मिलन तमुको रोधीघर

SHARE:

त्यसो त, मिलन तमुको मैले परिचय दिनु पर्ने कुनै आवश्यकता नै छैन । मैले चिनेको एक दशकमा उनलाई चिन्नेहरुको संख्या ज्यामितीय तरिकाले बढ्दै गएको छ । मैले चिन्दा उनीमात्र रिटायर्ड गोर्खा लाहुरे थिए । तुरन्तै, उनी फोटोग्राफरको रुपमा चिनिन थाले । अनि फोटो पत्रकार । अहिले उनी गीत तथा संगीतको क्षेत्रमा पनि लागेका छन् । उनको कामलाई नियाल्दा उनका धेरै रुपहरु देख्न सकिन्छ ।

त्यसैले मैले चिनेका मिलन र अरुले चिनेका मिलनमा फरक पर्न सक्छ । यहाँ, मैले चिनेका वर्षौ पुराना मिलन र उनको झनै नयाँ गीति एल्बमको बारेमा अलिकता चर्चा गर्ने विचार गरेको छु । यहाँ पुराना मिलन भन्नुको मतलब बेलायतको नेपाली समाजमा स्थापित व्यक्ति भन्न खोजेको हो । रोधीघरको आँगन पश्चात् अर्को एल्बम बजारमा आइसकेको हुनाले पहिलो एल्बमलाई झन्डै नयाँ भनिएको हो ।

मिलन मिलाएर खिच्छन्, मीठोसँग बताउँछन्, सान्दर्भिक कुरा लेख्छन् अनि गुनगुनाउन थाल्छन् । गुनगुनाउँदा गुनगुनाउँदै उनी रोधीघर पुग्छन् । मेरो बुझाईमा उनी रोधीघरका मान्छे अवश्य पनि होइनन् । हँुदै होइनन् । तथापि रोधीघरमा उनको नाचगान हेर्दा मेरो बुझाई गलत ठहर्छ । अनि यस्तो लाग्छ, उनी त्यहींका मान्छे हुन् । उनले गतवर्ष बजारमा ल्याएको रोधीघरको आँगन सुन्दा सायद अरुलाई पनि यस्तै लाग्दो हो ।

रामकुमार गुरुङ तथा तारा श्रीस मगरको स्वरमा रोधीघरको आँगन बजारमा आएको छ । जम्माजम्मी ११ वटा गीतहरुको संगालो भएको एल्बम लालीजोवानबाट सुरु भएर चौबन्दी चोलीको मूल्यमा अन्त हुन्छ । गीतहरुको सिलसिला पनि त्यसै अनुरुप उतारचढाबमा बढ्दै जान्छ ।

त्यो लाली जोवान कल्लाई साँचेको ?
खैंजडीको तालैमा ढल्की ढल्की नाचेको,
त्यो लाली जोवान कल्लाई साँचेको ?

उनको रुप हेरेर आसैआसमा लाली यौवन मलाई नै पो साँचेकी हुन कि भन्ने आशा निराशामा परिणत हुन्छ । जब उनी भन्दछिन्…

यो लाली जोवान सोल्टी राजालाई ।
मोरी लानु के छ र, मीठो वचन सबैलाई
यो लाली जोवान सोल्टी राजालाई ।

गीतको गहिराइएमा पुग्दा आफैंलाई सोल्टी राजाको रुपमा पाउनु कुनै अनौठो लाग्दैन । उनको सोल्टी हुन नपाएकोमा कता कता चिन्ता लाग्छ भने उनको सोल्टी राजाप्रति डाहा पनि हुन थाल्छ । त्यतिमात्र कहाँ हो र, गीत सुन्दासुन्दै रोधीघरमा छमछम नाचेको कल्पनामा डुब्नु पनि अस्वाभाविक लाग्दैन । त्यत्तिमात्र कहाँ हो र, गल्कोटको संझना पनि संगालिएको छ एल्बममा ।

गल्कोटै गाउँको पानी नै मीठो, सालैजो तिर्खा नै मेटियो ।
हितैको माया कहाँ जाँदै होला, सालैजो मौकाले भेटियो ।

म सानै छँदा रिडीमा सुनेको थिएँ सालैजो, पहिलो पटक । यदाकदा कहिलेकाहीं सुने पनि, यसरी ढुक्कैसँग भने धेरै वर्षपछि सुन्न पाएँ । मिलनलाई यस्तो मौका दिएकोमा सादुवाद नदिइरहन सक्दिनँ ।
यसैगरी, मिलन तमुको अर्को गीतले पञ्चेबाजाको धुनमा सालीलाई भेनाले फकाएको गीतले पनि हाम्रो चलनचल्तीमा साली भेनाको नजिकपनलाई बताएको छ । सालीलाई फकाउने क्रममा भेनाले मुखै खोल्छन्…

हाँसी हाँसी बोलन साली,
तिम्रै लागि राख्या छु दिल खाली ।

साली पनि कहाँ कम हुनु र ? जबरजस्त उत्तर दिन्छिन्…

किन राख्छौ सालीको आशा,
भिनाजुको लाग्दैन भरोषा ।

यसरी साली तर्कीतर्की भेनालाई न त नजिक नै पर्न दिन्छिन्, न त टाढा नै जान दिन्छिन् । साली पनि कस्ती भने दिदीमाथि पनि नआउने अनि छुटकारा पनि नदिने । गजबको संयोग छ स्वरमा, गीतमा अनि तालमा ।
सुन्दासुन्दै र गुन्दागुन्दै पत्तै नपाई एल्बमको अन्तिममा आइपुगिन्छ । र अन्तिम संगालोले चौबन्दी चोलीको मूल्यबाट सुरु भएर मन पर्ने, नपर्ने कुरामा टुंगिन्छ ।

ए कान्छी कति पर्यो चौबन्दी चोलीलाई ?
फर्केर हेरिदेउ न कहिलेकाहीं त हामीलाई ।

एल्बम राम्रा गीतहरुले मात्र भरिएको छैन, स्वर र धुनले पनि सजिएको छ । रामकुुमार गुरुङ (आर.के.), तारा श्रीस मगर र गीता पाइजाको स्वरमा गाइएका गीतहरु एकसे एक राम्रा छन् । संगीत भने तेजेन्द्र गुरुङले भरेका छन् । समष्टितगत रुपमा भन्नु पर्दा रोधीघर एकपटक सुन्नै पर्ने गीतहरुको संगालो हो ।

– मिलन ज्ञवाली

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!