लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले साल्पा-सिलिचुङ/सिलिछोलाई ५ लाख २ हजार ३ सय ४४ रुपैयाँ सहयोग गरेका छन् ।
किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्षसमेत रहेका राई र आयुष्मा कोयी राई दम्पतीले पूर्वप्रतिबद्धताअनुसार किस्तामा दान भेटी उपलब्ध गराएको साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ । उनले पहिलो किस्ता एक लाख, दोश्रो किस्ता एक लाख पचास हजार र अन्तिम किस्ता दुई लाख बाउन्न हजार तीन सय चौवालिस रुपैयाँ प्रदान गरेका हुन् ।
मेजर योगेश राई मूलघर खोटाङ केपिलासगढी वडा नं.७ सुङदेल निभारे, हाल बसोबास काठमाडौं बालुवाटार सितल निवास रहेको । साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका आर्थिक सल्लाहकार, किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्ष हुन् ।
आर्थिक सहयोग गरी यस पवित्र तथा ऐतिहासिक महाअभियानमा अमूल्य योगदान पुर्याइदिएकोमा मेजर राईलाई समितिले धन्यवाद व्यक्त गरेको छ ।
समितिले ‘श्रृष्टिको उत्पति केन्द्र मुन्दुमको प्राण,साल्पा सिलिचुङ संरक्षण हाम्रो अभियान’ नारासहित सहयोग उठाइरहेको छ । किरातीहरुको मुन्दुमअनुसार साल्पा-सिलिचुङ/सिलिछो एक पवित्र मुन्दुमीस्थल किरात धार्मिक/सांस्कृतिक स्थल हो। मुन्दुमअनुसार सर्वप्रथम श्रृष्टिकर्ताहरु सुम्निमा-पारुहाङको यही साल्पा सिलिचुङमा नै भेट भएकोले साल्पा सिलिचुङ नै श्रृष्टिको उत्पत्ति तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको मुन्दुमी जनविश्वास रहेको छ।
त्यस्तै किरातीहरुको आदिम पुर्खाहरु रिकापा-रिभ्यामा, छेम्सी-माप्य,साल्पाहाङ-रिब्रिहाङमा/रिब्रिमा (साल्पा राजा र साल्पा रानी) जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङमा नै आदिमथलो तथा बासस्थान रहेको मुन्दुमी जनविश्वास रहेको छ। त्यसैले किरातीहरुको सांस्कृतिक नायकहरु मुन्दुमी नछुङ, माङ्पा, नागिरे, कुबी, ज्वाम्चो, मावी, दोवा, पासिङ, वाटाङ्पा, बुङ्पेन्मी, धामी बिजुवाहरु बर्षेनी मुन्दुमी शक्ति आर्जन गर्नको लागि मुन्दुमी यात्राको निमित्त साल्पा-सिलिचुङ/सिलिछो जाने गर्दछन् । यस अर्थमा (साल्पा सिलिचुङ/सिलिछो) किरातीहरुको निमित्त हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत, क्रिस्चियनहरुको जेरुसेलम, मुस्लिम हरुको मक्का-मदिना, बुद्धिस्टहरुको लुम्बिनी भने जस्तै र त्यतिकै महत्त्वपूर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिकस्थल किरात सांस्कृतिक सम्पदा हो । तसर्थ किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा-सिलिचुङ/सिलिछोलाई संरक्षण प्रवर्द्धन गर्न पहिलो चरणको सिलिचुङ/सिलिछोमा (सुम्निमा-पारुहाङ र साल्पामा नाक्छोङ/माङ्पाको प्रतिमा निर्माण, त्यसै गरेर दोस्रोरो चरणमा साल्पामा (३ चुला सुप्तुलुङ मुन्दुमी माङथान सहितको सुम्निमा पारुहाङको) प्रतिमा स्थापना गरिसकेपश्चात् अन्तिम चरणमा साल्पा जाने प्रवेशद्वार (वाबुक/सोलोन्वा चिण्डो आकारको मुन्दुमी गेट) लगायत विभिन्न मुन्दुमी पात्रहरुको सांस्कृतिक सरंचनाहरु निर्माण गरेर साल्पा सिलिचुङ/सिलिछोलाई किरात सांस्कृतिक सम्पदाको रुपमा स्थापना गरिने समितिले जनाएको छ ।






