काठमाडौँ १३ अप्रिल २०२४ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४सै घण्टा खुला भएका छन् ।
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज साँझ ठमेलको त्रिदेवीमार्गमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले २४सै घण्टा बजार सञ्चालनको शुभारम्भ गरे । गृहमन्त्री लामिछानेले जुनसुकै सहर सुरक्षित भएको महसुस गराउन आम नागरिक निर्धक्क भएर हिँड्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै ठमेल र दरबारमार्गलाई निर्धक्क रूपमा हिँड्ने वातावरण निर्माणमा सरकार लागेको बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले २४सै घण्टा ठमेल र दरबारमार्गलाई सञ्चालन गरेर विश्व जगतलाई सकारात्मक सन्देश दिन खोजिएको बताए ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ठमेललाई नमूना पर्यटकीय नगरी बनाउने योजना अभियानले पूरा गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् ।
ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्न तयार गरिएको विशेष सुरक्षा योजनाभित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायीमात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयवासीलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।
रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्ने, खुला स्थानमा लाइभ म्युजिक गरेर मनोरञ्जनात्मक कार्यक्रमसहितका व्यवसाय निश्चित समयसम्मका लागि सञ्चालन गर्न पाउने र म्युजिक बन्द गरेर व्यवसाय सञ्चालन गनुपर्नेलगायत कुरा आचारसंहितामा राखिएका छन् ।
ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित सङ्केत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाइन सवारीसाधनको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताउनुभयो । उहाँका अनुसार पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।






