सुनसरी १७ मार्च २०२४ ।

सुनसरीको जयनगरस्थित मुस्लिम टोलमा आइतबार दिउँसो ३ बजेपछि स्थानीय बिष्णुदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो ।
आगलागीबाट बस्तीका अधिकांश घर पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । विराटनगरसहित विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
एकैठाउँमा घरहरू टाँसिएका कारण वस्तीभरी आगो फैलिएको बर्जु ४ का वडाध्यक्ष विनोदबहादुर गुरुङले जानकारी दिए । आगलागी भएका अधिकांश घर फुसका थिए । आगलागीबाट कतिपय पशुचौपाया पनि मरेको जनाइएको छ । यस्तै आगलागीमा परेका घरमा रहेका सबै धनमाल जलेको प्रहरीले जनाएको छ । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
आगलागी पीडितहरूलाई गाउँपालिकाको पहलमा टेन्टको व्यवस्थापन गर्ने कार्य भइरहेको छ भने तत्कालको लागि खाद्यान्न वितरण गर्ने वडाध्यक्ष गुरुङले बताए ।






