बेलायत १ अगस्ट २०२२ । बेलायतमा तेस्रो ‘अन्लिस योर इनर सेल्फ’ इभेन्ट शनिबार सम्पन्न भएको छ । बिहान ९ बजेदेखि दिउँसो २:३० सम्म फार्नबोरोस्थित भिलेज होटेलमा भएको कार्यक्रमको आयोजना माउसटेल ट्रान्सफर्मेशनले गरेको थियो भने पेपरवोर्क सोलुसन्स र वाईबिसी क्लिनिङको विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा कसरी सफल हुने, कसरी खुसी हुने, कसरी सम्पत्ति आर्जन गर्ने, कसरी पारस्पारिक सम्बन्ध बलियो बनाउने, कसरी नेतृत्व विकास गर्ने, कसरी सार्थक जीवन जिउने बारे प्रस्तुति दिइएको थियो । यस्तै, विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुबाट आफ्नो अनुभव तथा अहिलेको परिस्थितिमा सरकारलाई तिर्नु पर्ने कर, के निर्णय गर्दा आम्दानी बढाउन सकिन्छ, आदिका बारेमा अनुभव आदानप्रदान गरिएको थियो ।
वक्ताहरुमा वाईबिसी क्लिनिङ्ग कम्पनीका म्यानेजिंग डाइरेक्टर तथा सफल ब्यबसायी योगेन छेत्री, ब्रिटिश आर्मीका लेफ्टिनेन्ट कर्नेल टोल खाम्चा मगर, ए स्टार फाइनान्सियल सोल्युसन्स युकेका प्रिन्सिपल मिन दर्लामी, पेपर वोर्क सोल्युसन्स लिमिटेडका डाइरेक्टर श्याम श्रेष्ठ, र माउसटेल ट्रान्सफर्मेसनका मान गुरुङ थिए ।
व्यायमका लागि नेपालमा चर्चित नृत्य रचनाकार तथा मोडेल रीना थापा मगर र युवा चलचित्र हिरो, निर्देशक तथा निर्माता बिमल गुरुङले कार्यक्रम संचालन गरेका थिए भने फोटोग्राफीमा इजरा श्रेष्ठ तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले गरेका थिए । उपस्थितहरुलाई अनलिमिटेड चिया र कफी, स्न्याक्स दिइएको थियो ।
कार्यक्रममा समाजसेवी, व्यापारी, युवा र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमपश्चात सहभागीहरुबाट धेरै राम्रो प्रतिक्रिया आएकोले आगामी कार्यक्रम शनिबार १५ अक्टोबर २०२२ मा आयोजना गर्ने माउसटेल ट्रन्सफर्मेसनका गुरुङले जनाए । उनले प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।








