
रामबहादुर पुन
केन्ट, युके । शनिबार १३ अप्रिल २०२४ को दिन फोक्स्टोन नेपाली कम्युनिटी (एफएनसी) केन्टले नयाँ वर्ष २०८१ धुमधामको साथ मनाएको छ । यस वर्षको कार्यक्रम केन्टको हकिङ कम्युनिटी सेन्टरमा सम्पन्न भएको थियो ।
नयाँ वर्षको पहिलो चरणको औपचारिक कार्यक्रम, आपतकालीन अवस्था सम्बन्धी जानकारी, आसनग्रहण, स्वागत मन्तव्य, दिप प्रज्वलन, नेपाल र बेलायतको राष्ट्रिय गीत तथा धुन बजाएर सुरु गरिएको थियो । सोही कार्यक्रममा बेलायतमा दिवंगत भएका एफएनसीका सदस्यहरुको चिर शान्तिको लागि २ मिनेट मौनधारण गरिएको थियो ।
नयाँ वर्षको दोस्रो चरणको कार्यक्रममा एफएनसीका निवर्तमान कार्यसमितिका सदस्यहरु ज्योति राई र हाङमा लिम्बुलाई बिदाइ गरिएको थियो भने बितेका वर्षहरुमा स्वार्थरहित एफएनसीलाई सहयोग गरेबापत फोक्स्टोन अनि हाइथ डिस्ट्रिक काउन्सिल कम्युनिटीका अधिकृत एलेस सान्सोमलाई सम्मान गरिको थियो । कार्यक्रममा एफएनसीका नयाँ ट्रष्टीहरु र सल्लाहकारलाई पनि नवौं कार्यसमितिमा स्वागत गरिएको थियो ।
नयाँ वर्षको तेस्रो चरणको कार्यक्रममा सांस्कृतिक सचिव सुष्मा थापा र सांस्कृतिक सहसचिव गणेश पुनको नेतृत्वमा सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो । सांस्कृतिक कार्यक्रममा संयोजकहरु इन्दिरा राई र धनु लिम्बुले पनि सहयोग गरेका थिए ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ फोक्स्टोन शाखाले च्याब्रुङ नृत्य, ज्येष्ठ नागरिक जयकला पुन मगरले कौराह नृत्य र बिएफबिएस गोर्खा रेडियोका कार्यक्रम प्रस्तोता रुपा रानाको सर्प्राइज नृत्यलगायत अन्य सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रम रुपा रानाले संचालन गरेका थिए ।
नयाँ वर्षको कार्यक्रममा महिला उपाध्यक्ष ममता गुरुङले राफल ड्र संचालन गरेका थिए । खानपिनको व्यवस्था चन्द्र शाहीले गरेका थिए भने साउण्ड सिस्टमको व्यवस्था भास्कर राईले गरेका थिए । एफएनसीका नयाँ नियुक्त अध्यक्ष क्याप्टेन रामबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एलेस सान्सोम र उनका पति साइमन पेन्फोल्ड थिए । नयाँ वर्षको कार्यक्रमको प्रमुख संयोजक उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले गरेका थिए भने उपसंयोजक अर्का उपाध्यक्ष ममता गुरुङले गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले आपतकालीन अवस्थाको बारेमा जानकारी दिएका थिए भने पहिलो र दोस्रो चरणको कार्यक्रम महासचिव डा. महा राईले संचालन गरेका थिए । नयाँ वर्षको कार्यक्रममा अध्यक्ष क्याप्टेन रामबहादुर पुनले स्वागत मन्तव्य र नयाँ वर्षको महत्वको बारेमा प्रकाश पार्दै उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।



