लन्डन २३ मार्च २०२४ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले प्रधानमन्त्री राहत कोषका लागि पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
२२ मार्चमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी भूकम्पपीडितहरुलाई राहत पुर्याउने उद्देश्यले संयुक्त रुपमा संकलित रकम हस्तान्तरण गरिएको हो । यसै क्रममा प्रधानमन्त्री दाहाललाई ब्रिटिश गोर्खाहरुको ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ का लागि तत्काल नागरिकता ऐन संशोधन गरेर गोर्खा र गोर्खा सन्ततिहरुले बेलायती अंगीकृत नागरिकता लिनुपरे पनि वंशजको नेपाली नागरिकता यथास्थितिमै कायम रहने ब्यवस्था सुनिश्चित गरिदिन अनुरोध गर्दै पुनः एक ज्ञापन पत्र बुझाइएको छ ।
प्रधानमन्त्री दाहालले गोर्खाका नागरिकताबारे आफू पूर्णरूपमा जानकार र सकारात्मक रहेको प्रष्ट पार्दै मुख्य गरि नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि यसरी नै भेटेर यो विषयमा ‘कन्भिन्स’ गराउने प्रयास गर्न सुझाव दिएका थिए ।
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान यूके/नेपालका संयोजक सुनबहादुर तामाङले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा फुर्वा शेर्पा, भीम राई, निमा शेर्पा लगायत ब्रिटिश गोर्खा भूपू सैनिकहरूको सहभागिता थियो ।






