
काठमाडौँ ४ मार्च २०२४ । नेपालमा कांग्रेसलाई छाडेर माओवादी केन्द्र, एमालेलगायत दलको नयाँ गठबन्धन बनेको छ । समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ । आज शपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम गिरी रहेका बताइएको छ । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्री बनेका थिए ।






