पोखरा ३१ मार्च २०२४ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जीप दिउँसो सल्लाघारी भन्ने ठाउँमा घुम्तीबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो ।
घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।






