
काठमाडौं २२ कात्तिक । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएसँगै अमेरिकाको ४६ औं राष्ट्रपतिको टुंगो लागेको छ ।
पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेसँगै बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार भएको हो । बीबीसी, न्यूयोर्क टाइम्स, फक्स न्यूज लगायतले गरेको यो अनुमान ती राज्यहरुको परिणाममा आधारित छ, जहाँ भोट गणना सकिसकेको छ र केहीमा अन्तिम चरणमा छ ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।
निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।
यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् ।
बाइडेनले आफूलाई अमेरिकी जनताले नेतृत्वको जिम्मेवारी दिएर सम्मानित गरेको लेखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई भोट दिने र नदिने सबै अमेरिकी जनताको राष्ट्रपतिका रूपमा काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।
अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएको थियो । यो निर्वाचनमा सन् १९०० पछिका राष्ट्रपति चुनवमा सबैभन्दा बढी मतदान भएको बताइएको छ ।
राष्ट्रपतिमा विजयी बाइडेनले यो निर्वाचनमा ७ करोडभन्दा बढी भोट प्राप्त गरिसकेको र यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै भोट नपाएको बीबीसीले लेखेको छ ।
रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति ट्रम्पले भने आफूले जितेको भनेर ट्विट गरेका छन् । उनले आफू पराजित भएमा कानुनी लडाइका लागि अदालत जाने चेतावनी दिँदै आएका छन् ।


