नेपालमा बसोबास गर्ने डोल्पो जातिमा विवाह संस्कार

SHARE:

गुरुङ रामप्रकाश समथिङ
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार डोल्पो जातिको जनसंख्या महिला २ हजार १ सय ३९ जना र पुरुष १ हजार ९ सय ६८ जना गरी जम्मा ४ हजार १ सय ७ जना रहेका छन् । यसरी हेर्दा डोल्पो जाति नेपालमा बस्ने १ सय २५ जाति मध्ये अल्पसंख्यक जातिमै पर्दछ । यसरी अल्पसंख्यकमा परेको कारणले होला सरकारले सिमान्तकृत समूहमा सूचीकृत गरेको पनि ।

नेपालमा बसोबास गर्ने १ सय २५ जातजाति मध्ये अधिकांश जातिमा बहुविवाह तथा बहुपत्नी चलन रहेको पाइन्छ । एक जना लोग्ने मान्छेले तीन चार जना श्रीमतीहरु बिहे गरेको देखिन्छ । कसै–कसैले सात आठ जना पनि ल्याएको भन्नेहरु पनि भेटिन्छ । यिनै जातिहरु मध्येमा डोल्पो जातिमा चाही ऐलेसम्म पनि बहुपति प्रथा वा एक जना महिलाको चार पाँच जना लोग्ने । चार पाँच जना श्रीमती ल्याउने लोग्ने मान्छेहरुलाई अनौठो लाग्ला । डोल्पो जातिमा पुरुषको भन्दा महिलाको बढी अधिकार हुन्न्छ । घरमा जेठो दाजुले बिहे गरी ल्याएको भाउजुलाई अरु देवरहरुले पनि श्रीमती मान्नु पर्ने चलन हुन्छ । तर भाउजुले देवरहरुलाई अप्नाउने वा नअप्नाउने भन्ने उनकै निर्णय हुन्छ । भाउजुको अनुमति भएन भने देवरहरुले बिहे गर्न पाउँदैनन् । उनै भाउजुलाई श्रीमतीको रुपमा स्वीकार्नु भन्दा अरु उसको विकल्प हुदैन ।

डोल्पो जातिमा घर ज्वाइ राख्ने चलन पनि छ । धेरै जातिलाई यो पनि चलन नौलो लाग्ला । किन भने कुनै पनि जातिमा घर ज्वाइ बस्ने चलन देखिन्न । तर डोल्पो जातिमा घर ज्वाइ राख्नु परेमा केटीका बावु र आमा केटाका बावु र आमाका घरमा गएर केटोलाई माग्ने गर्दछ । यदि दुबै पक्ष बीचमा कुरा मिलेमा केटीको घरबाट केटी लिएर केटाको घरसम्म पुर्‍याउँछ । केटाको घरमा पुगेपछि पुनः केटीले केटालाई हाम्रो घरमा जाउँ भनी केटाको हात समातेर जबरजस्ति केटालाई तान्दछ । अनि केटालाई जबरजस्ति घिस्याउदै केटीको घरमा लान्छ । केटीको घरमा केटा पुर्‍याइसकेपछि विवाहको कर्म विधि अनुसार सम्पन्न गर्दछ । डोल्पो जातिमा यो तरिकाबाट गर्ने विवाहलाई घिस्याउने विवाह भनिन्छ ।

विवाह गर्ने चलन अनुसारै पनि डोल्पो जातिमा अनौठो–अनौठो चलन देखिन्छ । यी जातिमा केटा चोर्ने र केटी चोर्ने अर्को नौलो चलन देखिन्छ । केटी चोर्नु पर्‍यो भने केटाहरु भेला भएर मन परेको केटीको घरमा लगेर केटी चोरेर ल्याउने । अनि केटा चोर्नु पर्‍यो भने केटीहरु भेला भएर मन परेको केटाको घरमा जाने र केटालाई चोरेर ल्याउने गर्दछ । डोल्पो जातिमा यो चलन अनुसारको विवाहलाई चोरी विवाह अथवा उनीहरुको भाषामा घ्वा खाने भन्दछ ।

डोल्पो जातिमा सेक्स मामलामा बढी स्वतन्त्रता देखिन्छ । केटीलाई कुनै केटाले गर्भ बोकाएमा सुत्केरी खर्च र केही जरिबाना तिरे गर्भ बोकाउने केटाले फुर्सद पाउने चलन छ । तर गर्भ बोकेको केटीबाट छोरा जन्मेको खण्डमा बच्चा गर्भ बोकाउने केटाको हुनेछ । यदि छोरी जन्मेको खण्डमा पाउने आमाको हुनेछ । यो बसेको समाजले निर्णय गर्दछ । बिहे गरेको छोरीको हकमा यस्तो परिस्थितथि परेमा उसको लोग्नेको राय अनुसार हुनेछ ।

डोल्पो जातिमा विवाहित परिवारमा लोग्ने र स्वास्नी अलग हुन चाहेको खण्डमा अदालत जाने गर्दैनन् । उनीहरु एक आपसमा छुटिनु परेको खण्डमा पञ्चभलादमी बसी ८० रुपैयादेखि १ सय २० रुपैयासम्म कति जरिबाना गर्ने हो अंक तोक्छ । लोग्ने वा स्वास्नी कसले सम्बन्ध विच्छेद गर्न चाहेको हो सो रकम तिरी सम्बन्ध विच्छेद गर्ने चलन रहेको छ ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौंद्वारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चाम्लिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६ लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक फ्रि जातिबारे लेख प्रकाशन गरिनेछ)

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!