काठमाडौं माघ ७ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अहिले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताए। उनले सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको बताए। खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् । उनले विपदमा परेका नागरिकको उद्धार सरकारको उच्च प्राथमिकतामा रहेको र पीडितलाई राहत र क्षतिपूर्ति प्रदान गरिएको समेत बताए । गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उनको भनाइ छ । साथै प्रधानमन्त्री देउवाले किसानलाई मलरबीउको कमी हुन नदिन सरकारले हरसम्भव प्रयत्न गरिरहेको दाबी समेत गरे ।
प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव गर्ने प्रतिवद्धता समेत जनाए । उनले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै त्यसका लागि तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरे । देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सरकार गठनको ६ महिना पुगेको अवसरमा आज प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।






