
काठमाडौँ १५ मार्च २०२४ । मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास प्रतिवेदनअनुसार नेपाल एक सय ४६औँ स्थानमा छ ।
प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क मान शून्य दशमलव ६०१ छ । जसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्दछ । सन् २०२१ मा नेपाल एक सय ४९औँ स्थानमा थियो । सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकाङ्कमा शून्य दशमलव ०१० ले प्रगति गरेको छ । जुन विश्वव्यापी औसत शून्य दशमलव ००४ भन्दा बढी हो । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान शून्य दशमलव पाँच सय ५० देखि शून्य दशमलव ६९९ बीचको श्रेणीलाई जनाउँछ ।
“सन् १९९० देखि २०२२ को बीचमा नेपालको जन्ममा सरदर आयु १५ दशमलव सात वर्षले, विद्यालय जाने औसत वर्ष पाँच दशमलव चार प्रतिशतले र विद्यालय जाने अपेक्षित वर्ष दुई दशमलव एक वर्षले परिवर्तन भएको छ । यसैगरी, नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय (जिएनआई) करिब एक सय ६५ दशमलव सात प्रतिशतले परिवर्तन भएको छ”, प्रतिवेदनमा भनिएको छ, “सन् २०२२ मा महिलाको मानव विकास सूचकाङ्क शून्य दशमलव पाँच सय ६२ र पुरुषहरुको शून्य दशमलव छ सय ३५ रहेको छ जसका कारण लैङ्गिक विकास सूचकाङ्कको मान शून्य दशमलव आठ सय ८५ हुन आउँछ ।”
प्रतिवेदनले असमान विकासको गतिले आर्थिक रुपमा कमजोरलाई झन् पछाडि धकेल्दै असमानता र राजनीतिक ध्रुवीकरण विश्वव्यापी स्तरमै बढ्दै गइरहेको उल्लेख गरेको छ । गतिरोधको अन्त्यः ध्रुवीकृत विश्वमा सहकार्यको पुनःकल्पना’ शीर्षकको सन् २०२३/२४ को मानव विकास प्रतिवेदनले विश्वव्यापी मानव विकास सूचकाङ्कमा आएको सुधारलाई आंशिक, अपूर्ण र असमान रहेको देखाएकोे छ । मानव विकास सूचकाङ्कले कुनै पनि देशको प्रतिव्यक्ति कूल राष्ट्रिय आय, शिक्षा र औसत आयु मापन गर्दछ ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार वस्तुको विश्वव्यापी व्यापारको ४० प्रतिशत हिस्सा तीन वा त्योभन्दा पनि कम देशहरूमा केन्द्रित छ । सन् २०२१ मा विश्वका प्रत्येक तीनवटा ठूला प्रविधिसम्बन्धी कम्पनीहरूको बजार पूँजी ९० प्रतिशतभन्दा बढी देशहरूको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)भन्दा बढी हुन पुगेको थियो । विश्वव्यापी असमानताहरूलाई आर्थिक केन्द्रिकरणले झन् बढाएको पनि प्रतिवेदनमा उल्लेख छ ।






