
मनसुधन थापामगर
बेलायत । विश्वभरि फैलिएको कोरोना भाईरस महामारीबाट बेलायत पनि अछुतो रहन सकेन । लामो समयको लकडाउन पश्चात सरकारले आन्तरिक लकडाउन हटाए पछि विभिन्न कार्यक्रमहरु सुरु हुन थालेको छ । यसैबीच अल्डरसटको भलिबल क्लबले चौथो पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही आउदै गरेको अगष्ट 7 तारिक शनिवारको बिहान 8 बजेबाट नै सुरु हुने प्रतियोगिता अल्डरसटको Wellington statue ground मा सम्पन्न हुने अल्डरसट भलिबल क्लबका अध्यक्ष स्वर्ग गुरुङले जानकारी दिनुभएको छ । हरेक वर्ष महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्दैआएको भएतापनि गत वर्ष भने covid-19 को कारणले कुनै पनि कार्यक्रम गर्न नपाएको र यो सिजनको पहिलो भलिबल प्रतियोगिता भएको हुनाले सबै भलिबल खेलाडी तथा खेलप्रेमी उत्साहित भएको क्लवका सचिव शैलेश राईले हामीसँग बताउनुभयो ।

यसपालिको प्रतियोगितामा केही कारणवश महिला भलिबल प्रतियोगिता नराखेको र आगामी प्रतियोगिताहरूबाट भनेनिरन्तरता हुने कुरा आयोजकले जानकारी गराउनुभयो भएको छ । बेलायतभरिबाट अहिलेसम्म जम्मा 13 टिमले प्रतियोगिताका लागि टिम दर्ता गराइसकेको समेत सचिव शैलेश राईले बताउनुभयो । टिम दर्ता शुल्क £160 राखिएको छ भने विजेता समूहले £1000 र उपविजेता समूहले £600 संगै ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप पाउनेछन् । यसैगरी म्यान अफ दि म्याच, वेस्ट प्लेयर, वेस्ट सेटर, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, र वेस्ट डिफेन्सलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी गराउनुभएको छ । अझै कुनै नयाँ टिमले प्रतियोगिताको लागि आफ्नो टिम दर्ता गराउन इच्छुक हुनुहुन्छ भने क्लवका कोषाध्यक्ष बिमल गुरुङ (07456181918) अथवा क्लबका कुनैपनि सदस्यलाई संपर्क गर्नसक्नुहुनेछ । प्रतियोगिता प्राङ्गणमा खानाको स्टलसमेत व्यवस्था गरिएको हुँदा खानाको मज्जा सँगै दर्शकहरुले भलिबल हेर्न पाउनेछन् ।






