नागरिकता निरन्तरता र ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुमाथि हुँदै आएको विभेदबारे प्रमुख एजेण्डाका रुपमा उठाएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ लगायतसँग उनले भेटवार्ता गरेका थिए ।
भेटका अवसरमा सबै नेताहरुसँग एनआरएनए र गोर्खा भूपूहरुका लागि नागरिकता निरन्तरता हुनुपर्ने माग अध्यक्ष गुरुङले राखे । उनले ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने नाराको स्मरण गराउँदै एनआरएनए र गोर्खा भूपूहरुको नारिकता निरन्तरता हुनुपर्नेमा जोड दिए । नागरिकता निरन्तरता हुँदा नै विश्वमा छरिएर रहेका नेपालीहरुले आफ्नो देशमा सहज रुपमा लगानी, सीप र दक्षता भित्र्याउन सक्ने बताए ।
अध्यक्ष गुरुङको मागप्रति सहमति जनाउँदै नेताहरुले संविधानको भावनाअनुसार सबैको माग सम्बोधन हुने जानकारी दिए । उनीहरुले नेपालीहरु कोहीप्रति पनि विभेद नगरिने समेत बताए । नेकपा अध्यक्ष प्रचण्डले त एनआरएनए र गोर्खा भूपूहरुका समस्या समाधानका लागि आफू लागिरहेको समेत बताए । एनआरएनएको सबैभन्दा ठूलो शाखा बेलायतमा पहिलो महिला अध्यक्ष भएकोमा खुशी व्यक्त गर्दै नेताहरुले अध्यक्ष गुरुङलाई सफलताको शुभकामना र बधाई दिएका थिए ।
तमू ह्युल र चार भञ्ज्याङको सम्मान
नेपाल भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायतका अध्यक्ष पुनम गुरुङलाई तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद र चार भञ्ज्याङ तमू समाज काठमाडौंले स्वागत र सम्मान गरेको छ ।
सफल पोखरा म्याराथन प्रतियोगितामा सहभागी हुन नेपाल आएका अध्यक्ष गुरुङलाई दुवै संस्थाले खादा, माला र दोसल्ला ओढाएर सम्मान गरे । तमू समुदायका चेलीले एनआरएनए युके जस्तो ठूलो संस्थामा पहिलो महिलाका रुपमा अध्यक्षको जिम्मेवारी प्राप्त गरेको भन्दै ती संस्थाहरुले सफलताको शुभकामना दिँदै सम्मान गरेको हो ।
सम्मान गर्दै तमू ह्युला छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले एनआरएनएको सबैभन्दा ठूलो राष्ट्रिय समन्वय समिति (एनसीसी) बेलायतको अध्यक्षमा निर्वा्चित भएकोमा आफूहरुलाई गौरव लागेको बताए । त्यस्तै, चार भञ्ज्याङ तमू समाज काठमाडौंका अध्यक्ष क्या. नारायण गुरुङले चार भञ्ज्याङको चेलीले एनआरएनए बेलायतको अध्यक्ष जस्तो गरिमामय पदमा विजय हुनुले आफूहरुको खुशीको सीमा नै नरहेको बताए । सम्मान कार्यक्रम दुवै संस्थाको आआफ्नै भवनमा भएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै एनआरएनए युकेका अध्यक्ष पुनम गुरुङले समाजसेवाका पवित्र उद्देश्यले आफू अघि बढेको भन्दै समाजका लागि सक्दो सहयोग गर्ने बताए । निरन्तर नागरिकताको अभियानमा आफूहरु लागेको भन्दै उनले समाजहरुले समेत अभियानमा सहयोग गरिदिन अनुरोध गरे ।
गोरखा भूतपूर्व सैनिकहरु त्रिपक्षीय सम्झौता अनुसार भर्ना भएका र सोही अनुसार नै उनीहरु बेलायतमा बसोबास गरिरहेकाले उनीहरुको नागरिकता निरन्तर हुनुपर्नेमा अध्यक्ष गुरुङको जोड थियो ।
सोही अवसरमा अध्यक्ष गुरुङले चार भञ्ज्याङ तमू समाज काठमाडौंको आजीवन सदस्य बन्दै एक लाख रुपैयाँ हस्तान्तरण गरे ।
माइती गाउँमा पुनम
एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङ आफ्नो जन्मथलो कास्कीको विजयपुर पुगेकी छिन । पोखरा महानगरपालिका वडा नं १३ विजयपुर पाँचथरमा पुग्दा गुरुङलाई स्थानीयले भब्य स्वागत गरेका थिए । एनआरएन युकेको अध्यक्षमा निर्वा्चित भएपछि सोममार माइती गाँउ पुगेकी पुनम गुरुङसहितको समुहलाई विजयपुर आधारभुत विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी भब्य स्वागत गरिएको थियो ।
अध्यक्ष गुरुङको टोली गाँउ प्रवेश गरेसँगै पञ्चेबाजासहित गाँउले र विद्यार्थीहरुले फूलमाला र खादाले स्वागत गरेका थिए । विजयपुर आधारभुत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङलाई विजयपुर आधारभुत विद्यालय परिवार, पोखरी गाँउको चण्डेश्वरी आमा समुह र माइती खलक म्रोम्जो कोने घोताने परिवारले सम्मान गरेको थियो ।
कार्यक्रममा गुरुङले आफ्नो बाल्यकालको स्मरण गर्दै माइती गाँउबासीको माया र आर्शिवाद, आफ्ना अभियन्ता तथा सहयोगीहरुको अमुल्य सहयोगले एनआरएन युकेको पहिलो महिला अध्यक्ष हुने शौभाग्य मिलेको बताईन । विजयपुर आधारभुत विद्यालयमा विद्यार्थीको आकर्षणका लागि शिक्षकलाई तालिम, शिक्षामा प्रविधी, शैक्षिक वातावरणका लागि अभिभावकको साथ सहयोगको आवाश्यकता रहने बताउँदै एनआरएन युकेकी अध्यक्ष गुरुङले विद्यालयमा कम्प्युटर शिक्षा शुरुवात गरे सहयोग गर्ने बाचा गरिन् ।
त्यस्तै, विद्यालयको शैक्षिक विकासका लागि आफ्ना स्वर्गीय बाजे क्या.बिर्ता्सिंह गुरुङको नाउँमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरिन । विसं.२०१२ सालमा स्थापित बिजयपुर आधारभुत विद्यालय २८ रोपनीमा फैलिएको छ । यो विद्यालयमा नर्सरीदेखि कक्षा ७ सम्म पठनपाठन भइरहेको छ भने ४९ जना विद्यार्थी अध्ययनरत छन् ।
म्याराथनमा एनआरएनए युकेको साथ
सफल पोखरा म्याराथन देश तथा विदेशबाट सहभागिता रह्यो । अझ म्याराथनको पहिलो उपाधि नै जापानका धावकले जिते ।
विगतदेखि नै साथ दिँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले यसपटक पनि साथ दिए । अझ स्वयम अध्यक्ष पुनम गुरुङ नै म्याराथनमा सहभागी भए । सोही अवसरमा एनआरएनए युकेको तर्फबाट एक लाख रुपैयाँ समेत सहयोग गरे । सफल पोखरा म्याराथनलाई सहयोग गर्न आफूहरु यसपटक पोखरा आएको अध्यक्ष गुरुङले बताए ।
एनआरएनए युकेको तर्फबाट अध्यक्षसहित संरक्षक मेजर डमर घले, प्रवक्ता रामकुमार गुरुङ, तमू प्हे ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिँ युकेका उपाध्यक्ष जुमकाजी गुरुङ लगायतको सहभागिता थियो । सल्लाहकारहरु मानप्रसाद गुरुङ, बाचस्पति रेग्मी, नरजंग गुरुङ, सुस्मिता राई, मञ्जु गुरुङ राई, योगेश गुरुङ, महेश गुरुङ, डा. चन्द्र गुरुङ लगायतको पनि सहभागिता थियो ।






