काठमाडौं असोज १८ । जोर्डनका राजा अब्दुल्ला द्वितीयले शनिबार प्रधानमन्त्री ओमर रज्जाजको राजीनामा स्वीकृत गरेका छन् । यद्यपि नयाँ मन्त्रिपरिषद गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा सेवा गर्ने जिम्मेवारी भने उनले रज्जाजलाई नै दिएका छन् ।
जोर्डनी राजाले प्रधानमन्त्री रज्जाजलाई एउटा पत्रमार्फत् राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन् । विशेष गरी राज्यका संस्थाहरूमा एकीकृत प्रयासको माध्यमबाट कोभिड–१९ महामारी नियन्त्रणका उपाय अवलम्वन योजना र कार्यक्रमका लागि राजा अब्दुल्लाले सरकारको प्रशंसा गरेका ‘रोयल हासेमाइट कोर्ट’ ले जारी गरेको विज्ञप्ति जनाएको छ ।
राजीनामा पत्रमा प्रधानमन्त्री रज्जाजले आफ्नो सरकार कठिन समयमा पनि जनता र राष्ट्रको हितमा कामगर्न सफल भएको तर काम गर्ने सिलसिलामा गल्ती पनि भएका भए यसको जिम्मेवारी लिँदै पदबाट हट्ने बताएका थिए । रज्जाजले कोभिड–१९ले उनको मन्त्रीपरिषद्को २०२० प्राथमिकतामा असर पारेको तर यो सवै जनस्वास्थ्यको रक्षा जनताको हितमा भएको राजिनामा पत्रमा उल्लेख गरेका थिए ।


