— शिवकुमार गुरुङ र मीना गुरुङ
भ्रमणको तेस्रो दिन हामी बिहान ९ बजे होटलबाट करिब ४५ मिनेटको यात्रा तय गर्दै ‘बेइजिङ चिडियाखाना’ (Beijing Zoo) पुग्यौँ। बेइजिङको ‘सिचेङ’ (Xicheng) जिल्लास्थित ‘सिझिमेनवाईदाजिए’ क्षेत्रमा अवस्थित यो चिडियाखाना सन् १९०६ मा निर्माण गरिएको चीनकै पुरानो चिडियाखाना हो, जसलाई सन् १९५५ मा आधिकारिक रूपमा ‘बेइजिङ जु’ नाम दिइएको रहेछ। करिब ५,००० भन्दा बढी जीवजन्तुहरू रहेको यो चिडियाखाना चीनको राष्ट्रिय जनावर ‘जायन्ट पाण्डा’ को मुख्य आकर्षण केन्द्र हो। पाण्डाहरू प्रायः सुत्ने र खाने स्वभावका हुने भएकाले, हामी पुग्दा पनि ती धेरैजसो गहिरो निद्रामा थिए। जे होस्, पाँचमध्ये दुईवटा पाण्डालाई नजिकबाट अवलोकन गर्ने अवसर मिल्यो। त्यहाँ चिनियाँ नागरिकहरूको समेत पाण्डा हेर्ने बाक्लो भीड देख्दा आफ्नो राष्ट्रिय गौरवप्रति उनीहरूको लगाव प्रस्ट हुन्थ्यो। त्यसपछि हामी बेइजिङको प्रसिद्ध ‘समर प्यालेस’ पुग्यौँ। चिङ (Qing) राजवंशको पालामा निर्मित यो दरबार सन् १७५० मा सम्राट चियानलोङले आफ्नी आमाको मनोरञ्जनका लागि निर्माण गराउन सुरु गरी १७६४ मा पूरा भएको रहेछ। यहाँ हामीले म्यान-मेड तालमा ४५ मिनेट लामो डुङ्गा सयर गर्यौँ। उक्त तालमा १७ वटा कमानीदार द्वार भएको पुल छ, जसको ९ नम्बरको द्वार विशेष मानिन्छ। चिनियाँ परम्परामा ‘९’ अङ्क राजवंशीय गौरवको प्रतीक भएकाले यसबाट केवल सम्राट मात्र आवतजावत गर्ने गर्थे। टाढैबाट भए पनि प्रसिद्ध प्यागोडाको कलात्मक दृश्यले मन लोभ्यायो; समय अभावका कारण त्यहाँ पुग्न नसके पनि भविष्यका लागि त्यो एउटा सुखद अभिलाषा बनेको छ।
त्यहाँको अर्को आकर्षण ७२८ मिटर लामो ‘लामो कोरिडोर’ (Long Corridor) हो, जुन गिनिस वर्ल्ड रेकर्डमा समेत दर्ता छ। कोरिडोरको सिलिङ र भित्तामा कोरिएका हजारौँ चित्रकलाहरू एकअर्कासँग मेल खाँदैनन्, जुन आफैँमा एउटा आश्चर्यजनक कार्य हो। घुम्ने क्रममा हामीले घुँडा दुख्ने समस्या भएका सेनापतिका लागि सम्राटले निर्माण गराएको विशेष पुल देख्यौँ, जुन सम्राटको आफ्ना कर्मचारीप्रतिको सम्मानको अनुपम उदाहरण हो।
दिनको उत्तरार्धमा हामी ‘टेम्पल अफ हेभन’ पुग्यौँ। यहाँ सम्राटहरूले राम्रो फसल र देशको शान्तिका लागि स्वर्गसँग प्रार्थना गर्ने गर्थे। यसको ज्यामितीय बनावटको सटीक निर्माण देखेर म छक्क परेँ। पार्कमा सयौँ वर्ष पुराना रुखहरू छन्, जसमध्ये ६०० वर्षभन्दा बढी उमेरको रुख मेरै आँखाले देख्न पाउँदा म रोमाञ्चित भएँ। हाम्रो देशमा पनि यस्ता अमूल्य सम्पदा छन्, तर तिनको संरक्षण र अभिलेखमा हामीले अझ धेरै सिक्न बाँकी छ भन्ने महसुस भयो। साथै, स्वदेशी वा विदेशी नछुट्याई गरिने कडा सुरक्षा जाँचले चिनियाँ अनुशासनको परिचय दिन्थ्यो।
बेइजिङको जीवन्त आधुनिकता:
चीनको आधुनिकता र प्राचीनताको यो अद्भुत मेल देखेर म अभिभूत भएँ। बेइजिङको मुख्य बजार क्षेत्र र ‘डोंगडाओ’ (Dongdaqiao) मेट्रो स्टेसन नजिकको व्यस्त हाई स्ट्रिटको चहलपहल देख्दा सहरको आर्थिक गतिशीलता प्रस्ट हुन्थ्यो। यहाँको ९० प्रतिशत भन्दा बढी सार्वजनिक यातायात (बस र ट्राम) विद्युतीय भएकाले सहर प्रदूषणरहित र शान्त छ। तोकेको समयमा पुग्ने मेट्रो र जेष्ठ नागरिकलाई निःशुल्क यात्रा सुविधा जस्ता पक्षहरू निकै अनुकरणीय लागे। बजारमा सामानको मूल्य युरोपको हाराहारीमा भए पनि कतिपय आउटलेट र स्थानीय बजारमा सामानहरू निकै सस्तो पाइने रहेछन्।
आभार र विदाई:
चीनको आधुनिकता र प्राचीनताको यो अद्भुत मेल देखेर म अभिभूत भएँ। हाम्रो यस तीनदिने चीन भ्रमणलाई ज्ञानवर्धक बनाउनुहुने र प्रत्येक ऐतिहासिक स्थलको व्याख्या गर्दै यात्रालाई निकै सहजीकरण गर्नुहुने हाम्रा सहयोगी टुर गाइड श्रीमती अरोरा (Mrs. Arora) प्रति हामी विशेष धन्यवाद व्यक्त गर्दछौँ। साथै, उच्च ड्राइभिङ सीपका साथ हामीलाई समयमै र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनुहुने तथा सुविधासम्पन्न एवं आरामदायी कारको व्यवस्था मिलाउनुहुने हाम्रा चालकद्वय चान र पिङको योगदानप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। मन त अझै धेरै ठाउँ घुम्न लालायित छ, तर अब भ्रमणको बिट मार्ने समय नजिकिँदैछ। यो ऐतिहासिक र अविस्मरणीय चीन भ्रमण हाम्रा लागि सधैँ स्मरणीय रहनेछ।










