काठमाडौं २६ अगस्ट २०२३ ।

नेपाल चलचित्र कलाकार संघमा दुई कार्यकालसम्म उपाध्यक्ष रही कार्यवाहक अध्यक्षसमेत बनेका चर्चित अभिनेता सानु ताम्राकारको निधन भएको छ ।
आफ्नो छोरा शारुक ताम्राकारको अल्पायुमै निधन भएकोमा त्यसको वियोगमा रहेका सानु ताम्राकारको पनि आज निधन भएको हो । उनका छोरा शारुकको असार २१ गते रातोपुलस्थित आफ्नै घरको कोठामा शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको बताइए पनि पछि उक्त प्रकरण विवादमा आएको थियो ।
परिवारका एक्ला छोराको निधन भए पछि अत्यन्त पीडामा रहेका सानु गम्भीर बिरामी परेका थिए । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारारत उनको शनिबार निधन भएको हो । ताम्राकारको पार्थिव शरीरलाई भोलि बिहान ९ बजे श्रद्धाञ्जलीको लागि पशुपतिमा राखिने कुरा पारिवारिक श्रोतले जानकारी दिएको छ ।
जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु लगायतका चलचित्रका साथै टेलिचलचित्रहरुमा उनले गरेको जीवन्त अभिनयको सबैले तारिफ गर्ने गरेका छन् ।






