लन्डन १ जनवरी २०२५ । गुरुङ सोसाइटी केन्ट युकेले फोकस्टोनस्थित हकिङज कम्युनिटी सेन्टरमा धूमधामका साथ ल्होसार कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा समाजका ज्येष्ठ नागरिक रौबिर गुरुङ उपस्थित थिए।
विशेष अतिथिहरुमा सेकेण्ड बटालियन द रोयल गोर्खा राइफल्सका गोर्खा मेजर दिल्लीकुमार राई एमभीओ र उनकी धर्मपत्नी, रेजिमेन्टल सार्जेन्ट मेजर डब्ल्यूओवान प्रविन राई, सगरमाथा गोर्खा नेपाली कम्युनिटी आशफोर्ड केन्टका अध्यक्ष डम्बर लिम्बू र उनकी धर्मपत्नी साथै अश्मी ज्वेलरिजका भरत श्रेष्ठ र जया राई सहभागी भएका थिए ।
कार्यक्रमको आरम्भमा आठौं कार्यसमिति र सल्लाहकारहरुद्वारा पाहुनाहरुलाई स्वागत गरियो। गुरुङ संस्कृतिअनुसार गाउँघरतिरकै तरिकाले रोटी र तीन पाने रक्सीले पाहुनाहरुलाई सम्मान गरिएको थियो। यसवर्ष गरुड वर्ग (मुप्र्ही) ल्होलाई विदाई गर्दै सर्प वर्ग (सप्र्ही) ल्होलाई स्वागत गरिएको यो कार्यक्रम केन्टबासी गुरुङहरुको बाक्लो उपस्थितिमा सम्पन्न भयो।
औपचारिक कार्यक्रम
कार्यक्रमको औपचारिक भाग समाजकी द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संचालिका ममता गुरुङले सञ्चालन गरेकी थिइन्। हेल्थ एन्ड सेफ्टी सम्बन्धी जानकारी दिँदै औपचारिक कार्यक्रम सुरु गर्दै प्रथम उपाध्यक्ष गोलमान गुरुङले स्वागत मन्तव्य राखेका थिए।
यसवर्ष जीसीएसई र उच्च शिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरियो। साथै, समाजप्रति उल्लेखनीय योगदान दिएबापत तेजबहादुर गुरुङलाई “उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२४” प्रदान गरियो।
कार्यक्रममा मौलिक भेषभूषाको प्रवर्द्धनका लागि “वेष्ट मेल गुरुङ ड्रेस” र “वेष्ट फिमेल गुरुङ ड्रेस” प्रतियोगिता पनि आयोजना गरियो। पुरुषतर्फ गणेश गुरुङ र महिलातर्फ एन्जेल गुरुङ विजेता घोषित भए। पुरस्कार मेजरनी श्रीमती सुधा गुरुङले प्रदान गरेकी थिइन् भने निर्णायकको भूमिका गोलमान गुरुङले निर्वाह गरेका थिए।
नयाँ आजीवन सदस्यहरुलाई खादा लगाई स्वागत गर्ने परम्परा पनि यस वर्ष कायम रह्यो।
सांस्कृतिक कार्यक्रम
कार्यक्रमको दोस्रो चरणमा ममता गुरुङ र उमादेवी गुरुङको नेतृत्वमा सांस्कृतिक प्रस्तुति सुरु भयो ।
स्थानीय कलाकारहरुले गुरुङ संस्कृति झल्किने उत्कृष्ट नृत्य प्रदर्शन गरे। प्रस्तुति दिने कलाकारहरुमध्ये कविता गुरुङ, सरन गुरुङ, रोजिना गुरुङ, सुनिधि गुरुङ, चीना गुरुङ, स्वस्तिका गुरुङ, अनुशा गुरुङ, सोफिया गुरुङ, निलु गुरुङ, निग्चेन गुरुङ, सँस्कृति गुरुङ, मेलिसा गुरुङ, गोमा गुरुङ, दिलमाया गुरुङ, शिला गुरुङ, सुबा गुरुङ, आशा गुरुङ, गीता गुरुङ, रोशन गुरुङ, सोनाम गुरुङ, र गायक किरण गुरुङ विशेष आकर्षण थिए।
सांस्कृतिक प्रस्तुतिहरुले उपस्थित दर्शकहरुलाई झुम्न बाध्य बनायो। कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने सबैलाई क्याप्टेन डोलबहादुर गुरुङले खादा लगाई मायाको चिनो प्रदान गरे।
व्यवस्थापन र समापन
कार्यक्रमलाई सहज बनाउन कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको थियो। टिकट व्यवस्थापनमा क्याप्टेन भीष्मराज गुरुङ र सुनिता गुरुङ, खाना व्यवस्थापनमा शेर गुरुङ र Lemon Leaf रेस्टुरेन्ट, राफल ड्रमा तारादेवी गुरुङ र देवीमाया गुरुङ, साउन्ड सिस्टममा बीसी राई, डेकोरेशनमा सिसी गुरुङ, फोटोग्राफीमा तेजबहादुर र होम गुरुङ, र भिडियोग्राफीमा सुलभ गुरुङ र गोलमान गुरुङले विशेष भूमिका खेले।
कार्यक्रमको अन्त्यतिर लेडिज कोअर्डिनेटर तारादेवी गुरुङले राफल ड्र संचालन गरिन्, जसमा विभिन्न व्यक्तित्वहरुले आकर्षक पुरस्कार प्रायोजन गरेका थिए।
कार्यक्रमको अन्त्यमा सबै सहभागीहरुले सामूहिक नृत्यमा रमाईलो गर्दै ल्होसारको उल्लास मनाए। गुरुङ सोसाइटी केन्ट यूकेले यस वर्षको ल्होसारलाई भव्य र स्मरणीय बनाएको छ।






