चारधाम यात्रा – उत्तरकाशीदेखि गंगोत्री धामसम्म… डर, भक्ति र प्रकृतिसँगको साक्षात्कार

SHARE:

बुधबार बिहान ठीक ५:३० बजे सबै जम्मा हुने निर्देशन आयो। आजको गन्तव्य गंगोत्री धाम, जहाँबाट भागीरथी नदीको पवित्र यात्रा सुरु हुन्छ। उत्तरकाशीदेखि करिब १०० किलोमिटरको दूरी, तर समय भने ६ घण्टाभन्दा बढी लाग्ने रहेछ। कारण बाटो यस्तो कि दूरीभन्दा धड्कन धेरै नापिन्छ!

होटलले बनाइदिएको टेक-अवे ब्रेकफास्ट बोकेर बसमा चढ्यौँ। हाम्रो बसका चालक साँच्चै सलाम गर्न लायक अनुभवी रहेछन्। म त त्यसै पनि डरपोक मान्छे! एकतर्फ ठाडो भीर, अर्कोतर्फ गर्जिंदै बगेकी भागीरथी नदी, बीचमा मुस्किलले एउटा बस अट्ने साँघुरो बाटो। ठाउँ–ठाउँमा सुख्खा पहिरो झर्दै, माथिबाट कुन बेला ढुङ्गा खस्छ भन्ने ठेगान छैन। तर भारत सरकारले सडक चौडा पार्ने, नयाँ पुल र बेलीब्रिज बनाउने काम पनि धमाधम गरिरहेको देखियो।
त्यसपछि मन एकाएक विगततिर पुग्यो…

यिनै बाटाहरूबाट हाम्रा हजुरबा–हजुरआमाहरू कसरी हिँडेर गंगोत्री पुगे होलान…….न गुगल म्याप, न आरामदायी बस, न होटल। जहाँ साँझ पर्थ्यो, त्यहीँ बास। जहाँ चुलो बाल्न मिल्थ्यो, त्यहीँ खाना। आज हामी वातानुकूलित बसमा आरामसँग यात्रा गर्दैछौँ, होटल पनि राम्रो छ। वहाँहरुले त आस्था, साहस र भगवानको भरोसामै यस्तो कठिन यात्रा पूरा गर्नुभयो। त्यसैले आज उनीहरूप्रति सम्मान झन् बढेर आयो।

उता हाम्रो बसभित्र अर्को रमाइलो दृश्य पनि चलिरहेको थियो। लेक लाग्न नदिने औषधि (डाइमोक्स) को असरले धेरैजसो साथीहरू झुम्म निद्रामा। उनीहरूलाई न भीरको डर, न घुम्तीको तनाव। साँच्चै, “जहाँ ढुक्क, त्यहीँ सुख!” निदाएको मान्छेलाई बस खोंचमा होस् वा महलमा, खासै फरक पर्दैन रहेछ!

तर म भने हरेक घुम्तीमा भगवानलाई सम्झिरहेको थिएँ। यस्ता अन्धा मोडमा पनि केही चालकहरू ओभरटेक गर्न खोज्दा त कन्सिरीका रौँ एकैचोटि ठाडा भए। त्यहाँ पुगेपछि गाडीको हर्न किन यति महत्वपूर्ण हुन्छ भन्ने बल्ल बुझियो। र एउटा राष्ट्रिय खोज पनि गरियो जे होस् यताका शुलभ शौचालयहरूमा देशैभरि शुल्क एउटै रहेछ—प्रति व्यक्ति ₹१०! कम्तीमा यो विषयमा त सम्पूर्ण भारत एकमत देखियो!

होटलबाट हिँडेको करिब तीन घण्टापछि हामी हर्षिल उपत्यका पुग्यौँ। भागीरथीको किनार, हरिया देवदारका जंगल र हिमालको काखमा बसेको यस्तो सुन्दर ठाउँ कि आँखाले क्यामेरा बन्न खोज्छ। चिया खाने बहानामा ट्वाइलेट पनि भयो। टेक-अवे आलु पराठा पनि खोलियो, तर धेरैले गंगोत्री पुगेर पितृ तर्पण गरेपछि मात्र खाने संकल्प गरेका रहेछन्। त्यसैले चिया मात्रै पिएर फेरि यात्रा अघि बढ्यो। अब बाँकी ३० किलोमिटर हिमालको काखै–काख अघि बढ्दै थियौँ।
हाम्रो समूहकी एकमात्र विदेशी सदस्य, अप्रिल (न्युजिल्याण्ड), पनि अहिले आधी हिन्दी भइसक्नुभएको छ। उहाँको सबैभन्दा लोकप्रिय संवाद “चलो चलो… जल्दी जल्दी…” बसभरि हाँसोको फोहोरा छुटिरहेको थियो।

चालकको अनुहारमा भने रमाइलोभन्दा जिम्मेवारी बढी देखिन्थ्यो। उहाँ बारम्बार भन्नुहुन्थ्यो, “जति सक्दो चाँडो फर्कनुपर्छ, पानी परे पहिरोले बाटो बन्द हुन सक्छ।” यताका होटलहरूमा अर्को चुनौती—माखा! यति धेरै कि मानौँ उनीहरू पनि चारधाम यात्राकै प्याकेजमा आएका हुन्!

यहाँ हेलिकोप्टरबाट आउने विकल्प पनि रहेछ। स्वास्थ्यले साथ नदिने तर आर्थिक रूपमा सक्षम श्रद्धालुहरू त्यसरी पनि दर्शन गर्न आउँदा रहेछन्। त्यही बेला मनमा एउटा विचार आयो— ईश्वरको हिसाब पनि कस्तो रोचक! कसैलाई प्रशस्त पैसा, कसैलाई दह्रो स्वास्थ्य, कसैलाई दुवै, अनि कसैलाई… परीक्षा मात्रै परीक्षा। तर अन्तिम गन्तव्य भने सबैको एउटै उनै भगवानको चरण।

हर्षिल नजिकै पुगेपछि गाइडले देखाउनुभयो गत वर्ष भीषण सुख्खा पहिरोले एउटा गाउँ बगाएको ठाउँ। भारतीय सेनाका जवानहरू समेत त्यस विपत्तिमा परेका रहेछन्। अहिले पनि सेनाको सहयोगमा पुनर्निर्माण तीव्र गतिमा चलिरहेको छ। त्यही प्रकृतिले हामीलाई जीवनकै सुन्दर दृश्य दिन्छ, अनि कहिलेकाहीँ त्यही प्रकृतिले सबै कुरा क्षणभरमै खोसिदिन्छ।

अलिकति अगाडि पुगेपछि अर्को रोचक कुरा थाहा भयो। ऋषि कपूर अभिनीत चर्चित हिन्दी चलचित्र “राम तेरी गंगा मैली” का केही दृश्य यही क्षेत्रमा छायांकन गरिएका रहेछन्। अझै पनि पोस्टर र फोटोहरूले त्यो इतिहास सम्झाइरहेका छन्।

अनि हाम्रो टोलीकी नेतृ सुषमा भाउजू भने हरेक दिनझैँ आज पनि यात्राको आध्यात्मिक ऊर्जा हुनुहुन्थ्यो। तीन पटक ॐ, गायत्री मन्त्र, शान्ति पाठ, अनि अधिकांश यात्रा भरि श्रीमद्भगवद्गीता र हनुमान चालीसाको वाचन। बस कहिले मन्दिर भयो, कहिले सत्सङ्ग पत्तै भएन।

१२:०५ बजे हामी भैरवघाटी पुग्यौँ। त्यहाँबाट गंगोत्री अझै ८ किलोमिटर। १२:२५ मा गंगोत्री पुगे पनि ठूलो बसलाई मन्दिरसम्म जान नदिने रहेछ, त्यसैले करिब डेढ किलोमिटर पैदल हिँड्नुपर्‍यो।

अन्ततः दिउँसो करिब दुई बजे…पहिले पितृ तर्पण सम्पन्न गरियो। त्यसपछि गंगोत्री माताको दर्शन। बरफ पग्लिएर आएको गंगाजल यति चिसो थियो कि हात डुबाउँदा औँलाहरूले पनि “बस्, पुग्यो!” भनेजस्तो लाग्यो। यहाँ अन्य तीर्थस्थलमा जस्तो पण्डाहरूको धेरै भीडभाड रहेनछ। नेपाली तीर्थयात्रीहरू भने प्रशस्तै भेटिए।

अब भने भोकले पेटभित्र शंख बजाउन थालेको छ। केही खाएर फेरि उही साँघुरो, उही घुमाउरो, उही रोमाञ्चक बाटो हुँदै उत्तरकाशीतर्फ फर्कने तयारी गर्दैछौँ।यात्राले फेरि एउटा कुरा सिकायो गन्तव्यमा पुग्नु मात्र उपलब्धि होइन, त्यहाँसम्म सुरक्षित पुग्ने प्रत्येक मोड, प्रत्येक चालक, प्रत्येक सहयात्री र प्रत्येक प्रार्थनाप्रति कृतज्ञ हुनु नै सायद वास्तविक तीर्थयात्रा हो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!