
काठमाडौँ २० सेप्टेम्बर २०२३ । संविधान दिवस, २०८० बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
आज बिहान टुँडिखेलमा आयोजित संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत सहभागी थिए । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सङ्घीय संसद्का सभापति र सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, विदेशी मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो । ब्यानर लेखिएको होलिकोप्टरले चक्रपथ परिक्रमा गरेको थियो । मैदानबाट रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो ।
काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने सूचना तथा प्रसारण विभागबाट प्रकाशित ‘नेपाल’ द्वैमासिकको संविधान दिवस विशेषाङ्क विमोचन गरिएको थियो । समारोहमा कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बोधन गरेका थिए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।
सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।






