काठमाडौं २० असोज भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई २० वर्ष जेल सजाय सुनाइएको छ ।
फौजदारी अदालतले सत्तामा रहेका समय राज्यको पर्यटन प्रवद्र्धकहरूबाट घुस स्वीकार गरेको आरोपमा एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो । उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन (व्यवसायिक रकम) प्राप्त गर्न राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुनेगरी निर्णय गरेको अभियोग लागेको थियो ।
अदीब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमीनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर भएपछि गत वर्षको नोभेम्बरदेखि नै पाँच वर्ष जेल सजाय सुनाइएको थियो । यमीन अहिले जेलमा छन् ।






