लन्डन । कोरोना भाइरस (कोभिड १९) बाट बेलायतमा मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । १ लाख ६५ हजार २२१ संक्रमित भएका छन् ।
वल्डोमिटर्स इन्फोले दिएको जानकारी अनुसार बिहीबार अपराह्नसम्म २६ हजार ९७ जनाको ज्यान भएको हो । बेलायत कोरोना संक्रमित धेरै हुने विश्वका मुलुकहरुमध्ये पाँचौंमा परेको छ । बेलायतमा संक्रमित दरको तुलनामा मृत्युदर धेरै देखिन्छ । विश्वमै पहिलो नम्बरमा कोरोना संक्रमित र मृत्यु दर अधिक रहेको अमेरिकामा १० लाख ६५ हजारभन्दा बढी संक्रमित हुँदा ६१ हजार ६६९ जनाले ज्यान गुमाएका छन् । अमेरिकापछि स्पेन, इटाली, फ्रान्समा संक्रमितको संख्या बढी छ ।
बेलायतमा मृत्यु हुनेमा केही दर्जन नेपाली पनि छन् । बिहीबार अपराह्नसम्म विश्वमा ३२ लाख ३२ हजार ६१ जना संक्रमित हुँदा २ लाख २८ हजार ५०५ जनाको ज्यान गएको छ ।
यसैबीच भाइरसको संक्रमण फैलिन नरोकिएपछि बेलायतले परीक्षणलाई थप तीव्रता दिने भएको छ । अधिकारीहरूले देशका विभिन्न ४३ स्थानमा परीक्षण केन्द्र स्थापित गरिएको जनाएका छन् । अब ६५ वर्ष उमेर कटेका तथा कामका लागि घरबाहिर जानुपर्ने सबैले तत्काल भाइरसको संक्रमण परीक्षण गराउन सक्नेछन् ।
त्यसैगरी, केयर होमहरूमा राखिएका सबै नागरिक तथा कार्यरत कर्मचारीहरूको परीक्षण सुरु गरिएको छ । अधिकारीहरूका अनुसार संक्रमणको कुनै पनि लक्षण नदेखिएकाहरूमा पनि यो परीक्षण हुनेछ । यसले लाखौं मानिसहरूलाई परीक्षणको दायरमा ल्याउने ठानिएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालयले दैनिक १ लाख मानिसको परीक्षण गर्ने योजना अघि सारेको बीबीसीले जनाएको छ । हाल दैनिक सरदर ७३ हजार जनाको परीक्षण हुँदै आएको छ । गत सोमबार ४३ हजार जनाको परीक्षण गरिएको थियो ।
परीक्षण संयोजक प्राध्यापक जोन न्युटनले सरकारी वेबसाइटमार्फत २ करोड ५० लाख मानिसले परीक्षणका लागि समय लिन सक्ने व्यवस्था गरिएको जनाए । कारोना भाइरस कार्यदलको पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री म्याट हानककले भने, ‘परीक्षणको दायरा बढाइएकाले निर्माण मजदुरदेखि अत्यावश्यक सेवाका कर्मचारी, अनुसन्धानकर्मीदेखि उद्योगमा काम गर्नेहरू सबै अब सुरक्षित हुनेछन् ।’



