काठमाडौं १७ मार्च २०२४ ।

नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट हटाउने भएको छ ।
आइतवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवलाई पार्टीको जिम्मेवारीबाट हटाउने विषयमा छलफल भएको हो ।
नेसपाका प्रवक्ता कृष्ण शर्माले नेताहरुले पार्टीको विधि, पद्धति र संगठनात्मक पद्धति छलेर माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको भन्दै जिम्मेवारीबाट मुक्त गर्न लागिएको बताए । उनले भोलि (सोमवार) बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले यसबारे आवश्यक निर्णय गर्ने बताए । केन्द्रीय कार्यकारिणी समिति बैठकले भने ती नेताहरुलाई जिम्मेवारीमुक्त गर्ने एजेण्डा भोलि बस्ने केन्द्रीय समितिको बैठकमा लैजानेगरी पारित गरेको उनले जानकारी दिए ।
अग्रगामी राजनीतिक शक्तिहरुसँग एकता र ध्रुवीकरणको प्रक्रिया भने जारी रहने उनले बताए। बैठकले पार्टीको महाधिवेशन गर्ने र संगठनलाई सुदृढ गर्ने विषयमा पनि छलफल गरेको उनले बताए । ‘हाम्रो पार्टीबाट केही साथीहरुले पार्टी एकताको लागि वक्तव्य जारी गर्नुभएको छ‚ त्यो पार्टी निर्णयविपरीत हो। पार्टी बैठक गर्ने तर त्यो प्रस्ताव नराख्ने र पार्टीका केन्द्रीय अध्यक्षलाई कुनै जानकारी नदिने‚’ उनले भने‚ ‘पार्टीको विधि, पद्धति र संगठनात्मक सिद्धान्त छलेर उहाँहरुले जुनखालको काम, कारबाही गर्नुभयो र संगठन र पार्टीबाट स्वघोषित ढंगले बर्हिगमन हुनुभयो‚ उहाँहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने भनेर भोलिको बैठकमा प्रस्ताव लैजादैँ छौँ ।’
उनले आगामी महाधिवेशन गर्दा प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिने पनि बताए। उनले पार्टी संगठन सुदृढ गर्ने सन्दर्भमा केन्द्रीय समिति बैठकले कार्ययोजना तय गर्ने जानकारी दिए ।






