लन्डन । बेलायती प्रधानमन्त्री किर स्टार्मरले हर्मुज जलघाँटीमा सुरक्षित र स्वतन्त्र जलयातायात पुनःस्थापित हुनुपर्नेमा जोड दिएका छन् ।
अमेरिका र इरानबीच शान्ति सम्झौता तथा सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने सहमति सार्वजनिक भएपछि प्रधानमन्त्री स्टार्मरले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले बेलायत समुद्री खानी हटाउने कार्यमा सहयोग गर्न तयार रहेको बताउँदै इरानले कहिल्यै आणविक हतियार विकास गर्नु नहुने बेलायतको पुरानो अडान पुनः दोहोर्याए ।
दुई देशबीचको सहमतिलाई संयुक्त राष्ट्रसङ्घदेखि युरोप, खाडी क्षेत्र र एसिया–प्रशान्तका मुलुकहरूले सम्झौताको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्झौतालाई द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फको महत्त्वपूर्ण कदमको संज्ञा दिएका छन् । उनले संवाद र कूटनीतिक प्रयासलाई दीर्घकालीन शान्तिको आधार मान्दै सबै पक्षलाई सहमतिको पूर्ण कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गरे ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले हर्मुज जलघाँटी तत्काल र बिना शर्त पुनः खोलिनुपर्ने बताए । उनले फ्रान्स र बेलायत सम्झौताको कार्यान्वयनमा सहयोग गर्न तयार रहेको जनाउँदै लेबनानमा राज्यको सार्वभौमिकता पुनःस्थापित गर्ने प्रयासलाई पनि समर्थन गर्ने स्पष्ट पारे । ।
कतारको विदेश मन्त्रालयले क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्ने उद्देश्यले गरिएका सबै कूटनीतिक प्रयासप्रति पूर्ण समर्थन व्यक्त गरेको छ । कतारले वार्ता र मध्यस्थताको माध्यमबाट स्थायी समाधान खोज्ने प्रयासलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले सम्झौतामा औपचारिक हस्ताक्षर नहुँदासम्म सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।
जापानकी प्रधानमन्त्री साने ताकाइचीले हर्मुज जलघाँटी हुँदै सुरक्षित र स्वतन्त्र जलयातायात सुनिश्चित हुने अपेक्षा व्यक्त गरे ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र विदेशमन्त्री पेनी वोङले अमेरिका र इरान दुवैलाई निरन्तर संयम र रचनात्मक संवाद कायम राख्न आग्रह गरेका छन् ।






