योग फगामी।
म्याग्दी । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गठन भएको ‘डा महावीर पुनलाई जिताऊ अभियान’का अभियन्ताहरुले नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा महावीर पुनलाई बधाई तथा शुभकामना दिएका छन् ।
अभियानमा संलग्न स्वतन्त्र व्यक्तिहरुले शुक्रबार सिहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री पुनलाई बधाई र शुभकामना दिएका हुन् । साथै म्याग्दीको रघुगंगा गाउँपालिकाको गत वर्षको आर्थिक बजेट सहयोग स्वरूप ५ लाख रुपैयाँ विनियोजनअनुसार पालिकामा विस्थापित भएका मगर समुदायहरुको खाम मगर भाषाको पुनर्स्थापितका लागि अभियन्ताहरुको संयुक्त पहलमा लिखित पुस्तक पनि संयोजक मेजन पुन (फगामी) र सदस्य योगकुमार फगामीले मन्त्री पुनलाई हस्तान्तरण गरेका थिए ।

संयोजकको तर्फबाट मेजन पुनले पाठ्यक्रम नेपाल सरकारको संविधानत: निरन्तरता रहने र उक्त भेगतिर बोलिने ठेट भाषाहरुको लेखन्त सुरु भएको पनि मन्त्री पुनलाई जानकारी गराएका थिए । कार्यक्रमका लागि उट्घाटन समारोहमा रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, समापन समारोहमा उपाध्यक्ष प्रेम कुमारी पुन, पुस्तक वितरणमा स्वयं अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिहरूलगायत पालिका प्रशासकीय प्रमुख कुलराज पौडेल र लेखा अधिकृतहरुलाई नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका इकाई समितिका अध्यक्ष टिका पुर्जा थजाली मगरले धन्यवाद दिएका छन् ।
साथै उक्त रकम विनियोजन भइसकेको र आगामी वर्षमा थप रकमसहित विनियोजन भएको पनि अध्यक्षले जानकारी दिएका छन् । साथै प्रशिक्षण भाषाविज्ञ कर्णबहादुर बुढामगर, प्रशिक प्रशिक्षिका शिक्षिक/शिक्षिकाहरुलाई समेत धन्यवाद दिएका छन् । विस्थापित मगर समुदायको मगर खाम भाषालाई पुनर्स्थापित गराउन सफल भएकोमा हर्षित र गौरमान्वित भएको उनले बताए ।
कार्यक्रममा संस्थागत रुपमा नेपाल पुन मगर समाज केन्द्रीय समिति, नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका इकाई समिति, नेपाल पुन मगर समाज म्याग्दी, पुन मगर समाज युके, वेगखोला कल्याणकारी समाज यूके, नेपाल पुन मगर समाज पुर्ख्यौली तथा संस्कृति केन्द्रीय समितिले समन्वय गरेका थिए ।
म्याग्दीबाट स्वतन्त्र सांसद बनेका महावीर पुन २६ जेठमा दोस्रोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त भएका थिए । उक्त मन्त्रालय मन्त्री पुनकै परिकल्पनामा खडा गरिएको हो । डा. पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारको पालामा शिक्षामन्त्री बनेका थिए ।







