सुर्खेत । प्रधानमन्त्री केपी ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको बस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आइतबार आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले कर्णाली प्रदेशको बिकट भूगोलका कारण अहिलेकै अवस्थामा सबै जनतालाई विकाशका पूर्वाधार पुर्याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताएका हुन् । “कर्णाली आर्थिक र मानव विकाश सुचकांकका दृष्टिले पछाडि परेको छ” उनले भने “तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।”
कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीसँग नजोडिएकोले उत्तरी छिमेकसँग जोडिएका सबै नाका खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसंग जोडिएको छैन” प्रधानमन्त्री ओलीले भने “त्यस कारण उत्तरी छिमेकीसंगका नाका खोल्नु पर्छ ।”
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई बिषादीमुक्त प्रदेश बनाउन सकिने बताएका छन् । अन्य प्रदेशमा यस्तो सम्भावना कम भए पनि कर्णाली प्रदेशमा यस्तो सम्भावना रहेको बताए । कर्णालीलाई यातायात,सञ्चार,स्वास्थ्य,शिक्षा सबै प्रकारले देशको मुलधारमा जोडिने प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पारेका छन् । आफ्नो तीन दिने कर्णाली भ्रमणका क्रममा यहांको भूगोल,जनजीवन,सम्भावना,चुनौति आदि पक्षका बारेमा प्रत्यक्ष जानकारी लिन पाएको बताएका छन् ।
मध्यपश्चिम विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा रक्षामन्त्री ईश्वर पोख्रेल, विश्व विद्यालका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पाख्रेल, पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायतको उपस्थिति थियो ।
प्रकाशित : २ वैशाख २०७५






